सिमसार : प्राकृतिक मृगौला

आदर्श समाज सम्वाददाता
माघ २१, २०७७
wetland day (3)

पोखरा । मृगौलाले मानिसको शरीरलाई स्वस्थ राख्छ, दैनिक पाचन प्रणालीलाई व्यवस्थित बनाउँछ । त्यसैरी नै प्राकृतिक प्रणाली सञ्चालनमा सिमसार क्षेत्रले सघाएको हुन्छ । त्यसैले त सिमसारलाई प्राकृति ‘मृगौला’ भनिन्छ । सिमसार क्षेत्रले पानीको सञ्चय गर्दै जमीनभित्र पठाउँछ । पानीमा बग्ने फोहोरलाई थुपार्ने काम गर्छ ।

पानी नसुक्ने, जमीन नलुक्ने क्षेत्र हो सिमसार । बाह्रमासै पानी जमिरहे पनि गहिराइ धेरै नभएको र जमीन कुनै न कुनै रुपमा देखा पर्ने क्षेत्र सिमसार क्षेत्रलाई किसानले त्यति महत्व दिँदैनन् । पानी दलदल भएको क्षेत्र तालतलैया, पोखरी, नदी किनारलगायतका क्षेत्र सिमसार क्षेत्र भित्र पर्छन् ।

विश्वका महत्वपूर्ण सिमसार क्षेत्र सम्बन्धी इरानको रामसार भन्ने सहरमा भएको सम्मेलनले सिमसार सम्बन्धमा प्रस्ताव पारित गरेको थियो । त्यसैको सम्झना स्वरुप विश्वभर फेब्रुअरी २ लाई विश्व सिमसार दिवसको रुपमा मनाउने गरिन्छ । इरानमा गरिएको रामसार महासन्धिमा हालसम्म विश्वका १ सय ६९ राष्ट्रले हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोषको आयोजनामा दिवस मनाइएको छ

विश्वका करिब २ हजार २ सय ८ वटा सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भएका छन् भने यस सूचीमा नेपालका ९ वटा सिमसार क्षेत्रलाई समावेश गरिएको छ । सिमसार क्षेत्र वातावरणीय, सामाजिक, आर्थिक र धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ ।

सिमसार क्षेत्रको खण्डीकरण, मिचाहा प्रजातिका वनस्पतीहरुको प्रकोप, विषादीबाट हुने पानीको प्रदुषण, कृषि क्षेत्रमा हेर्ने अघिक रासायनिक मलको प्रायेग, सिमसारबाट प्राप्त हुने स्रोतहरुको अधिक दोहनजस्ता कारणले सिमसार क्षेत्र संंकटमा पर्ने गरेको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव महेश्वर ढकाल बताउँछन् ।

पोखराका तालहरुलाई रामसार सूचीमा सूचीकृत गर्नका लागि उल्लेख्य भूमिका खेलेका उनले संरक्षणको महत्व दर्शाउनको लागि सूचीकृत गरिएको पनि स्पष्ट पारे । ‘कतिपयले ठूला–ठूला आयोजना आउँछ भन्ने पनि बुझे,’ उनले भने, ‘त्यस्तो होइन, यसको महत्व अन्तर्राष्ट्रिय क्षेत्रसम्म छ, संरक्षण गर्नुपर्छ भनेर हो ।’
रामसार क्षेत्रमा सूचीकृत भइसकेपछि तालहरुको व्यवस्थापकीय योजना तयार भएको छ । फेवातालको शिरानमा सिल्टेसन ड्याम बन्नु, स्थानीय सरकारले बजेट छुट्याउनु, स्थानीय जागरुक हुनु, प्रदेश सरकारको चासोको विषय बन्नु पनि यसैको उपलब्धि रहेको ढकालले बताए ।

गण्डकी प्रदेशमा पनि मंगलबार २४ औं विश्व सिमसार दिवस मनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोषले गरेको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिमसार क्षेत्र जीवन प्रणालीको महत्वपूर्ण अंग रहेको बताए । उनले भने, ‘पानीका कुरा तालका कुरा गर्छौ, हामी कास्कीको सेरोफेरोमा मात्र घुम्यो, आजको कार्यक्रममा मैले हेरें हामी यो कास्की, त्यसमा पनि पोखरा महानगरभन्दा पर पनि जान सकेनौं ।’ उनले कास्की वरपरको सिमसार क्षेत्रको बारेमा छलफल गरेर नहुने बताए ।

हिमालबाट बनेका हिमताल, हिमनदीसहित अन्य पोखरी, ताल तलैयासहित धेरै सिमसार क्षेत्रहरुको बारेमा छलफल गरिनुपर्ने उनको भनाइ थियो । प्रदेशमा गहिरो गल्छीदेखि अग्लो हिमताल भएको कारण विकास गर्दा विनास नहुने गरी सबैलाई समेटेर गएमा सिमसार दिवस मनाएको सार्थकता हुने उनले बताए । सिमसारलाई विकाससँग जोडेर अतिक्रमणबाट जोगाउँदै वैज्ञानिक वन व्यवस्थापनमा ध्यान दिन उनको सुझाव थियो ।

कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लिखित शुभकामना मार्फत् सिमसार क्षेत्र धरापमा पर्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । सिमसार मात्र नभई पानीको मुहान सुक्दै जाँदा दैनिकीमा पर्न गएको असुविधाप्रति पनि उनको चासो थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ताल तलैया र सिमसार जोगाउन विधेयक बनाएर अगाडि बढेको बताए । प्रदेशले विधेयक बनाइसकेपछि ताल प्राधिकरण बनाएर ताल, पोखरी, कुण्ड, कुवाको ८५ वटै स्थानीय तहबाट रेकर्ड राख्ने काम भइरहेको उनले जानकारी दिए । ‘३ वर्षको अन्तरालमा ७० वटा पुराना तालहरुको संरक्षण गरका छौं,’ उनले भने, ‘प्राकृतिक र मानव समुदायले विकास गरेका पोखरी संरक्षण गरेका छौं, त्यसबाट हामीहरु असाध्यै उत्साहित भएका छौं ।’ सिमसार क्षेत्र जोगाउन सकिएन भने जगत र जीवकै अन्त्य निश्चित रहेकाले समयमै प्रदेश सरकार त्यसतर्फ सजग भएर लाग्ने उनले बताए ।

कार्यक्रममा सेती जैविक मार्गमा पाइने प्राणी प्रजातिको सूची र मिचाहा प्रजातिहरुको जानकारी पुस्तकको पनि विमोचन गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य रामजी बराल जीवन र जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले सिमसारको महत्वको बारेमा भनाइ राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width