उडायो सपना सबै दलालले…

धनबहादुर गुरुङ
माघ १६, २०७७
arrest

पोखरा ।  स्याङ्जा आँधीखोलाका दीपेन्द्र विक शिक्षक हुन् । पोहोर जेठतिर उनलाई गाउँकै १ जनाले क्यानडा जाने अफर गरे । गरिवीको चाप, जेनतेन बिहान बेलुका चलिरहेकै समयमा क्यानडा जाने अफरले उनलाई तान्यो । सुरुमा होइन कि, ठगिने होकि भन्ने पनि लाग्यो । तर उनलाई जानकारी गराउने व्यक्ति विश्वासिला थिए । उनले पनि जाने प्रक्रिया सुरु गरिसकेका थिए ।

कमाइले घर धान्न गाह्रो छ भन्ने लागेर उनले साउनताका क्यानडाका लागि मन बढाए । अनि अग्रिम भुक्तानीस्वरुप १ लाख बुझाए । रकम लिने व्यक्ति थिए, धीरजकुमार विक । अफर लेटर नआएमा रकम फिर्ता दिने भनेर आश्वस्त पारेका थिए धीरजले दीपेन्द्रलाई । दीपेन्द्रलाई झनै विश्वास लाग्यो । धीरजको भनाइ उद्धृत गर्दै दीपेन्द्रले भने, ‘चेक दिएको दिन एक सातामै अफर लेटर आउँछ, आएन भने मेरो एकाउन्टबाट चेक साटेर पैसा लिनुुस् भन्नुभएको थियो ।’

धीरज जोकोहीको मन जित्न असाध्यै सिपालु थिए । १ सातापछि धीरजले दीपेन्द्रलाई अफर लेटर आएको भन्दै देखाए पनि । साँच्चैको हो कि होइन दीपेन्द्रले नेटमा सर्च पनि गरे । अफर लेटरमा ‘हाइ कमिसन इन्डिया’ उल्लेख थियो । उनको बुझाइमा नेपालबाट सिधै क्यानडा जान पाइँदैन भन्ने नै थियो । त्यसैले इन्डियामा हाइ कमिसन छ भन्ने थाहा पाएपछि अझै विश्वास बढ्यो । त्यतिबेलासम्म दीपेन्द्रका चिनजानका ५ जनाले धीरजलाई पैसा बुझाइसकेका थिए ।
साउनमा रकम बुझाएका उनलाई कति बेला क्यानडा पुगौंजस्तो भएको थियो । बीचमा धिरजलाई फोन गर्दै बुझ्दै पनि थिए । प्रक्रिया हुँदैछ भन्ने जवाफ उताबाट आउँथ्यो ।

त्यहीबीचकाे माघमा दीपेन्द्रसँगै प्रक्रिया गरिरहेका १ जनालाई इन्डिया लगेर धीरजले भिएफएस (भिसा फेसिलेटेट सर्भिस) पनि गरिदिए । त्यसले झनै विश्वास बढायो । त्यो बेलासम्म दीपेन्द्रले चिनेका १२ जना त्यही सञ्जालमा जोडिएका थिए । धीरजको ठगीधन्दा मौलाएकै थियो । त्यसपछि कोरोना महामारी चल्यो । लकडाउनले धीरजलाई केही महिना सहज भयो ।

ठगीधन्दामा रमाएका धीरजलाई कोरोना राम्रै बहाना बनिदियो । दीपेन्द्र लगायत धरैले फोन गर्दा कोरोना सकिएपछि गरौंला भन्ने जवाफ हुन्थ्यो उनको । स्थिति सामान्य बन्दै गएपछि उनले फेरि सबैसँग थप प्रक्रियाका लागि रकम माग गर्न थाले । कसैले दिएछन् पनि । दीपेन्द्रले भने नदिने पक्षमा देखिए । ‘मेरो नाममा कुनै इमेल आउँछ, डकुमेन्ट आउँछ भने एम्बेसी मार्फत् पैसा दिन्छु नत्र दिन्न भनेर दिइनँ,’ उनले भने,‘अरुले चाँही दिएछन् ।’

जाने समय कुरेर बसेकाहरु कानुनी प्रक्रियामा जाने सुरसार गरेकै बेला धीरजले उनीहरुलाई फकाउने प्रयास पनि गरे । त्यसबीचमा धीरजको मोबाइल अफ भयो । रकम बुझाएकाहरु रन्थनिए । दीपेन्द्रलाई बल्ल थाहा भयोे कि ठगको फन्दामा परियो भनेर । क्यानडा जाने, पैसा कमाउने सपना सबै दलालले उडायो । पैसा बुझाएका अरु साथीभाइसँग सल्लाहमा जुटे । बुझ्दै जाँदा आफू जसरी नै रकम बुझाउन ३२ जनालाई उनले भेटे । दीपेन्द्रसहित ३३ जनाले नै पासपोर्ट धीरजलाई बुझाएका थिए । ती सबैलाई क्यानडा लगिदिने भन्दै रकम असुलेका रहेछन् । कसैसँग १ लाख, कसैसँग २ लाखदेखि १५ लाखसम्म लिएको भेटेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा दीपेन्द्रसहितका साथीहरुले उजुरी दिए । कसैले व्यक्तिगत रुपमा त कसैले सामूहिक जाहेरी दिएका हुन् ।

दीपेन्द्रलाई सुरुमा क्यानडाको अफर गर्ने दीपक कार्कीले पनि जाहेरी दिएका छन् । उनी पनि १ लाख ठगीमा परेका छन् । साथीको साला भनेर विश्वास गरेर रकम दिएको कार्कीले बताए । ‘साथीको साला हो, सुरुमा के के न गर्छ जस्तो गफ दियो,’ उनले भने, ‘विश्वास गरेरै धेरैलाई भने पनि अहिले नराम्रो हुन प¥यो ।’
जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुले दिएको जाहेरीको आधारमा मंगलबार पर्वतको मोदी गाउँपालिका ७ घर भई पोखरा ३० बस्ने धीरजकुमार विकलाई पक्राउ गरेको छ । आफूलाई धीरजकुमार सिंह भन्दै विभिन्न व्याक्तिबाट ९० लाख ७१ हजार ५ सय ठगी गरेको आरोपमा पोखराबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीषक (एसपी) जीवनकुमार श्रेष्ठले बताए ।

ओपन भिसामा क्यानडा लगिदिने भन्दै स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, तनहुँ, नुवाकोट लगायत जिल्लाका युवाबाट रकम लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ‘धीरजले १ लाखदेखि १५ लाखसम्म ठगी गरेको आरोप छ,’ उनले भने, ‘घटनामा अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानकै प्रक्रियामा छौं ।’

१४ वर्षसम्म खाडीमा काम गरेका धीरजले नेपाल आएर यो धन्दामा लागेको एसपी श्रेष्ठले बताए । ‘नेपालमा कुनै संस्था दर्ता नगरि र श्रम मन्त्रालयबाट स्वीकृति नलिइ विदेश पठाउनु कानुन विपरीत हो,’ उनले भने, ‘भारतबाट विदेश जानु भनेको पनि त्यो कानुन सम्मत छैन ।’

Related News

सम्बन्धित समाचार

hero news full width