पाेखरा महानगरका अस्थायी र सेवा करारका कर्मचारीलाई गाेल्डेन ह्यान्डसेक

प्रकाश ढकाल
माघ २६, २०७७
mahanagar (1)

पोखरा । गोल्डेन ह्यान्डसेकको अफर दिएर पोखरा महानगरपालिकाले अस्थायी र सेवा करारका कर्मचारीलाई बिदा गर्ने भएको छ । यसका लागि आठौं नगरसभामा सुविधा मापदण्ड प्रस्ताव गरिएको छ । ‘उमेर पुगेका कर्मचारीले राजीनामा बुझाएका छन् । लामो समयदेखि काम गरेकाहरुलाई खाली हात पठाउन भएन,’ मेयर मानबहादुर जिसीले भने, ‘त्यस्ता कर्मचारीलाई यसले राहत दिन्छ । जागिर छोड्न चाहानेलाई पनि बाटो खुल्छ ।’ मापदण्ड अनुसार ३ देखि १० वर्ष सेवा गरेका कर्मचारीलाई प्रतिवर्ष मासिक तलबको १ तिहाइ रकम दिने प्रस्ताव छ । यस्तै, १० देखि २० वर्ष काम गरेकालाई २ तिहाई तथा २० वर्षभन्दा माथि काम गर्नेलाई प्रत्येक वर्ष १ महिनाको तलब बराबरको उपदान दिने तयारी छ । १० वर्षमाथि काम गर्नेहरुलाई पहिलो १० वर्ष १ तिहाई नै दिइने छ ।

  • अस्थायी र करारका कर्मचारी बिदा गरिँदै
  • २४ करोड रकमान्तर प्रस्ताव
  • ६ वटा नयाँ विधेयक पेस
  • १७ वटा ऐन संशोधन प्रस्ताव

‘राजीनामा स्वीकृत गर्न पनि लाज लाग्यो । कतिपयले त स्वास्थ्य उपचारका लागि पेस्की लिएका छन् । तर पेस्की फछ्र्योट भएको छैन । पेस्की फछ्र्योट नहुँदा राजीनामा कसरी स्वीकृत गर्ने ?,’ उनी भन्छन्, ‘कमसेकम सेवा गरेकाहरुलाई केही त दिनुप¥यो । त्यही सहजताका लागि नगरसभामा प्रस्ताव लगेको हो ।’ अहिले नै १४ जना कर्मचारी उमेर हदका कारण जागिर छोड्ने अवस्थामा छन् । कतिपयले छोडिसकेका छन् । २ सय ५० भन्दा बढी कर्मचारी अस्थायी, करार, सेवा करार र ज्याला मजदुरी गर्ने छन् । अधिकांश जागिर छोड्ने तयारीमा छन् । मेयर जिसीका अनुसार स्वेच्छिक अवकाशका लागि १ महिनाको सार्वजनिक सूचना जारी हुनेछ । केही समयअघि अस्थायी र करार कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गर्ने बताइएको थियो । तर हालसम्म कुनै प्रक्रिया थालिएको छैन । नगरसभाका सदस्यहरुले यो सुविधा कम हुने भन्दै केही थप हुनुपर्ने माग राखे ।

बजेट संशोधन
२५ करोडभन्दा बढी रकम संशोधन र रकमान्तर प्रस्ताव नगरसभामा गरिएको छ । रातो किताबमा परेका योजना कार्यान्वयनमा नजाने देखिएपछि अर्को योजनामा रकमान्तर गर्न लागिएको हो । अधिकांश बजेट बहुवर्षीय ठेक्का र कनेक्टिङ सडकबाट तानिएको छ । २४ करोड ४ लाख रुपैयाँ बहुवर्षीय ठेक्काको रकम रकमान्तर गरिएको हो । भैपरी आउने चालु खर्चबाट १ करोड २५ लाख रकमान्तर गरिएको छ । रकमान्तर भएकै पैसाबाट महानगरले न्युरोडमा आफ्नै भवन बनाउन लागेको छ । यसका लागि २ करोड विनियोजन गरिएको छ । डिपिआर बनेर काम हुने चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । ३ करोड रुपैयाँ बैदाम पामे सडकमा विनियोजन गरिएको छ भने प्रकोपबाट क्षति भएका संरचनालाई मर्मत गर्न २ करोड, सिल्ट्रेसन ड्याम मर्मतका लागि २ करोड, सडक बत्ती राख्न २ करोड र फिर्ता खर्चका लागि ३ करोड छुट्याइएको छ ।

कोभिडको बेलामा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन १ करोड २५ लाख विनियोजन गरिएको छ । म्याचिङ फन्डका लागि १ करोड २६ लाख, योजनाको भेरिएसन र थप गर्न २ करोड ६८ लाख, प्रमुख प्रशासकीय अधिकृतको निवास बनाउन २५ लाख विनियोजन गरिएको छ । ल्यान्डफिल साइट जाने बाटो निर्माणका लागि १ करोड, योजना कार्यान्वयनमा पुँजीगत खर्चका लागि १ करोड छुट्याइएको छ । ‘पुँजीगत खर्च नबढ्ने भयो । खर्चको प्रकृति हेरेर वहुवर्षीय आयोजनाबाट तानियो,’ बरालले भने, ‘रकमान्तर गर्दा केही प्रभाव पर्दैन । अलिअलि ठेक्का घटेर पनि पैसा बचेको छ । तानिएका आयोजनामा पैसा अभाव हुँदैन ।’

नगरसभामा ६ वटा नयाँ विधेयक पेस भएको छ । १७ वटा ऐन संशोधनका लागि प्रस्ताव गरिएको छ । कृषि, पूर्वाधार विकास निगम, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, पर्यटन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र गैर सरकारी संस्था सम्वन्धी विधेयक सभामा टेबुल गरिएको हो ।

महानगरले यसअघि बनाएको आर्थिक कार्यविधि, गण्डकी बहुप्राविधिक शिक्षालय, कर तथा गैरराजश्व, खेलकुद, सहकारी, सुशासन, सहरी योजना, बालबालिकाको अधिकार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक निजी साझेदारी, पूर्वाधार विकास, कृषि व्यवसाय प्रवद्र्धन ऐन, नगर प्रहरी ऐन, न्यायिक समिति लगायत १७ वटा ऐन तथा कार्यविधि संशोधन गर्न लागेको छ । आइतबारबाट सुरु भएको नगरसभा मंगलबार विधेयकहरु पास गरेर सकिने छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width