‘लाइसेन्स’ बिनै हुइँकिने ग३च ३८९१

अपांगता भएकाहरू गाडीकाे लाइसेन्स नपाउँदा मर्कामा परेका छन्

धनबहादुर गुरुङ
माघ १९, २०७७
Apanga Photo

अपांगमैत्री गाडी चलाउन लागेका पोखरा –१५ का गंगाबहादुर खड्का । तस्बिर : आदर्श समाज

पोखरा । दिनहुँ पोखराको सडकमा हुइँकिने हजारौं कारमध्ये ग३च ३८९१ पनि एक हो । कारको अघिल्तिर नै लेखिएको छ, ‘अपांगमैत्रीले चलाएको साधन’ । कारभित्र हुन्छन्, पोखरा १५ का ५९ वर्षीय गंगाबहादुर खड्का । उनको खुट्टामा समस्या छ । कार उनैले हुइँकाउछन् । पहिले पनि कार चलाउन सिकेका उनलाई आजभोलि चलाउन कुनै समस्या छैन । उनको खुट्टामा समस्या भएको २० वर्ष भयो । उनी भारतीय सेनामा थिए । बिदाका बेला नेपाल आउँदा रुखबाट खसेर उनको खुट्टा भाँच्चियो ।

२०५२ सालमा आफ्नै गाउँ बागलुङ सिँगानामा घाँस झार्न जाँदा लडेर उनको खुट्टा भाँच्चिएको थियो । उपचारपछि पनि उनी हिँडडुल गर्न नसक्ने भए । पल्टन जानसक्ने अवस्था पनि भएन । गएनन् पनि । आफूलाई असहज भएपछि २०५५ सालमा पोखरा झरे । सामान्य व्यापार पनि गरे । अरु अपांगभन्दा हर्ताकर्ता देखिने खड्का सामाजिक सेवामा पनि सक्रिय हुन थाले । सामाजिक कार्यमा हिडडुल गर्न समस्या भएपछि उनले ४ पांग्रे स्कुटर पनि किने । त्यही स्कुटरको सहायताले उनी राष्ट्रिय अपांग संघ कास्कीमा पनि आवद्ध भए । उनी संघको कास्की अध्यक्ष पनि भए । उनी अहिले पोखरा महानगरको परिचय पत्र वितरण महाशाखा सदस्यको रुपमा कार्यरत छन् ।

अपांगता भएकाहरुलाई लाइसेन्स दिने प्रावधान नहुँदा उनीहरु खतरा मोलेरै गाडी चलाउन वाध्य छन्

स्कुटरले काम चलिरहेको थियो । उनलाई स्कुटर छाडेर गाडी चलाउने रहर जाग्यो । सामाजिक सञ्जालमा सक्रिय रहने उनले आफु जस्ता धेरैले कार हुइँकाइरहेका देखे पनि । उनमा म पनि गर्न सक्छु भन्ने सोंचमा कहिल्यै कमी आएन । यहि वर्षको कात्तिकमा उनले २८ लाख हालेर कार पनि किने ।

सांगले चलाउने कार अपांगलाई चलाउन सकस नै भयो । कारलाई अपांगमैत्री बनाउन सुरुमा केही सकस भएको उनी सुनाउछन् । ‘अपागंमैत्री बनाउनको लागि भारतबाटै सामान सबै आफै ल्याएर ल जोड्देऊ भन्दा नि मानेनन्,’ उनले भने, ‘पछि यताउता भनसुन गरेर काम भयो ।’ मंसिर २८ गते उनले अपागंमैत्री कार हात पारे । त्या कारमा हातबाट चलाउन मिल्ने गरी सामान जडान गरिएको छ । ब्रेक, क्लज सबै हातले नै चलाउन मिल्ने उनले बताए । ‘मैले स्टेरिङ पनि हातले चलाउछु,’ उनी भन्छन्,‘ब्रेक लगाउने र क्लजको काम पनि हातबाटै हुन्छ, अहिले सजिलो भएको छ ।’

सुरुको केही दिन गाह्रो भए पनि हिजोआज निकै सहज भएको छ । कार चलाउन थालेपछि उनको स्वास्थ्यमा फाइदा पुगेको उनले बताए । पहिला स्कुटरमा हिँड्दा धुलो धुवाको समस्याले स्वास्थ्यमा असर परेको सम्झन्छन् । कुनै काममा जानका लागि पनि उनलाई सजिलो भयो । परिवारलाई पनि यताउता जान सजिलो भएको बताउँदै समस्यै परे बिरामीलाई अस्पतालसम्म पु¥याउन पनि सक्षम रहेको सुनाउँछन् । ‘परेको खण्डमा म कोभिडको बिरामी पनि बोक्न तयार छु तर लाइसेन्स छैन,’ उनी भन्छन्, ‘कहिलेकाँही ट्राफिकको फन्दामा पर्दा माफी माग्नुबाहेक अर्को विकल्प छैन ।’ बाटोमा ग३च ३८९१ सरर चले पनि लाइसेन्स नहुँदा बेलाबखत ब्रेक लाग्छ ।

उनले कार चलाउन थालेपछि दैनिकीमा त सहज भएको छ तर उनीसँग लाइसेन्स छैन । लाइसेन्स नभएकै कारण कहिलेकाँहि ट्राफिक झमेलामा फँसिने गरेको उनको गुनासो छ । अपांग भएकै कारण लाइसेन्स प्राप्त गर्न गाह्रो परेको उनले बताए । सरकारले लाइसेन्सका लागि पहल गरिदिनुपर्ने उनको माग छ । दुर्घटनामा परियो भने ठूलो समस्यामा फँसिने उनको मनमा डर छ । आफूले सजगता अपनाएर चलाए पनि लाइसेन्स नै नभएपछि गल्ती आफ्नै हुेनमा पनि उनी जानकार छन् ।

हिजोआज स्कुटर प्रयोग गर्ने अपांगता भएकाहरु २० जना जति छन् । स्कुटरका लागि कुनै समस्या नभए पनि कारको लाइसेन्सको लागि सरकारले सोच्नुपर्ने समय आएको उनले बताए । आइतबार पोखरामा पत्रकार सम्मेलन गरी अपांगता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त सवारी साधन प्रदर्शन पनि गरिएको थियो । कार्यक्रममा राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अपांग व्याक्तिलाई ४ पांग्रे गाडीको लाइसेन्सका लागि नदिएको बताउँदै सहजीकरण गरिदिनुपर्ने उनको भनाइ थियो ।

अपांगले पनि सपांग सरह सुविधा पाउनुपर्ने उनको माग छ । ‘हामी सपांग भन्दा कम छैनौं, हामीले परेको खण्डमा जे काम पनि गर्न सक्छौं,’ उनले भने । कामका लागि आफूहरुलाई यातायातको असाध्यै आवश्यक पर्ने भएकाले अपांगले सवारी साधन किन्न चाहेमा भन्सार शुल्क छुटको व्यवस्था हुनुपर्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width