घरपरिवारबाटै अपहेलित छन् बहिरा

धनबहादुर गुरुङ
माघ १५, २०७७
Bahira News

पोखरा । स्याङ्जा चापाकोटका कुलप्रसाद भट्टराई सुन्न सक्थे र बढी नै बोलक्कड थिए । तर, उनी ११ वर्षमा नराम्रोसँग बिरामी परे । उनको कान पाक्न थाल्यो । उनका आमाबाबुले कान पाक्ने समस्या ठूलो मानेनन् । खासै ध्यान पुगेन र उपचार गराएनन् ।

बिरामी भएसँगै उनको श्रवण शक्ति घट्दै गएको थियो । ११ वर्ष नपुग्दा नै उनी आफ्ना बाबुआमाले गरेका कुराकानी बुझ्दैनथे । उनी अल्मलिएर आफ्ना बाबुआमालाई हेर्थे तर दिनदिनै कम बोल्न थाले । कक्षा पढ्दापढ्दै बहिरा भएको थाहा पाएका उनले जसोतसो कक्षा ५ उत्तीर्ण गरे । घर परिवारबाटै राम्रो व्यवहार नगर्ने, पेटभरि खान पनि नदिने, पढ्नका लागि विद्यालय जान पनि नदिनेसम्मको अवस्था आयो ।

काठमाडौंमा बहिराहरुलाई पढाउने विद्यालय छ भन्ने उनका बाबुले थाहा पाएपछि उनी काठमाडौं गएर कक्षा ६ बाट पढ्न थाले । काठमाडौं गएपछि सांकेतिक भाषा सिकेर उनले उच्च शिक्षा पनि हाँसिल गरेका छन् । सुरु सुरुमा सांकेतिक भाषा नजान्दासम्म अप्ठेरो महसुस भए पनि बुझेपछि उच्च शिक्षासम्म पढेर अहिले बहिराहरुको संस्थाको नेतृत्वसम्म पुगेका छन् ।

बाग्लुङका सन्तोष पौडेल जन्मिदादेखि नै पूर्णरूपमा बहिरा थिए । यो कुरा उनका बाबुआमाले थाहा पाए पनि केही गर्न सक्ने अवस्था थिएन् । उनी १० कक्षासम्म सुन्नेहरुसँगै बसेर पढेका थिए । आफ्नो दाइले पढाइमा उनलाई सहयोग गरेका थिए । दाइले लेखेर दिने मुखाकार हेरेर पढ्दा निक्कै असजिलो भएको उनी सम्झन्छन् ।

दाइकै सहारामा एसएलसी पास गरे उनले । एसएलसी दिने बेलासम्म पनि आफू ‘बहिरा’ हुँ भन्ने भेउ पाएका थिएनन् । २०६० सालमा बागलुङमै एक गैरसरकारी संस्थाको कार्यक्रम लिएपछि बल्ल आफू बहिरा भएको थाहा पाए उनले । त्यही संस्थामार्फत् सांकेतिक भाषा पनि हुने रहेछ भन्ने उनले थाहा पाए र सिक्न थाले । सांकेतिक भाषा सिकेपछि उनलाई पढ्न कुनै समस्या भएन । अहिले उनी धौलागिरि बहिरा विद्यालयमा शिक्षक छन् ।

भट्टराई र पौडेलको जीवनमा सांकेतिक भाषाले धेरै सघाएको छ । आफूहरुको परिवारमा पढेका अनि बुझ्ने अभिभावक भएको हुनाले आफूहरुलाई सहज भएको उनीहरु बताउँछन् । अझै पनि देशका ५ लाखभन्दा बढी बहिराहरुलाई सांकेतिक भाषाको खाँचो रहेको पौडेल बताउँछन् । सञ्चार अभावकै कारण विद्यालय, प्रशासनिक कार्यालय लगायत धेरै ठाँउमा काम गर्न गाह्रो परेको उनको भनाइ छ ।

गण्डकी बहिरा संघका सल्लाहकार हरिप्रसाद बराल सञ्चारमा कमी भएको कारण हरेक क्षेत्रमा अप्ठेरो परेको स्वीकार्छन् । ‘लामो समयदेखि बहिराहरुको हकहितको लागि काम गरिरहको छु,’ उनले भने, ‘गोर्खामा एउटा घटना भएको थियो त्यो घटनामा हामीले पोखराबाट दोभाषे पठाएर सहयोग गरेका थियौं ।’ बहिराहरुलाई उपचारमा अझ समस्या रहेको उनले सुनाए । ‘हामीले नै चिनेको एक जना महिला गर्भवती भएर जँचाउन जादा त्यस्तै समस्या भयो,’ उनी सुनाउँछन, ‘न डाक्टरले भनेको उनले बुझ्छन्, न उनले भनेको डाक्टरले बुझे ।’

राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राजेन्द्रप्रसाद शर्माले बहिराहरुको परिचय पत्र नै राज्यले नबनाइदिएको बताए । परिचयपत्र नभए पछि देशमा आफूहरुको पहिचान नभएको उनको भनाइ थियो । ‘गाउँमा शिक्षा छैन, सांकेतिक भाषा सिक्नुभएको छैन,’ उनले भने, ‘अपांगता भइसकेपछि घरपरिवारले पनि समय नदिने हुँदा दूरदराजमा भएका बहिराहरु मर्कामा परेका छन् ।’ सरकारले पनि आफूहरुको बारेमा धेरै काम नगरेकोमा उनको दुखेको थियो । जनगणना गर्दा पनि उनीहरुले संख्या यकिन नगरिदिएको उनले बताए । ‘जनगणना गर्दा कस्तो खालको अपांगता हो भन्ने पहिचान नगरी गणना गरिदिनुभएको छ,’ उनले भने, ‘परिवारले पनि घरमा अपांगता भएका व्याक्ति भए पनि छ भन्न नसक्दा झनै समस्या भएको छ ।’

आफूहरुको लागि सरकारले पछिल्लो समय केही भए पनि सुविधा दिएको शर्माको भनाइ थियो । ‘सरकारले विद्यार्थीहरुको लािग मासिक ४ हजार दिन्छ,’ उनले भने, ‘यसले गर्दा बहिरा विद्यार्थीहरुको लागि पढ्न सहज बनाइदिएको छ ।’ यसको अलावा अपांग परिचयपत्र अन्र्तगत निलो ‘ख’ बनाएमा मासिक १ हजार ६ सय भत्ता उपलब्ध गराएको शर्माले बताए । सरकारले बजेट बिनियोजन गरेरै भए पनि बढी भन्दा बढी दोभाषे उत्पादन गरेर हरेक क्षेत्रमा राखिदिए आफूहरुलाई काम गर्न सजिलो हुने उनको भनाइ थियो ।

बहिरा संघका लागि सरकारको तर्फबाट पनि नयाँ नयाँ योजनाहरु बनाएर अगाडि बढेको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोद कुँवरले बताए । ‘केन्द्र सरकारले पहिलादेखि नै भक्ता सुविधाको व्यवस्था गरेको थियो,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले पनि छिट्टै सांकेतिक शब्दकोष प्रकाशन गर्नेछ ।’ गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेक ९ वटा जिल्लामा बहिरा आवासीय विद्यायल सञ्चालनमा छन् । जसमध्ये कास्की, बागलुङ र गोर्खामा माध्यामिक तहसम्म पढाइ हुन्छ भने अन्य जिल्लामा स्रोत कक्षा सञ्चालन भइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width