कास्कीको रुपामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान र बिमा

आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
rupa gaupalika (2)

पोखरा । विभिन्न संघर्ष तथा परिवर्तनका आन्दोलनमा कास्की रुपा गाउँपालिकामा मात्र १८ जना सहिद तथा बेपत्ता भए । १७ जना घाइते छन् भने ४० जना द्वन्द्व पीडित छन् । ८ जनाले जेलनेल खेपेका छन् ।

गाउँपालिकाले तिनै सहिद तथा बेपत्ता, घाइते, द्वन्द्वपीडित र जेल जीवन भागेको व्यक्तिका परिवारलाई सम्मान तथा विमा गरेको छ । गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको थियो तर कोभिड–१९ का कारण रोकिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

‘गएको वर्ष नै निर्धारित कार्यक्रम कोरोनाले रोकिएपछि अहिले निरन्तरता दिएका हौं,’ गाउँपालिका अध्यक्ष आझाले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । त्यो परिवारको सम्मान र आय आर्जनसँग जोड्नु गाउँ सरकारको कर्तव्य नै हो ।’
पालिकाले त्यस्ता परिकारलाई ताम्रपत्र, दोसल्लाले सम्मान गरेको छ भने परिवारका ५ जनासम्मको स्वास्थ्य विमा गराएको छ । त्यस्ता परिवारलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य विमा गरिएको हो ।

‘स्वास्थ्य विमाका लागि चाहिने सबै रकम गाउँपालिकाले नै तिरिदिने छ । एक जनाको परिवारका ५ जना सदस्यले यो विमाको सुविधा पाउने छन्,’ ओझाले भने, ‘गाउँपालिकाभित्रका सबै त्यस्ता परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं ।’

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले ती परिवारलाई सम्मान गरिन् । सम्मान गर्दै मन्त्री पुनले त्यस्ता परिवारको दीगो जिविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताइन् ।

सहिद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले सहिद तथा बेपत्ताका मुद्धालाई विभाजित गर्ने र भाषणको पात्र गराइरहेको भए पनि रुपाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् ।

पलिकाभित्रका प्रतिभाको खोजी
विभिन्न वडा वडामा रहेका जाती विशेषका संस्कृति, रहनसहन र परम्परालाई एकै ठाउँमा ल्याउने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने अभियान गाउँपालिकाले थालेको छ ।

७५ सालदेखिनै रुपा गाउँपालिकाले सबै जातीका संस्कृति र परम्परालाई झाँकीमार्फत प्रदर्शन गर्ने काम थालेको थियो । तर, गएको वर्ष भने कोरोनाका कारण झाँकी प्रतियोगिता रोकियो । तर, गएको वर्ष नै सुरु भएको पालिका भित्रका प्रतिभा पहिचान गर्ने अर्को कार्यक्रम पूरा भएको छ ।

पालिकाले पहिलो पटक रुपा डान्स आइडल गरेको हो । ५५ जनाभन्दा बढी प्रतियोगी डान्सरलाई पछि पार्दै रुपा–६ कि मेरिजन गुरुङले रुपा आइडलको ताज पहिरिएकी छन् । रुपा–५ कि अनुशा अधिकारि, रुपा–६ की सुस्मिता खड्का र रुपा–५ की सुजता विक क्रमश द्वितिय, तृतीय र सान्त्वना भए ।
आइडलमा प्रथम हुनेले ३० हजार रुपैयाँ प्राप्त गरिन् । द्वित्तीय, तृतीय र सान्त्वना गरी क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width