पोखराका किसानलाई परिचयपत्र

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
agriculture

पोखरा। पोखरा महानगरपालिकाले नगरभित्रका किसानलाई परिचयपत्र वितरण गर्न थालेको छ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले शुक्रबार परिचयपत्र वितरण गरे ।

पहिलो चरणमा २ सय ८८ जना पशुपक्षीपालक किसानलाई परिचयपत्र वितरण गरिएको हो । जसअन्तर्गत ८ जना विशिष्ट कृषक, ५ उद्यमी कृषक, १३ व्यावसायिक कृषक, ९८ व्यवसाय उन्मुख कृषक र १ सय ६४ साना व्यवसायी कृषकलाई परिचयपत्र दिइएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । ‘किसानको पहिचान हुन सकेन । अनुदानका कार्यक्रम सक्कली किसानसम्म पुगेन । विचौलियाको हावी भो,’ उनले भने, ‘हामीले गर्ने कामले किसानको उत्थान हुनुपर्छ । किसानको छनोट गर्नका लागि यो अवधारणा सुरु गरिएको हो ।’

मन्त्री थापाले प्रदेश सरकार उत्पादन केन्द्रित कार्यक्रममा लागेको बताएका छन् । ‘उत्पादक किसान ठूला संख्यामा तयार हुँदै छन् । एकल र सामुहिक रुपमा उनीहरु किसानीमा लागेका छन्,’ उनले भने, ‘उनीहरुले गरेको उत्पादनलाई बजारमा बेच्ने जिम्मा अब सरकारले लिन्छ । स्थानीयदेखि अन्तराष्ट्रिय बजारको खोजी सरकारले गर्छ ।’ उनले कृषि क्षेत्रमा आकर्षण बढाउनकै लागि अनुदानका कार्यक्रम सञ्चालन गरेको भन्दै परिचयपत्र वितरणपछि वास्तविक किसानले अनुदान पाउने विश्वास व्यक्त गरे । उनले कृषिमा गरेको लगानी तत्काल नदेखिने भन्दै मिहिनत निरन्तर गर्नुपर्ने बताए । ‘सडकमा कालोपत्रे गरेको देखिन्छ । भवन बनाएको देखिन्छ । तर कृषिमा गरिएको लगानी अहिले नै देखिँदैन । यसका लागि समय लाग्छ,’ उनले भने ।

मेयर मानबहादुर जिसीले किसानलाई पहिलो पटक नागरिकता दिएको बताए । ‘किसान अब जवान भए । त्यही प्रमाण महानगरले दिएको हो,’ उनले भने, ‘सात सय ५३ पालिकामा अन्त यो थालनी भएको छैन । पोखराले सुरु ग¥यो ।’ जिसीले किसानलाई उत्पादन बढाउन आग्रह गर्दै उत्पादन महानगरले खरिद गरिदिने बताए । ‘बजार हामी खोजिदिन्छौं । बिक्री भएन भने महानगरले नै किनिदिन्छ,’ उनले भने, ‘बाहिरको खानेकुरा नल्याऔं । उत्पादन यही गरौं । निर्वाहका लागि मात्रै किसानी गर्न बन्द गरौं ।’ अहिलेसम्म पार्टीका कार्यकर्ताले मात्रै अनुदान पाएको भन्दै परिचयपत्र वितरणपछि त्यो समस्या अन्त्य हुने उनको दाबी छ ।

‘जसको सरकार छ, उसैका कार्यकर्ताले अनुदान लगेका छन् । परिचयपत्रले वास्तविक किसान चिनाउँछ,’ उनले थपे, ‘अब नक्कली कागजपत्र देखाएर सरकारी सहयोग पाउने दिन गयो । सक्कली किसानलाई मात्रै सरकारले चिन्छ ।’ अब चरणबद्ध रुपमा परिचयपत्र वितरणको काम चलिरहने महानगरले जनाएको छ । किसानको वर्गीकरण गर्न डिजिटल एप समेत बनाइएको छ । परिचयपत्र पाएपछि किसान दीपक तिमिल्सिनाले राज्यले राम्रो कामको थालनी गरेको बताए । ‘यो निकै खुसीको खबर हो । कृषिमा उत्साह थपिएको छ,’ उनी भन्छन्, ‘यसको सही सदुपयोग किसानहरुले गर्नुपर्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width