कोरोनाकालमा भ्रष्टाचार बढी !

धनबहादुर गुरुङ
माघ २५, २०७७
ciaa Pokhara

पोखरा । लकडाउनकै बीच गत भदौ २५ गते पोखराको १ खाजा घरबाट नेपाल खानेपानी संस्थान पोखराका एक कर्मचारी घुस रकमसहित पक्राउ परे । उनी हुन् संस्थानअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालयका महसुल शाखा प्रमुख कृष्णहरि वाग्ले । ग्राहकको मिटरमा अस्वभाविक ढंगले महसुल रकम चढेको पाइएपछि आफूले मिलाइदिने भन्दै ग्राहकसँग २५ हजार घुस मागेका थिए । पोखरा बगरको १ रेस्टुरेन्टबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले रंगेहात पक्राउ ग¥यो ।

स्थानीय तहपछि प्रदेश मातहत सञ्चालित कार्यालयहरुमा पनि भ्रष्टाचारका उजुरी बढेका छन्

पुस२२ गते तनहुँमा १ जना इन्जिनियर १ लाख ५० हजार घुससहित पक्राउ परे । विद्यालयको भवन निर्माणपछि भुक्तानी रकमम मिलाइदिने भन्दै सब इञ्जिनियर सुरेन्द्र अधिकारीले घुस मागेको थिए । उनी भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मा कार्यरत थिए ।
यसरी नै यो आर्थिक वर्षको पुस मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले ६ वटा स्ट्रिङ अपरेसन गरेको छ । उति नै संख्यामा पक्राउ पनि परेका छन् । आयोगको पोखरा कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार लकडाउनको समयमा अख्तियारमा भ्रष्टाचारको उजुरी बढी परेको बताउँछन् ।

उपसचिव रिजालका अनुसार गतभन्दा यो वर्ष उजुरीको संख्या १ सय २२ ले बढेको छ । ‘गत वर्ष यहि अवधिमा ६ सय १६ उजुरी परेका थिए,’ उनले भने, ‘लकडाउनको समयमा झन् बढेर ७ सय ३८ उजुरी परेका छन् ।’ स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोगलगायत उजुरीको चाप बढ्दै गएको हो । चालू आर्थिक वर्षको पुस मसान्तसम्म स्थानिय तह संघिय मामिला तर्फ २ सय ६४ उजुरी दर्ता भएका छन् । गत आवको सो अवधिमा १ सय ७३ उजुरी मात्रै दर्ता भएका थिए । दोश्रोमा स्थानिय तहको शिक्षा तर्फ १ सय १८ उजुरी दर्ता भएको रहेको छ । सोही अवधीमा गत वर्ष ९४ उजुरी परेका थिए । समग्रमा स्थानीय तहको संघीय मामिला र शिक्षातर्फ गत वर्ष ४४ प्रतिशत उजुरी परेकोमा यो आर्थिक वर्षमा बढेर ५१ प्रतिशत पुगेको छ ।

रिजालका अनुसार स्थानीय तहपछि प्रदेश मातहत सञ्चालित कार्यालयहरुमा पनि भ्रष्टाचारका उजुरी बढेका छन् । प्रदेशको भौतिक मन्त्रालयसँग जोडिएका कार्यालयहरुमा उजुरी बढिरहेको छ । पुस मसान्तसम्ममा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्बन्धित ३१ वटा उजुरी परेका छन् । गतवर्ष यहि अवधिमा २३ उजुरी परेको थिए । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य क्षेत्रमा पुस मसान्तसम्म १६ उजुरी परेका थिए भने सोही अवधिमा गतवर्ष ३० वटा उजुरी परेका थिए ।

सामाजिक मन्त्रालयको स्वास्थ्य क्षेत्रतर्फ गतवर्षको तुलनामा यो वर्ष कम उजुरी परेको प्रवक्ता रिजालले बताए । देश संघीय संरचनामा गइसकेपछि भ्रष्टाचार पनि विकेन्द्रित हँुदै गएको उनको भनाइ छ । कोभिड लगायत महामारीको समयमा गलत नियत राख्नेहरु सक्रिय हुने कारण भ्रष्टाचारका उजुरी बढेको उनको धारणा छ । यो वर्ष दर्ता भएका उजुरीमध्ये १ सय १९ उजुरी फछ्र्यौट भएका छन् । ६ सय १९ उजुरी प्रक्रियामा रहेको उनको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराका प्रमुख विपीन आचार्यले कोभिडको समयमा भ्रष्टाचारका मुद्दा बढेकोमा चिन्ता व्यक्त गरे । लकडाउनको समयमा विकास निर्माणका गतिविधि कम भएको बेला मुद्दा बढ्नु सोचनीय विषय भएको प्रमुख आचार्यले बताए । पछिल्लो वर्षहरुमा विकासका गतिविधि बढिरहेको र नागरिकहरु पनि सचेत हँुदै गएको हुनाले भ्रष्टचारका उजुरी बढ्नु स्वाभाविक भएको पनि उनको धारणा थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width