कष्टको व्यथा कुष्ठरोग

धनबहादुर गुरुङ
माघ १८, २०७७
Kustha Rog 2

पोखरा । कसैको हातको औंला छैन । कसैको खुट्टा गतिला छैनन् । कोही ओछ्यानमा पल्टिरहेका भेटिन्छन् । केहीले भने बारीमा काम पनि गरिरहेको देखिन्छ । खाना बनाउनु, भाडा धुनु, घर सफा गर्नु त उनीहरुको दिनचर्या नै हो । यो दृष्य हो, पोखरा महानगरपालिका १५ टुटुंगा रहेको पोखरा आरोग्य आश्रमको ।

आश्रममा अहिले १४ जना कुष्ठरोग प्रभावित छन् । उमेरले ३० लागेकादेखि ९० वर्षसम्मका वृद्धवृद्धा छन् त्यहाँ । उनीहरुको व्यथा एउटै हो, तर कथा फरक छन् । पाल्पा रामपुर घर बताउने चुनिमाया खाम्चालाई १७ वर्षको उमेर मै कुष्ठरोग भयो । उबेला यही रोग हो भनेर खासै भेउ नपाएका उनी पाल्पा मिसन अस्पतालकै औषधीको भरमा बसिन् । २० वर्षको हुँदा कुष्टरोग भएको थाहा पाइन् । कुष्ठरोग लाग्यो भने घर परिवारबाट अगल राख्छन्, खान दिँदैनन् भन्ने उनले सुनेकी थिइन् । त्यहीकारण उनको मनमा डर पैदा भयो । धन्न परिवारका सदस्य बुझ्ने अनि समझदारी समाज भएका कारण उनको डरले ठाउँ लिएन । उनी घरमै बसे पनि समाजका केहीले कुरा काटेको भेउ पाउँथे । ‘मलाई नै सिधै त केही भन्दैनथे ,’ उनी भन्छिन्, ‘पछाडि कुरा चाँही काट्थे रे ।’ उनको बिहे भएको थिएन ।

कुष्ठरोग पूर्वजन्मको फल रहेनछ, मान्छेहरु आकाशै खस्ने अनि धर्ती नै फाट्ने जस्तो व्यवहार गर्छन्

कुष्ठरोग लागेकै कारण माग्न नआएको भन्ने उनलाई भान भयो । तर उमेरले ३० टेक्दा नटेक्दै बिहेको कुरा चल्यो । त्यो बेला कुष्ठरोग प्रभावमुक्त भएजसरी काम पनि गर्थिन् । कुष्ठरोग प्रभावित भएको थाहा हुँदाहँुदै उनलाई बिहे गर्न राजी भए केटा पक्ष । ३० वर्षको उमेरमा पाल्पा रामपुरमा बिहे भयो उनको । बिहे भएको ५ वर्षसम्म राम्रैसँग मेलापात गर्दै हिँडिन् । ३५ वर्षको उमेरमा फेरि उनी नराम्रोसँग थला परिन् । उनको खुट्टामा समस्या देखिन थाल्यो । रोगको किटाणु सक्रिय हँुदै खुट्टामा ठूलै घाउ भएपछि हिड्नै नसक्ने भइन् । काम गर्न सकिनन् । परिवारले घृणा गर्न थाल्यो । ‘काम गर्न नसक्नेलाई पाल्नुप¥यो भन्नुहुन्थ्यो घरकाले,’ उनले भनिन्, ‘त्यसरी वचन लाउँदा साह्रै रुन मन लाग्थ्यो ।’ उनलाई अहिले लागेको छ– यो रोग केही रहेनछ, मान्छेहरु आकाशै खस्ने अनि धर्ती नै फाट्ने जस्तो व्यवहार गर्छन् ।

परिवारको वचन सुन्न नसकी ४० वर्षकै हाराहारि परिवारबाट उनी अलग्गै बस्न थालिन् । बिहे भएको छोरी माइत बस्न हुन्न भन्ने सोंचले गर्दा उनलाई माइती जान पनि मन मानेन उनको । परिवारबाट एक्लै बसे पनि पाल्पाबाटै कुष्ठरोगको औषधी खाइरहिन् । पाल्पाका स्वास्थ्यकर्मीले उनलाई पोखरा जान सुझाव दिए । पोखरा आएर उनले हरियोखर्क अस्पतालमा जाँच गराइन् । उपचार गर्न उनी पाल्पाबाटै आउजाउ गर्थिन् । तर एक्लै भएका कारण उनलाई समस्या भयो । त्यसपछि आवासीय रुपमै हरियोखर्कमा बस्नेगरी २०६९ सालमा पोखरा झरिन् । ३ वर्षसम्म अस्पतालमै बसिन् । त्यसपछि २०७२ सालमा पोखरा आरोग्य आश्रममा कोठा खाली भएपछि उनी त्यहीं बस्दै आएकी छन् । ‘रोग त सञ्चो हुने कहिले हो तर वचन सुन्न परेको छैन,’ उनी भन्छिन्,‘खान बस्न पाइएको छ, अहिले त खुसी छु ।’

आश्रममै बस्ने पर्वत शंकरपोखरीका तोयबहादुर परियारको अवस्था झन् नाजुक छ । दुवै हातका औला छैनन् । दुवै खुट्टाका आधा पैताला कुष्ठरोग कै कारण झरे । हिँडडुल गर्न निक्कै सास्ती छ । कपडा लगाउन त समस्या हुने नै भयो फुत्किएको टाँकसम्म पनि अरुले लागाइदिनुपर्छ ।

उनी आश्रममा बस्न थालेको विसं २०१५ सालदेखि हो । मालुंगाको उपचार केन्द्र समायोजन गर्ने क्रममा २०४९ सालमा परियार पोखरा आएका हुन् । आफूलाई कुष्ठरोग भएको थाहा पाएपछि परिवारले वास्ता गर्न छाडेको उनले बताए । परियारलाई कुष्ठरोग देखिएको सुरुआती समयमा केही भएको थिएन । भारी बोक्ने, कुटो कोदालोको काम मज्जैसँग गरेको उनी सम्झन्छन् । उमेर ८४ वर्ष लागका उनको गएको ७ वर्षदेखि समस्या देखिन थाल्यो । उपचार गराए पनि निको भएन । विस्तारै औंला झर्दै जान थाले । खुट्टामा पनि सोही समस्या देखिन थाल्यो । आजभोलि त उनको आँखामा पनि समस्या छ । मानिस चिन्नका लागि नजिकै गएर हेर्नुपर्ने वाध्यता छ ।

उनलाई खान बनाएर दिनुपर्छ । आश्रममा बस्ने अन्य १३ जनाले उनको हेरचाह गर्छन् । एकले अर्कोलाई गाह्रो पर्दा सुख दुख बाँड्छन् । परिवारमा नपाउने माया आश्रममा पाएको उनले बताए । आश्रममा अहिले विभिन्न जिल्लाका १४ जना कुष्ठरोग प्रवाभित रहेको पोखरा आरोग्य आश्रमका कार्यालय प्रमुख टेकमान प्रधानांगले जानकारी दिए । ‘बागलुङ, पर्वत, गोर्खा, गुल्मी, स्याङ्जा, तनहँु, पाल्पा लगायत जिल्लाका कुष्ठरोग प्रभावित हुनुहुनछ,’ उनले भने, ‘उहाँहरुको खाने बस्ने लाउने सबै व्यवस्था आश्रमल नै गरिरहेको छ ।’

उनीहरुको खाने बस्ने लगाउनेको साथै स्वास्थ्य उपचारदेखि मृत्यु संस्कारसम्म आश्रमले गर्दै आएको छ । समाज कल्याण मन्त्रालय र अन्य दाताहरुको आर्थिक सहयोगमा आश्रमका सञ्चालनमा छ । ‘हामीले दाल, भात, चामल तरकारीको मात्र व्यवस्था मात्र गरिदिने हो,’ उनले भने, ‘दूध, माछा, मासु लगायत सबै बाहिरी सहगोग दाताहरुको सहयोगबाट व्यवस्थापन गर्छौ ।’ जन्मोत्सव, विवाहोत्सव लगायत अवसर पर्दा मनकारीहरुको सहयोगले पनि आश्रम चलाउन धेरै सहयोग पुगको उनी बताउँछन् ।

२०४९ सालमा आश्रम स्थापना हुँदा ३१ जना कुष्ठरोग प्रवाभित ल्याएर राखिएको थियो । विसं १९९६ मालुंगा कुष्ठरोगी खानाको रुपमा सञ्चालनमा आएको बताउँदै पछि शाखा विस्तार गर्ने क्रममा पोखरामा ल्याइएको प्रधानांगले जानकारी दिए । मालुंगा कुष्ठरोगी खाना २०३५ देखि २०४९ सम्म पोखरा शाखाले सञ्चालन गरी २०४९ सालदेखि पूर्णरुपमा बन्द गरी सरकारलाई स्वास्थ्य केन्द्र सञ्चालन गर्न दिएको उनले बताए । ‘त्यो बेलासम्म पोखरामा आश्रमका सम्पूर्ण संरचना बनिसकेका थिए,’ उनले भने, ‘त्यो हामीले ३१ जना ल्याएर राखेका हौं, अहिले उहाँहरुमध्ये ४ जना मात्र हुनुहुन्छ ।’ आएकाहरु कोहीको मृत्यु भएको र कोहीलाई आफन्तले घर लगेको प्रधानांगले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width