सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु

रासस
माघ २०, २०७७
hydro

कास्की ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।

कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडव’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको पहिलो सातादेखि विद्युत्गृह (पावर हाउस) निर्माण शुरु गरिएको आयोजनाले जनाएको छ ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृत्गृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विद्युत्गृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले १०० मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । पाइप लाइनका लागि जमिन रेखाङ्कन सकिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धन गरेको हो । गत साउनदेखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिकाअनुसार नै काम अघि बढेकाले तोकिएको समयअगावै विद्युत् उत्पादन हुने भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म आयोजनाको ३० प्रतिशत हाराहारीमा प्रगति भएकामा सभिलितर्फको प्रगति २० प्रतिशत छ । आयोजनाको सिभिलतर्फको काम रसुवा–लुना जेभीले गरिरहेको हो । उत्पादित विद्युत् चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कन सकिएकाले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रसारण लाइनका लागि ‘सर्भे’ सकिएको छ । सम्झौतापछि केही दिनभित्रमा आयोजनाको पूर्ण क्षमतामा समग्र काम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आयोजना निर्माणका लागि गर्नुपर्ने सबै कागजी प्रक्रिया पूरा गरेका छौँ । सिभिलतर्फको काम तीव्रताका साथ भइरहेको छ ।

अहिलेको कार्यप्रगतिबाट निर्धारित समयभित्र तोकिएको लगानीमा आयोजना सम्पन्न गर्न सक्छौँ भन्ने विश्वास छ ।” रु पाँच अर्ब लगानी रहेको आयोजनामा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । बैंक वित्तीय संस्थासँग लगानीसम्बन्धी सम्झौता यसअघि नै सम्पन्न भइसकेको आयोजना प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले बताउनुभयो । बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् ।

उहाँका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासीसमेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् । जलविद्युत् आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरिद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेश गरिएको आयोजनाका सामाजिक विकास प्रबन्धक बमबहादुर गुरुङले जानकारी दिनुभयो । आयोजनाले उत्पादन गरेको विद्युत् बर्खायामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता छ । आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत माछापुच्छ«ेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width