गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने

धनबहादुर गुरुङ
माघ १४, २०७७
covid vaccine press meet

पोखरा । पहिलो चरणको कोभिड–१९ खोप अभियानका लागि गण्डकी प्रदेश १४ वटा खोप केन्द्र तोकिएको छ ।

सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी कास्कीमा ४ सहित १४ स्थानमा खोप केन्द्र तोकिएको जानकारी दिएको हो । भारतको सहयोगमा नेपाललाई प्राप्त खोपमध्ये गण्डकीलाई ३९ हजार १ सय ३९ मात्रा भ्याक्सिन आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहित मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कजेल र संक्रामक रोग नियन्त्रण अस्पताल, लेखनाथलाई खोप केन्द्र तोकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीसहित गण्डकी प्रदेशका अन्य १० वटै जिल्लाका जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएकोमा सबै जिल्लामा खोप पठाइसकिएको र आवश्यक तयारी पूरा भएको डा शर्माले बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार खोपको सुरुवात गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् ।
‘बिहान १० बजे प्रधानमन्त्रीले काठमाडौंमा सुरुवात गर्नु हुनेछ,’ मन्त्री पुनले भनिन्, ‘काठमाडौंमा उद्घाटन भएपछि हामी पनि गण्डकी प्रदेशमा सुरुवात गर्छौं ।’

गण्डकी प्रदेशमा प्राप्त कोभिसिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई लगाउने योजना रहेको जनाइएको छ ।

१८ वर्षमाथि तोकिएका लक्षित वर्गलाई पहिलो मात्रा दिइने र दोस्रो मात्रा २८ दिनपछि दिइने छ । खोप कार्यक्रम व्यवस्थितरूपमा सञ्चालन गर्न प्रमुख सचिव विष्णुप्रसाद नेपालको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति गठन गरिएको छ ।

त्यसैगरी खोप लगाइसकेपछि हुने जोखिम नियन्त्रण गर्न जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा जिल्ला खोप समन्वय समिति पनि गठन गरिएको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ३७ पुगेको छ । गएको २४ घण्टामा गण्डकीमा ३६संक्रमित थपिएका हुन् । कुल संक्रमितमध्ये १४ हजार ७ सय ९४ निको भएका छन् भने २ सय ३ को मृत्यु भैसकेको छ । हाल सक्रिय संक्रमित ४ सय ४० जना छन् । होम हाइसोलेसनमा ४ सय ४ जना बसिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads