धनबहादुर गायकको शोक सभा : साधना र सिर्जनाका कारण धनबहादुर गायक अम्मर रहनेछन्

आदर्श समाज सम्वाददाता
माघ २१, २०७७
dhan dai (2)

पोखरा । धनबहादुर गायकको स्मृतिमा पोखरामा शोक सभा गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा बुधबार शोक सभा भएको हो ।

शोक सभामा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले धनबहादुर गायकको शरीर नरहे पनि साधना र सिर्जनाले अमर बनाइरहने बताए । उनले आफूले २०३५/०३६ सालतिर डाँफे कला मन्दिरमा धनबहादुरले मादल बजाएको देख्दा नै मन्त्रमुग्ध भएको स्मरण गरे । अर्थमन्त्री गुरुङले पछिल्लो समय भाइरल भन्ने शब्दले सच्चा कलाकार मारमा परेको बताएका छन् । उनले भने, ‘भाइरलको पछाडि दौडँदा नेपाली गीतसंगीतको मर्म नै बिर्सिएको आभास हुन्छ । यसले सच्चा संगीतकर्मीमा असर पुगेको छ । मौलिक संगीतको रक्षाका लागि साधनारत कलाकार नै अब जुट्नुपर्ने बेला आएको छ ।’

अर्थमन्त्री गुरुङले भाइरल २४ दिनको मात्र हुने तर साधना, त्याग र तपस्याले आएको सिर्जना वर्षौ यादगार रहने धारणा प्रस्तुत गरे । उनले कलाकारको हितका लागि गण्डकी प्रदेशमा रोयल्टी संकलन अभियानलाई पूर्ण रुप दिन आफूले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले धनबहादुर गायकको निधनले समग्र नेपाली संगीत क्षेत्रमा नै अपुरणीय क्षति भएको बताए । उनले धनबहादुरले नेपाली लोक संगीतमा पु¥याएको योगदानलाई बिर्सन नहुने धारणा राखे । कलाकारको सिर्जनाको संरक्षणमा प्रदेश सरकारसँग आफूले लबिङ गर्ने प्रतिबद्धता उनले जनाए ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले धनबहादुरका सिर्जनाले समाज रुपान्तरणमा टेवा पु¥याएको औंल्याए । उनले समुन्नत संस्कृतिको आधार भनेकै गीत संगीत भएको उल्लेख गरेका छन् । मानिस जन्मँदा लिएर आउने एउटै सत्य मृत्यु भएको बताउँदै धनबहादुर गायकका अजम्बरी सिर्जनाको संरक्षणमा सबैले ध्यान पु¥याउन आग्रह उनको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले धनबहादुर नेपालकै पहिचान भएको बताएका छन् । उनले भने, ‘स्वर्गीय धनबहादुर गायक सिंगो पोखराकै पहिचान हुन् । शालीनता, शिष्टता र निरन्तर लगावका कारण नै उनको गरिमालाई बढाएको छ ।’ उनले धनबहादुर गायकको देहावासनले सारंगी र मादल लगायत लोकबाजा बजाउने एक सच्चा अभिभावक गुमेको बताएका छन् । उनले परिवारका साथमा हर हमेसा कांगे्रस कास्की रहने प्रतिबद्धता व्यक्त गरे । धनबहादुर गायक प्रतिष्ठानलाई समेत आफू र कास्की कांग्रेसको सहयोग रहने भनाइ उनको छ । उनले सरकारले कलाकारको हित र अधिकारका लागि देखिने गरी नै काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।

कार्यक्रममा भूमि व्यवस्था सम्बन्धी आयोगका जिल्ला संयोजक दामोदर वैरागीले धनबहादुर गायक परिस्थिति अनुसार सिर्जनालाई प्रस्तुत गर्न सक्ने कलाकार भएको बताए । नेपालमा बोल्ने तर नगर्ने समस्या भएको बताउँदै उनले कलाकारका सिर्जना र सांस्कृतिक महत्वका विषयलाई जोगाईराख्न सरकारले नीतिगत रुपमा निर्णय गर्नुपर्ने उल्लेख गरे । उनले सालिक बनाउनु मात्र ठूलो कुरा नभई संरक्ष्ण गर्नु ठूलो कुरा भएको प्रति जोड दिएका छन् । स्रष्टालाई अधुरो सम्मान गर्न नहुने जिकीर उनको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले धनबहादुर गायकसँग आफ्नो भेट २०३७ सालमा भएको बताए । २०४१ सालसम्म सँगै दोहोरी प्रतियोगिताका कार्यक्रममा सहभागी भएको बताउँदै २०४२ सालमा ‘पोखरामा क्या राम्रो फेवाताल’ गीतमा गायकले मादल बजाएको स्मरण गरे । उनले राज्यले कलाकारलाई सम्पत्तिको रुपमा अनुसरण गरे कलाकारको हकअधिकार वञ्चित हन नहुने धारणा राखे । उनले राजनीतिक दलहरुले प्रतिष्ठान सँग संस्था चलाउन सिक्नुपर्ने बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आफू स्याङ्जादेखि पोखरा आएर संघर्ष गर्दा अभिभावकको रुपमा धनबहादुर गायक पाएको स्मरण गरे । गायकका सिर्जना संरक्षणमा प्रतिष्ठान कटिबद्ध भएर लाग्नेमा विश्वस्त रहन आग्रह गरेका छन् ।

कार्यक्रममा सप्तरंगी सांस्कृति प्रतिष्ठानका अध्यक्ष लोकगायक पदमराज ढकालले बोलेका थिए । धनबहादुरका छोरा दिलीप गायकले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई सारंगीको रानी बाजा सहयोग स्वरुप हस्तान्तरण गरे । उनले बुवाको अधुरा सपनालाई आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । शोकसभामा धनबहादुर गायकका विषयमा प्रतिष्ठानका पूर्वअध्यक्ष वर्तमान संरक्षक लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले चर्चा गरेका थिए ।

धनबहादुर गायक ‘नरोऊ मयालु….’, ‘बेली र चमेली…’, ‘फूल मायामा नभुल..’ लगायतका गीतका सर्जक हुन् । उनले झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठान मार्फत् मादल र सारंगीको प्रशिक्षण गराउँदै आएका थिए । शोकसभामा समेत उक्त प्रतिष्ठानमार्फत् प्रशिक्षण लिएका कलाकारले धनबहादुरकै गीतलाई वाद्यवादनमार्फत प्रस्तुत गरे ।

शोकसभालाई सम्पन्न गर्न सहआयोजक संस्थामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की, हिमाली सांस्कृतिक परिवार, झलकमान गन्धर्व राष्ट्रिय सारंगी संरक्षण पाठशाला प्रतिष्ठान, सप्तरंगी साँस्कृतिक प्रतिष्ठान, अलिमिया वाङ्मय प्रतिष्ठान, कल्याण शेरचन स्मृति प्रतिष्ठान , त्रिवेणी संगीतालय, सांगीतिक कलाकार संघ नेपाल कास्की, गुरुङ कलाकार संघ नेपाल गण्डकी प्रदेश, नेपाल सांस्कृतिक संघ कास्की र राष्ट्रिय संगीतकर्मी मञ्च नेपाल गण्डकी प्रदेश रहेका थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा सहभागी सबैले धनबहादुर गायकको तस्बिरमा पुष्प अर्पण गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव लोकदोहोरी गायक राजन कार्कीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width