पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खाेप अभियान सुरुआत गरेका हुन्

Avatar आदर्श समाज सम्वाददाता
माघ १४, २०७७
cm handover vaccine box

पोखरा । गण्डकी प्रदेशमा कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाश्चञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई खोप बक्स हस्तान्तरण गरेर बुधबार अभियानको सुरुआत गरे ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोनासँग जुध्न संघ, प्रदेश र स्थानीय तहहरुले गरेको प्रयासले सार्थकता पाउँदै आएको बताए । काम गर्ने क्रममा भएका कमजोरी सुधार्दै यसलाई अझ सशक्तरुपमा अगाडि बढाउन समेत उनले आग्रह गरे ।

पहिलो चरणको कोभिड–१९ खोप अभियानका लागि गण्डकी प्रदेश १४ वटा खोप केन्द्र तोकिएको छ । कास्कीमा ४ सहित १४ स्थानमा खोप केन्द्र तोकिएको प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी गराइन् । भारतको सहयोगमा नेपाललाई प्राप्त खोपमध्ये गण्डकीलाई ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीसहित गण्डकी प्रदेशका अन्य १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएकोमा सबै जिल्लामा खोप पठाइसकिएको र बुधबार नै सबै जिल्लामा अभिषन सुरु भएको डा. शर्माले बताए ।

गण्डकी प्रदेशमा प्राप्त कोभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने योजना रहेको जनाइएको छ ।

१८ वर्षमाथि तोकिएका लक्षित वर्गलाई पहिलो मात्रा दिइने र दोस्रो मात्रा २८ दिनपछि दिइने छ । खोप कार्यक्रम व्यवस्थितरूपमा सञ्चालन गर्न प्रमुख सचिव विष्णुप्रसाद नेपालको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति गठन गरिएको छ ।

त्यसैगरी खोप लगाइसकेपछि हुने जोखिम नियन्त्रण गर्न जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा जिल्ला खोप समन्वय समिति पनि गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads