केटु हिमाल आरोहीलाई नागरिक अभिनन्दन

आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
abhinandan (2)

पोखरा । हिउँद याममा विश्वकै दोस्रो सर्वोच्च शिखर केटु सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।

उक्त टोलीलाई बिहान साढे ११ बजे बाजागाजासहित पोखरा एयरपोर्टमा परिषदका अध्यक्ष गोपिबहादुर भट्टराई लगायत पर्यटन व्यवसायी संघ संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । आरोहीलाई एयरपोर्टबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड, सिर्जनाचोक हल्लनचोक घुमाएर माउन्ट कैलाश रिसोर्टमा सम्मान गरिएको छ ।

केटु हिमाल आरोही दलका निर्मल पुर्जाले ‘मभन्दा माथि उठेर हामी’ भन्ने भावना राख्न सके जुनसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने बताए । ‘मैले चाहेको भए पहिलो पाइला चुचुरोमा राख्न सक्थें, तर मैले त्यो स्वार्थ त्यागें, हामी बीचमा भेट भयौं र सामूहिक भावना लिएर सँगै चुचुरोमा पाइला राख्ने निधो ग¥यौं, यसले हामीलाई ‘म बाट माथि उठाएर हामी’ भन्ने भावना पु¥यायो यहि सन्देश हामी सबैलाई दिन चाहान्छु ।’ उनले हिमाल चढ्दा भोगेको कठीन तर उत्साही अनुभव सुनाएका थिए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सामूहिक भावनामा विश्वास गरे सफल हुन सकिन्छ भन्ने सन्देश विश्वकीर्तिमानी आरोहीहरुले दिन सफल भएको बताए । ‘हामी धेरैले सिक्नुपर्छ आरोहीबाट व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावना विश्वास गर्न सके व्यक्तिले होइन देशले जित्छ, देशले जिते सबै नेपालीले जित्छन्,’ जिसीले भने । उनले हिमाल आरोहीले सच्चा नेपालीको पहिचान र परिचयलाई विश्वको इतिहासमा लेखाउन सफल भएको जनाउँदै सबै नेपालीले गर्व गरेको भनाइ राखे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आरोहीहरुको आँट साहस र सामूहिक भावनाले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको धारणा राखे । उनले यस्ता गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा पु¥याउन सफल हुने र पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले विश्वमा नेपाल हिमालले चिनिएको देश भएकाले निकै जोखिम मानिने केटु हिमालको सफल आरोहरणले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली एकअर्कालाई साथ र सहयोग गरेर जुट्न सक्छन् र एउटै उद्देश्यमा गोलबद्ध भएर लक्ष्य हासिल गर्न सक्छन भन्ने सन्देश आरोहीले दिन सफल भएको बताए ।

कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्ल अध्यक्ष सुशीलराज पौडेलले ‘किलर माउन्टेन’ भनेर चिनिने केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको बताए ।

सगरमाथा उचाइ मापन आरोहणदलका संयोजक खिमलाल गौतमले हिमाल चढ्नु आफैमा कठिन कार्य र त्यसमाथि हिउँदको समयमा केटु हिमाल आरोहरण गर्नु भनेको मृत्युसँग जिस्कन पुगेजस्तै भएको बताए । ‘हिउँदमा हिमाल चढेर इतिहास लेखाउन धेरैले चाहेका थिए, त्यसमा नेपालीले नै सफल भए यो निकै गर्विलो पल हो,’ गौतमले भने ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसिन इन्टरनेसनल (पाटा) का महासचिव सुमन पाण्डेले आरोहीले नेपाली हर कुनै कार्यमा सफल हुन सक्छन् भन्ने सन्देश विश्वमा दिन सफल भएको बताए । कोभिड– १९ को कारणले शिथिल बनेको अवस्थामा किर्तिमानी आरोहीको नागरिक अभिनन्दनले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत दिएको उनको भनाइ थियो ।

परिषद अध्यक्ष गोपिबहादुर भट्टराईले विश्वमाझ नेपाललाई चिनाउन सफल कीर्तिमानी आरोहीहरुको साहसिक कदम र सामूहिक भावनाले नेपालीको शिरलाई निकै उँचो बनाएको बताए । उनले देशले यस्ता ‘आइकन’ लाई उच्च सम्मान गर्न जरुरी रहेको बताए । कोभिड –१९ को असरले पर्यटन क्षेत्रमा शिथिल बनेको अवस्थामा आरोहीले विश्व जगतमा तरंग ल्याएर नेपाल र नेपालीलाई चिनाउन सफल भएको उनको भनाइ थियो ।

नेपाल पर्वतारोहरण संघ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक आरोहण गर्ने ६ जनालाई पनि उक्त अवसरमा सम्मान गरिएको छ । टासी पासाङ, मन गुरुङ, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्ललाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

परिषदका महासचिव रामचन्द्र शर्माले कार्यक्रमको सञ्चालन गर्दै केटु हिमाल आरोही र धम्पुस पिक आरोहीको चिनारी गराए । सगरमाथा उचाइ मापनका संयोजक खिमलाल गौतम र पाटाका महासचिव सुमन पाण्डेलाई पनि उक्त अवसरमा सम्मान गरिएको छ ।

पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका १० जना पर्वतारोहीले हिउँदको समयमा माघ ३ गते आरोहरण गरेर इतिहास रचेका थिए । हिमाल आरोहरण गर्ने निर्मल पुर्जाको आरोहरण दलका नेपालीहरु मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा छन् भने सेभेन समिट नामको आरोहरणबाट सोना शेर्पाले सफल आरोहरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width