सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि

आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
golden idol grand final news

पोखरा । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौं संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् ।

प्रतियोगितामा गायनतर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनरअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रनरअप बने । नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रनरअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनरअप र काठमाडौंकी आकृति पोखरेल थर्ड रनरअप घोषित भए ।

गायनतर्फका ४ जना र नृत्यतर्फका ५ जनाबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । फाइनल पुग्नेमा गायनतर्फ काठमाडौंकी सुजिता योञ्जन र नृत्यतर्फ झापाकी स्वस्तिका काफ्लेसमेत पुगेका थिए ।

प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजिजु, विनोद वानिया, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्रफर निरुता गुरुङ र छैटौं संस्करणको विजेता सेविका कोइराला थिए ।

विजेतलाई गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे), जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गुरुङ फिल्मका कलाकार ताराबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो । अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको आयोजक गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width