भूपूसँग सुखदुख बाँढ्दै नेपाली सेना

पूर्व सैनिक र अभिभावक सम्मानित

आदर्श समाज सम्वाददाता
माघ २९, २०७७
ex army conveton (1)

तस्बिर : रासस

पोखरा । गोरखा सहिद लखन गाउँपालिकाका भीमसेन पुडासैनीका सबै छोरा भर्ती भए । भरत, गोविन्द, बुद्धिबहादुर, विपीन र प्रकाश पुडासैनी नेपाली सेनाको हुद्दा पदबाट अहिले सेवानिवृत्त छन् । भीमसेनलाई पोखराको विजयपुर व्यारेकमा विशेष समारोहका साथ आफ्ना सन्तानलाई सेनामा सेवा गर्न अभिप्रेरित गरेको भन्दै सम्मान गरियो ।

उनीजस्तै ४ भन्दा बढी सन्तानलाई सेनामा सेवा गर्न अभिप्रेरित गरेका १३ अभिभावकलाई बुधबार सम्मान गरिएको छ ।

नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा पोखरासहित गण्डकी प्रदेशभर सेवा निवृत्त र अवकास पाएका सैनिक र उनीहरुको परिवारलाई जमघट गराउने उद्देश्यले पुनर्मिलन कार्यक्रम गरियो । वहालवाला र अवकासप्राप्त सैनिकबीच सामीप्यता बढाउनका लागि कार्यक्रम गरिएको हो । बुधबार गण्डकीका विभिन्न जिल्लामा भएका कार्यक्रममा ९ हजार भन्दा बढी पूर्व सैनिकहरु सहभागी भए ।

गण्डकीका विभिन्न जिल्लाका कार्यक्रममा ९ हजार भन्दा बढी पूर्व सैनिक सहभागी

पोखराको विजयपुरसहित फूलबारी, गोरखा, तनहुँ, बागलुङ लगायत जिल्लामा भूपू सैनिक सम्मेलन गरिएको पश्चिम पृतना हेडक्वाटरले जनाएको छ । ‘सुखदुख बाड्ने, अनुभव आदानप्रदान गर्ने, वहालवाला र अवकास पाएका सैनिकबीच सामिप्यताको भावना विकास गर्न यो कार्यक्रम गरिएको हो,’ नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले भने, ‘सेनाले सञ्चालन गरेको कल्याणकारी कामको जानकारी गराउने र समयानुकुल सुधारका लागि थप सुझाव संकलन गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुन्छ ।’

पश्चिम पृतना विजयपुरमा पूर्व सैनिकहरुलाई सम्बोधन गर्दै उनले भूपूहरुको वलिदानी र त्यागकै कारण राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजकारुपमा स्थापित भएको दाबी गरे । ‘नेपाली सेना नेपालीको आस्था र भरोसाको केन्द्र तथा एकताको प्रतीक हो । हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं,’ थापाले भने, ‘सेनाको गौरवमय इतिहास कायम राख्न समर्पित छौं । देशको शान्ति सुव्यवस्था र स्थिरताका लागि अग्रजको योगदानलाई सम्मान गर्छौं ।’ भूतपूर्व सैनिक र परिवारसँग नेपाली सेनाको नेतृत्व तहमा प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेर अन्तरसम्बन्ध प्रगाढ बनाउन यो सम्मेलन आयोजना गरिएको थापाले बताए ।

विजयपुरमा भएको कार्यक्रममा भूपू सैनिकको योगदानलाई सम्झिएर सम्मान गरिएको छ । भूपू सैनिक र उनीहरुको परिवारले गरेको उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिएको छ भने शारीरिक रुपमा अपांगता भएकाहरुलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । त्यस क्रममा सबैभन्दा बृद्ध भूपू सिपाही ९६ वर्षका मनिराज थापा र सुबेदार हर्कबहादुर थापाकी पत्नी ९९ वर्षीया नरकुमारी थापालाई सम्मान गरिएको छ । सर्वोत्कृष्ट लघु व्यवसायी तनहुँका जमदार बोधराज शर्माकी श्रीमति स्मृति शर्मा र गोरखाका प्रबन्ध हुद्दा चन्द्रसिंह बस्नेतलाई पनि सम्मान गरिएको छ ।

लघुवित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशील कर्जा पाउने ऋणीलाई चेक हस्तान्तरण गरिएको पश्चिम पृतनाले जनाएको छ । त्यस अवसरमा भूपू सैनिकका समस्या र त्यसको निराकरणबारे अन्तरक्रिया पनि भएको छ । कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका कार्यकारी अधिकृत पूर्वरथी गौरव तण्डुल, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापति पूर्व सहायक रथी केशरबहादुर भण्डारी र बलाधिकृत रथी प्रभुराम शर्माले नेपाली सेनाको इतिहासमा भूतपूर्व सैनिकको योगदानको चर्चा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width