बन्दको मार कहिलेसम्म ?

आदर्श समाज सम्वाददाता
माघ २२, २०७७
banda photo (1)

पोखरा । राणा शासन ढल्यो । पञ्चायत ढल्यो । युद्धमा होमिएको तत्कालीन माओवादीले हतियार बिसाएर संसदीय शासन प्रणालीलाई स्वीकार ग¥यो । राजतन्त्र पनि अन्त्य भयो । नेता, कार्यकर्ता र जनताले जहिल्यै शासन पद्धलिाई दोष दिए । अहिले त संविधानसभामार्फत बनेको संविधान आयो । अब शासन पद्धतिको ‘कोर्स’ सकियो भनेर जनता ढुक्क भए ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर लडेको चुनावमा उनीहरु २ तिहाइ नजिक पुगे । जनता अझ ढुक्क भए । अब सत्ता र पद्धतिका नाममा आन्दोलनमा होमिनुपर्ने छैन, अब पालो आर्थिक क्रान्तिको भनेर उत्साही पनि भए । सरकार निर्माणको ३ वर्ष पुग्दा नपुग्दै मुलुक फेरि आन्दोलनको भूमरीमा मडारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको दाहाल/नेपाल समूहले बिहीबार आमहड्ताल नै ग¥यो । आखिर यो आन्दोलन कसका लागि र कहिलेसम्म जनता यसको उत्तर खोजिरहेका छन् ।

बिहीबार गरेको देशव्यापी आम हड्तालको प्रभाव मुलुकभर सामान्य परेको छ । बन्दका कारण पोखरामा बिहानैदेखि कम मात्रामा सवारी साधन चले । बन्दकर्ता पोखराको चोकचोकमा बसेर सवारी साधनलाई आवतजावतमा रोक लगाएका छन् । बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका सञ्चालनमा थिएनन् ।

बन्दका कारण शैक्षिक संस्था, उद्योग कलकारखाना, व्यावसाय ठप्पै रहे पनि पसलहरु आंसिक रुपमा खुलेका थिए । एम्बुलेन्स, खाद्यान्न, सुरक्षा, प्रेस र परीक्षा दिन हिडेका विद्यार्थीको सवारी भने निर्वाध रुपमा चलेको थिए । बन्दकाबीचमा कुनै अप्रिय घटना नभए पनि पोखरा महेन्द्रपुलबाट बिनायक तिमिल्सिनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाश हमालले जानकारी दिए । साँझपख तिमिल्सिनालाई छाडिएको उनले बताए ।

बन्दको विरोधमा ओली समूहका युवाहरुले पोखरा पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल जुलुस निकालेका छन् । ‘नेपाल खुल्ला छ’ भन्ने सन्देश दिनका लागि जुलुस निकालिएको विद्यार्थी नेता साजन सुवेदीले बताए । ‘आन्दोलनको नाममा जनतालाई दुख दिनुहुन्न,’ उनले भने, ‘जनताले काम गरेर खाने वातावरण सिर्जना गर्नुपर्छ ।’

बन्दको विरोध जताततै
पोखरा उद्योग वाणिज्य संघले बन्द र हड्ताल नगर्न दलहरुसँग आग्रह गरेको छ । बन्दलाई सधैंको लागि बन्द गर्न संघको आग्रह हो । संघका तर्फबाट महासचिव सुरेन्द्रमान बिजुक्छेले बिहीबार विज्ञप्ति जारी गरी दलहरुसँग यसअघि गरिएका प्रतिबद्धता सम्झँदै आगामी दिनमा बन्द हड्तालका कार्यक्रमहरु भए विरोधमा उत्रन बाध्य हुने जनाइएको छ । ‘एकदिनको बन्दले अर्थतन्त्रमा पार्ने प्रभाव नकारात्मक प्रभाव महिनौंसम्म कायम रहन्छ । बन्द हड्तालले गरिखाने वर्गलाई सबैभन्दा ठूलो पीडा दिएको हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बन्द हड्तालले देशको अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक असर पार्छ ।’
कोभिड–१९ प्रभावसँगसँगै बन्द र हड्तालले देशको अर्थतन्त्रलाई थप धरासायी बनाउने निश्चित भएको उल्लेख गर्दै नेपालको निजी क्षेत्र पीडामाथि पीडा सहन नसक्ने अवस्थामा पुगेको पनि जिकिर गरिएको छ ।

‘नेपालको निजी क्षेत्रले पीडामाथि पीडा सहन सक्दैन । यो तथ्यलाई जति छिटो बुझिन्छ, त्यति नै छिटो नागरिकले राहतको महसुुस गर्छन् । अतः पोखरा उद्योग वाणिज्य संघ आइन्दा बन्द र हडतालका कार्यक्रम आयोजना नगर्न आग्रह गर्दै त्यस्ता कार्यक्रम आयोजना भए विरोधमा उभिन बाध्य हुने जानकारी पनि गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

बन्दको विकल्प खोज्न आग्रह
पोखरा पर्यटन परिषद्ले कोभिड –१९ का कारण संकटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द हड्तालले थप जोखिम ल्याउने जनाउँदै कुनै पनि समूह वा राजनीतिक दलहरुलाई कुनै पनि बहानामा बन्द हड्ताल जस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

कोभिड– १९ को कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरि राजनीतिक अस्थिरता र बन्द हड्ताल जस्ता गतिविधिले थप जोखिम पार्ने उल्लेख गर्दै आन्दोलनको विकल्प खोजेर व्यवसायी मैत्री वातावरण सृजना गर्ने विज्ञप्ति मार्फत राजनीतिक दलहरुलाई आग्रह गरिएको हो ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बन्द हड्तालका कारण प्रत्येक क्षेत्रका उद्यमी व्यवसायी र विषेश गरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । तसर्थ बन्द हड्ताल चक्काजाम लगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।’

राजनीतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवयापनमा भूमिका खेल्दै नागरिक मैत्री, व्यवसायीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीकाबीच विभिन्न खाले आन्दोलन, बन्द हड्तालले सम्पूर्ण सर्वसाधारण एवं व्यवसायीलाई थप निराश बनाउँदै लगेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड –१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द हड्ताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनीतिक दलहरुलाई गम्भीर रुपमा सोच्नसमेत आग्रह गरिएको छ ।

यसैबीच परिषद्ले विदेशी पर्यटकलाई ७ दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ । देशमा विभिन्न आन्दोलन भइरहेको सन्दर्भ उल्लेख गर्दै कोभिडको असर विदेशी पर्यटकलाई मात्र किन भन्ने प्रश्न गरिएको छ । पटक पटक हुने बन्द हड्ताल र अव्यावहारिक नीति नियमले खर्बौको लगानी गरेका व्यवसायीमा निरासा छाएको जनाउँदै सहज र सरल वातावरणको लागि सरकार समक्ष आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width