पोखरा खानेपानी सुधार आयोजनाको म्याद थपिँदै

आदर्श समाज सम्वाददाता
माघ २४, २०७७
water

कास्की । कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ५ अर्ब अनुदान सहयोगमा पोखरामा लगानीका हिसाबले देशकै दोस्रो ठूलो उक्त आयोजना बन्दाबन्दीपछि रोकिएकामा हाल कामले तीव्रता पाएको हो । कोरोनापछिको २ महिनामा ५ प्रतिशत हाराहारीमा प्रगति भएको खानेपानी संस्थानले जनाएको छ । कोरोनाअघि २६ प्रतिशत हाराहारीमा प्रगति भएको आयोजनाको मंसिर र पुस महिनामा ५ प्रतिशत भौतिक प्रगति बढेर ३१ प्रतिशत पुगेको हो ।

आयोजना सम्पन्न गर्न अब ६ महिना समय बाँकी रहँदा २ तिहाइ हाराहारीमा काम बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न गर्र्न कठिन देखिएको छ । पछिल्लो समय आयोजना निर्माण तीव्रताका साथ अघि बढे पनि निर्धारित समयमा पूरा गर्न कठिन देखिएकाले आयोजनाको म्याद थपको प्रक्रिया अघि बढेको आयोजना स्रोतले जनाएको छ ।

पोखरा महानगरको १९ वडाका ४ लाख ५ हजार ८ सय ८९ जनसंख्या आयोजनाबाट लाभान्वित हुने

यसअघि बन्दाबन्दी तथा निर्माण कम्पनीका प्राविधिक कर्मचारी लामो समय नेपाल आउन नसक्दा काम पूर्ण क्षमतामा हुन सकेको थिएन । आयोजना निर्माणका लागि सन् २०२१ अगस्टभित्रमा सम्पन्न गर्ने गरी जापनी कम्पनी हाज्मा एनड कर्पोरेसनसँग निर्माण सम्झौता भएको थियो । सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर काम सुरु भएको थियो ।

पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन उपभोक्ताका घरघरमा पठाउने गरिएकामा मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने लक्ष्यसहित जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले सो आयोजना सञ्चालन गरेको हो ।

कोरोनाका कारण गत भदौसम्म आयोजना पूर्णरुपमा ठप्प थियो । भदौदेखि आंशिक काम सुरु भए पनि तिहारलगत्तै पूर्ण क्षमतामा काम सुरु भएको आयोजनाका डेपुटी परियोजना प्रबन्धक एवं खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीले बताए । उनका अनुसार मर्दी मुहानमा ग्रिड च्याम्बर र सेडिमेन्टेसन ट्यांकी, स्लो स्यान्ड फिल्टर, तीनवटै ठूला रिजर्भवायर ट्यांकी निर्माण र पोखरा बजारभित्र पाइपलाइन विस्तारको काम एकैपटक तीव्रताका साथ भइरहेको छ । हाल आयोजनामा ४ सय मजदुरले काम गरिरहेका छन् ।

‘कोरोनाका कारण आयोजनालाई असर पारेकाले काम तीवरुपमा अघि बढाएर लक्ष्य भेट्टाउने गरी अहिले काम भइरहेको छ,’ परियोजना डेपुटी प्रवन्धक कार्कीले भने, ‘हाल काममा कुनै व्यवधान र समस्या छैन । तोकिएको समयसीमा भित्रमा आयोजना सम्पन्न गर्ने कुरामा प्रतिवद्ध छौं ।’ आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा २४ सै घन्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरको १९ वडाका ४ लाख ५ हजार ८ सय ८९ जनसंख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ ।

खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा शुद्ध बनाएर त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्यांकीमा जडान गरिनेछ । पानी शुद्ध बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक ४ करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेसन ट्यांकी’(ढुंगा, बालुवा हटाउने पोखरी) बनिरहेका छन् । सेडिमेन्टेसन पोखरीबाट प्रशोधित पानी २ किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्यान्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि ४ वटा पानी थिग्ग्राउने ट्यांकी तथा ६ वटा पानी छान्ने फिल्टर, २ वटा सफा पानी संकलन गर्ने ट्यांकी (स्लोस स्यान्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ ।

पोखरा बजार क्षेत्रभित्र शुद्ध पानी वितरणका लागि आयोजनाअन्तर्गत फूलबारी, कोलपाटन र पस्र्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्यांकी निर्माण भइरहेको खानेपानी संस्थानका इञ्जिीनियर सन्तोषकुमार दासले जानकारी दिए । फूलबारीमा निर्माणाधीन ट्यांकीको ९५, कोलपाटनको ६० र पस्र्याङको ४० प्रतिशत हाराहारीमा भौतिक प्रगति छ ।

आयोजनाले बजार क्षेत्रमा पाइपलाइन विस्तारलाई तीव्रता दिएर काम अघि बढाएको छ । विगतमा चार समूहबाट काम भइरहेकाले हाल १० वटा टोलीले नदीपुर, नयाँबजार, महेन्द्रपुल, सिर्जनाचोकलगायतका क्षेत्रमा पाइप जडानको काम गरिरहेको इञ्जिीनियर दासले जानकारी दिए । बजार क्षेत्रमा ९९ किमी पाइपलाइन सुधार आयोजनाबाट र १४ किमी खानेपानी संस्थानले विस्तार गर्नेछ । संस्थानबाट विस्तार कार्यका लागि बोलपत्र भएर निर्माण कम्पनी छनोटको तयारी गरिएको बताइन्छ । संस्थानले थप ७ हजार ३ सय धारा जडान गर्नेछ । कृष्ण दवाडी/ रासस

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width