मनाङकाे नासाे गाउँपालिकामा आगलागी,  मानव बस्ती जोगाउनै हम्मेहम्मे

रासस
माघ १५, २०७७
manang fire

मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो ।

मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे खतरामुक्त रहेको छ । आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उहाँले बताउनुभयो । उहाँले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेको बताउनुभयो । हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ ।

धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छ । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको उहाँको भनाइ थियो ।

आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम मोलेरै भए पनि १०० जनाको टोली आगो निभाउन खटिइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढा मात्रै आगो छ ।” उहाँले नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताउनुभयो ।

उहाँले ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको बताउनुभयो । गौतमले भन्नुभयो, “अहिले पनि हामी आगोसँग आगो जुधाएर निभाउने प्रयास गर्दै छौँ ।” यसैबीच सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो निभाइएको गौतमले जानकारी दिनुभयो । यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयवासीहरूले त्रसित भएको बताएका छन् ।

आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण जडीबुटी नष्ट हुने भन्दै उनीहरुले जङ्गली जनावरको बास उठेकोमा चिन्ता व्यक्त गरेका छन् । अग्ला पहाडमा रहेको जङ्गलको आगोले मानव बस्तीलाई जोगाउनुबाहेक निभाउन गर्न कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

मङ्सिर ११ गतेदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको स्थानीय वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताउनुभयो । किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width