मादी गाउँपालिका केन्द्र विवादः लेखा समितिले माग्यो गाउँसभा

आदर्श समाज सम्वाददाता
माघ २५, २०७७
madi-gapa-kaski

पोखरा । मादी गाउँपालिकाको केन्द्र विवादको समाधान गर्न सार्वजनिक लेखा समितिले गाउँसभा बोलाउन माग गरेको छ । अघिल्लो साता पालिकाको सिफारिसमा प्रदेश सरकारले बेतेनी केन्द्र तोक्न केन्द्र सरकारसँग आग्रह गरेको थियो । त्यसपछि स्थानीयले अव्यवहारिक रुपमा केन्द्र सार्न लागिएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्दै प्रदर्शन गरे ।

अहिलेसम्म पनि पालिका कार्यालय ठप्प छ । केन्द्र विवादको समस्या समाधान गर्न पालिकाको सार्वजनिक लेखा समितिले गाउँसभा बोलाउन माग गरेको छ । ‘कार्यालय जता लगेपनि हुन्छ । तर निर्णय गर्ने अधिकार गाउँसभालाई दिनुपर्छ,’ समितिका संयोजक सरोज केसीले भने, ‘पालिकामै सहमति नभएको कुरा प्रदेश सरकारमा पठाउनु गलत छ । त्यो सिफारिस फर्काएर गाउँसभामा पेस गरिनुपर्छ ।’ गाउँसभाबाट सकेसम्म सर्वसम्मत र नभए बहुमतकै आधारमा निर्णय लिन सकिने उनको भनाई छ ।

गाउँपालिकाले ४ वटा विकल्प दिएर प्रदेश सरकारलाई सिफारिस गरेको थियो । पहिलो प्राथमिकतामा पठाईएको बेतेनीलाई केन्द्र बनाउन सकिने निर्णय सहित प्रदेशले संघमा पठाएको हो । त्यसपछि हाल कार्यालय रहेको याङजाकोटका स्थानीयले विरोध गरे । उनीहरुले पालिका कार्यालय बन्द गरिदिए भने केहि तोडफोड समेत गरेका थिए । लेखा समितिले आईतबार विज्ञप्ती जारी गरि केन्द्र सार्ने विवादपछि उत्पन्न असहज परिस्थितिको समाधान गर्न सर्वदलीय बैठक बोलाउन पनि माग गरेको छ । तालाबन्दीले ६ दिनदेखि दैनिक कामकाज रोकिएका छन् ।

गाउँपालिका केन्द्र निर्धारण विषय निर्वाचित भएको मितिले सुरुको ६ महिनाभित्र सामान्य बहुमत र त्यसपछिको निर्धारण दुइतिहाइको बहुमतले पारित हुनुपर्ने व्यवस्था छ । केसीले समस्या समाधानका ७ विकल्प समेत अघि सारेका छन् । उनले कर्मचारीलाई राजनीतिक चपेटामा नपारी दैनिक कार्य सञ्चालनमा सहज गराउन माग गरे । स्थानीय तहको पुनःस्थापना पछि कास्कीका साविक पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिकाका केही वडा, सिल्दजुरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठानाका केहि वडा र हंसपुरका केहि वडा समेटेर मादी गाउँपालिका बनाईएको हो । पालिकामा १२ वडा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width