भूतपूर्व सैनिक सम्मेलन माघ अन्तिम साता

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
nepalese-army

काठमाडौं । मुलुकमा कोभिड–१९ संक्रमणको जोखिमपछि स्थगन भएको भूतपूर्व सैनिक सम्मेलन यही माघको अन्तिम साताबाट सुरु हुँदैछ ।

कोभिड–१९ काकारण कार्यशैली परिमार्जन गर्दै सेनाको पश्चिम पृतनामा मुख्य शिविर र मातहतका जिल्लामा बसोबास गर्ने भूपू सैनिकका लागि सम्बन्धित जिल्लामा सहायक शिविर खडा गरी सम्मेलनको आयोजना गरिँदैछ ।

शिविर खडा भएका प्रत्येक केन्द्रमा १००/१०० को सहभागिता हुने गरी सम्मेलन तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । नम्बर ३ बाहिनी अड्डा तनहुँ, कालीभञ्जन गण (ई) तनहुँ, नं ३ जगदल गण तनहुँ, भगवतीदल गण कास्की, श्रीजंग गण लमजुङ, रणसिंहदल गण, सुरक्षा गुल्म गोरखा, दुर्गाभञ्जन गुल्म स्याङ्जा, नं २३ बाहिनी अड्डा र अर्जुनबाँण गण (संयुक्त रूपमा) बागलुङ र मुस्ताङ, केबलजंग गुल्म पर्वत, श्रीबक्स गुल्म म्याग्दीमा सम्मेलनको सहायक शिविर रहने छ ।

जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपू सैनिकले उक्त सम्मेलन सहकर्मी पल्टनीयाबीच भेटघाट, सुख/दुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

कोरोना संक्रमण जोखिमको पाटोलाई हेक्कामा राखी सेनाले यस पटक भूपूको समानुपातिक र समावेशी प्रतिनिधिमूलक उपस्थितिमा सम्मेलन गर्न लागेको हो ।

तेस्रो चरणको पहिलो वर्षमा चार र दोस्रो वर्षमा तीन वटा प्रदेशमा गर्ने लक्ष्य राखेकोमा पहिलो वर्ष अर्थात् २०७६/७७ मा गण्डकी बाहेक अरु प्रदेशमा सम्मेलन सम्पन्न भएका थिए । गण्डकी प्रदेशमा भने कोभिड–१९ कारण सम्मेलन स्थगित गर्न परेको थियो । सेनाका अनुसार, बाँकी वाग्मती, प्रदेश नं २ र प्रदेश नम्बर १ मा पनि आगामी चैत महिनाभित्रै सम्मेलन हुनेछ ।

जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपू सैनिकले उक्त सम्मेलन सहकर्मी पल्टनीयाबीच भेटघाट, सुख/दुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।
सम्मेलनको मुख्य नारा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्नेछ । सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रूपमा सेनाले लिने गरेको छ । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको संख्या करीब ८५ हजार छ ।

सैनिक कल्याणकारी कार्यक्रमको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्ने तर्फ सेनाले स्पष्ट नीति तर्जुको प्रयास भइरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताउनुभएको छ । सेनाका बहालवाला, भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहु–आयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ ।

पछिल्ला वर्षमा पनि कोषले हिताधिकारीको घरदैलोसम्म स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपू सैनिकको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढाएको छ । सातवटै प्रदेशमा हरेक ३÷३ वर्षमा सञ्चालन गर्ने नीतिगत व्यवस्थाअनुरुप सेनाले सम्मेलनलाई परिस्कृत तुल्याउँदै लगेको छ ।

लोक संस्कृतिको संरक्षण
हिताधिकारीका लागि स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतको अवधारणामा आधारित रही कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको सफल कायान्वयन गर्नेतर्फ कोषले ध्यान केन्द्रीत गरिरहेको कल्याणकारी योजना निर्देशक सागरबहादुर केसीले बताए । लघुवित्त कार्यक्रमका लागि कोषले इन्भेस्टमेन्ट बैंकसँगको सहकार्यमा हिताधिकारीलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आएको छ ।

सम्मेलनका क्रममा भूपू सैनिकद्वारा प्रस्तुत हुने जोशिलो परेडले संगठनको ओज बढाउने मात्र नभइ प्रदेश र जिल्लाको पहिचानका रूपमा रहेका बाजागाजा, भेषभूषा र झाँकीसहितको नृत्यले लोकसंस्कृतिको संरक्षण, विकास र विस्तारमा योगदान पुग्नेछ । सम्मेलनको मुख्य उद्देश्य हिताधिकारीलाई कल्याणकारी कार्यको जानकारी, चाहना पहिचान, अन्तक्र्रिया गरी रायसुझाव संकलन गर्ने, पीरमर्का सुन्ने, शिविरमार्फत स्वास्थ्य उपचारसेवा उपलब्ध गराउने तथा सेनाप्रति विश्वास र भरोसा दिलाउने रहेको छ ।

के कस्ता सुविधा थपिए त !
विगतमा काठमाडौंमा मात्र केन्द्रित स्वास्थ्य सेवालाई भूपू सैनिकको माग सम्बोधन गर्ने क्रममा सेनाले प्रदेशस्तरमै गुणस्तरीय सेवा पुर्‍याउन इटहरी, पोखरा, बर्दिवास, नेपालगञ्ज र बोराडाँडीमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

सैनिक सेवामा रहँदा कर्तव्यपालनको सिलसिलामा अपाङ्गता तथा घाइते भई जीवनयापनमा सहयोगीको जरुरत पर्ने सकलदर्जालाई मासिक १० हजार दरले सहयोगी भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विगतमा हिताधिकारीका सन्ततिलाई २१ वर्ष उमेर पुगेपछि स्वास्थ्य उपचार सेवा प्रदान नगर्ने नीतिमा उमेरको हद सशोधन गरी सेनाले गम्भिर प्रकृतिका रोग लागेका अविवाहित छोरी र बेरोजगार छोरालाई पनि उपचारको सुविधालाई उपलब्ध गराउने निर्णय गरेको छ ।

सैनिक कल्याणकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने सबै हिताधिकारीका सन्ततिलाई गुणस्तरी शिक्षामा पहुँच हुने गरी कोषले अध्ययनको व्यवस्था मिलाएको छ । सेनाले मुलुकका ७० जिल्लामा हिताधिकारी लाभान्वित हुनेगरी २ सय १० वटा उत्कृष्ट विद्यालयमा पठनपाठनको व्यवस्था मिलाएको छ ।

सम्मेलनका क्रममा विगतमा प्राप्त सुझावका आधारमा सेनाले हिताधिकारीलाई आत्मनिर्भर र स्वावलम्बन तुल्याउन मेकानिक्स, सिलाइकटाइ, पेन्टर, कार्पेन्टर, इलेक्ट्रिसिएन, प्लम्बर, कुक, कम्प्युटर र कृषि सम्बन्धी व्यावसायिक तालिम प्रदान गरिरहेको छ ।

बढ्दो महँगीको मारमा नपरुन केही हदसम्म तथा हिताधिकारी र सकलदर्जाले राहत पाउन भन्ने हेतुले संगठनले बहालवाला र अवकाश प्राप्तका लागि स्थान विशेषमा सुपथ मूल्यका पसल खोल्ने कार्यलाई युनिट तहसम्म लैजाने अभियान नै सुरु गरिसकेको छ ।

भूपू सैनिकलगायत सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा एवं आत्मसम्मानका लागि गौरवपूर्ण कार्य गर्दै आएको सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु एवं राष्ट्रिय एकताको प्रतिकका रूपमा रहीआएको छ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width