नरोऊ मायालु…

धनबहादुर मिर्मिरे आँखा, बेली र चमेली, मायामा नभुल, लाग्यो बुढेसकाल लगायत दर्जनौं चर्चित गीतका सर्जक हुन्

धनबहादुर गुरुङ धनबहादुर गुरुङ
माघ १३, २०७७
Dhan Bdr Gayek Photo

पोखरा । बाटुलेचौरको गन्धर्व वस्ती छेवैको एउटा एम्बुलेन्समा मधुर आवाजमा बजिरहेको थियो । ‘यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्‍यो दिमाख, नरोऊ मयालु…।’

नरोऊ मायालु गीत बजिरहेको स्पिकरको बायाँतर्फ एउटा बोर्ड टाँगिएको थियो र लेखिएको थियो– ‘हार्दिक श्रद्धाञ्जली अनि फोटो थियो त्यसैको मुन्तिर सानो अक्षरमा धनबहादुर गायक । जन्म २०२१ वैशाख ६, मृत्यु २०७७ माघ १२ ।’

प्रविण गुरुङ र बिमाकुमारी दुराले गाएको गीतमा शब्द र संगीत भने त्यही बोर्डमा लेखिएको धनबहादुर गायकले गरेका हुन् । उनै गायकको मृत्यू भएको हो २०७७ माघ १२ गते सोमबार । उनैले सिर्जना गरेको गीत उनको मृत शरीर राखेको एम्बुलेन्समा बज्दा के नमिले के नमिले जस्तो भान हुन्थ्यो ।

एम्बुलेन्स अगाडि बढ्यो । गन्धर्व समुदायको स्थानीयले भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै फूलमाला अर्पण गर्न थाले । भीडमा गन्धर्व समुदायका मानिस मात्र नभइ गायकलाई नजिकबाट चिन्ने शुभचिन्तक, साथीभाइ, विभिन्न संघसंस्थामा आवद्ध व्याक्तित्वहरु पनि लामबद्ध रुपमा थिए । उनीहरुले पनि एवं रुपमा श्रद्धाञ्जली अर्पण गरेका थिए । बजिरहेको गीतमा नरोउ मायालु भने पनि कसैको आँखा ओभानो थिएन । त्यही भीडमा टिलपिल आँखामा आँसु बनाइरहेका झलक गन्धर्वले भन्दै थिए, ‘राम्रा मान्छेलाई दैवले किन छिट्टै लैजान्छ होला हरे ! भगावन तपाईंको लीला अपरम्पार छ ।’

नाताले धनबहादुरका साला पर्ने झलक गन्धर्व हेम्जामा बस्ने भए पनि मृत्युको खबर सुन्ने बित्तिकै हिनेरै बाटुलेचौर पुगेर परिवारका सदस्यलाई सान्त्वना दिन भ्याए ।

पोखरा १६ बाटुलेचौरको गन्धर्व समुदाय सोमबार एकाबिहानै शोकमा डुब्यो । गायकको अवसानले नेपाली संगीत क्षेत्रले कुशल एक नक्षत्र गुमाएको छ ।

सामान्य परिवारमा जन्मेका उनले यही वर्ष नयाँ घर बनाउँदै थिए । उनको घरसम्म बाटो पनि पुग्दै थियो । ३ दिन आगडि बिरामी भएर पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका गायकको सोमबार बिहान निधन भएको खबरले गाँउ नै विक्षिप्त भयाे । उच्च रक्तचापका बिरामी उनी नुहाउने क्रममा चिप्लेर लडेपछि अस्पताल लगिएकाे थियाे ।  उनको सोमबार नै क्रिस्चियन धर्म अनुसार पोखरा गाईघाटमा अन्त्येष्टि गरिएको हो । धनबहादुरका पत्नी, २ छोरा/बुहारी, १ छोरी/ज्वाइँ र ४ जना नाति नतिना छन् ।

त्यसाे त धनबहादुरले ११ वर्षकै उमेरमा रेडियाे नेपालमा गीत रेकर्ड गराउन सफल भएका थिए । उनकाे निधनले  गन्धर्व समुदायले एक असल अभिभावक गुमाएको उनका चेला सन्देश गन्धर्वले बताए । ‘मेरो संगीतको गुरु नै उहाँ हुनुहुन्छ, म बिहान नउठ्दा ए ! बाबु उठ् अब संगीत सिक्न जानुपर्छ भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘अब उहाँ नै नरहेपछि मलाई कस्ले आगाडि बढ्न प्रेरणा दिन्छ ।’ उनले गहभरि आँसु बनाए ।

लक्ष्य ब्यान्डका सदस्य धीरज गुरुङ पनि एउटा असल प्रशिक्षक गुमाएको बताउँछन् । ‘लक्ष्य ब्यान्ड स्थापना गर्न उहाँको ठूलो योगदान छ,’ उनी भन्छन्, ‘अहिलेको युवा पुस्ताले गन्धर्व पेसामा रुचि नदेखाएपछि ब्यान्डमा सारंगी समावेश गरेर आफ्नो पेसा संरक्षण गर्ने उहाँको योजना थियो ।’ लक्ष्य ब्यान्डमा सारंगीसँगै लोकबाजा मात्र बजाइने गरेको उनले बताए । ‘लोकसंस्कृति जगेर्ना गर्न उहाँको ठूलो योगदान छ,’ उनी भन्छन्,‘उहाँकै जोडबलले ब्यान्ड स्थापना भएको हो, ब्यान्डमा धेरै गन्धर्व समुदायकै युवाहरुको बाहुल्य छ ।’

कवि तीर्थ श्रेष्ठ धनबहादुरले जीवनको सबै कालखण्ड संगीतमा खर्च गरेका सबैका अग्रज कलाकार भएको बताउँछन् । उनी मिजासिला, फरासिला र मिलनसार व्याक्तित्वको धनी भएको श्रेष्ठले बताए । सुरुमा बाबु बाजेसँग पछि लाग्दै कास्कीको गाउँ गाउँ पुग्ने उनी बुझ्नेभएपछि डाँफे कला मन्दिरमा आवद्ध भएको उनले बताए । ‘हामी डाँफे कला मन्दिरमा लामो समय सहकार्य ग¥यौं,’ उनले भने, ‘उनी मादल र साररंगी राम्रो बजाउँथे, उनी गीत गाउन पनि माहिर थिए, गीत लेख्न त कस्ले सक्ने ।’ उनको मिर्मिरे आँखा, बेली र चमेली, मायामा नभुल, लाग्यो बुढेसकाल लगायत दर्जनौं चर्चित गीत सिर्जना गरको उनले बताए । पछि उनी पोखरेली युवा सांस्कृतिक परिवार सञ्जालमा पनि आवद्ध भएको उनको भनाइ थियो ।

‘उनको गायक सरोजगोपाल बज्राचार्यसँग पनि निकै राम्रो सम्बन्ध थियो,’ तीर्थले भने, ‘सरोज गोपाल कै संयोजनमा स्थापना भएको बागिना संस्थामा पनि उनी आवद्ध भएका थिए ।’ पोखरामा हुने हरेक सांगीतिक कार्यक्रम उनको उपस्थिति रहने उनी सम्झन्छन् । राजा वीरेन्द्र पोखरा आउँदा धनबहादुरले गीत गाएर खुसी पार्ने गरेको श्रेष्ठको भनाइ थियो । गायक लोक संस्कृति संरक्षण गर्नका लागि सर्धैं अग्रसर रहने खालको स्वाभावका कारण कहिल्यै भुल्न नसक्ने उनले सुनाए ।

‘मादल र सारंगी संरक्षणको लागि उनले आफ्नै अग्रसरतमा २०६६ सालमा झलकमान गन्धर्व सारंगी पाठशाला खोलेका थिए,’ उनले भने, ‘उनले त्यहाँ निशुल्क रुपमा मादल र सारंगी सिकाउँथे, दुखको कुरा पछिल्लो समय यो बन्द जस्तै छ ।’ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र झलकमान गन्धर्व सारंगी पाठशालाले सहकार्य गरेर दसैंको समयमा मालश्री धुन पनि सुनाएको उनले जानकारी दिए । ‘उनले धेरै आमा समूहलाई मादल बजाउन सिकाएका थिए,’ उनी भन्छन्, ‘विदशीलाइ समेत मादल र सारंगी बजाउन सिकाउँथे ।’ सरकारले उनले स्थापना गरेको झलकमान गन्धर्व सारंगी पाठशालालाइ निरन्तरता दिने र गायकको स्मतिमा अक्षयकोष स्थापना गरेर त्यही पाठशालामा सिक्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने हो भने उनको सम्मान हुने श्रेष्ठले बताए ।

धनबहादुरका सहपाठी समेत रहेका पूर्व मेयर एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा तत्कालीन अवस्थामा पोखरा उपमहानगरमै कार्यरत धनबहादुरलाई विन्ध्यवासिनी संगीत पाठशाला खोलेर त्यसको जिम्मा सुम्पिएको स्मरण गर्छन् । उनले भने, उहाँ सारंगी र मादलका सम्राट् नै हुनुहुन्थ्यो । एकदमै मिलनसार, मुदुभाषी र सामाजिक व्यक्तित्व गायकको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुर्‍याएको छ ।’

गायक विनोद बानिया पनि पोखरामै बसेर पनि लोक संगीत जगेर्ना गर्न धनबहादुरको ठूलो योगदान रहेको सम्झन्छन् । कुशल वाद्यवाधक मात्र नभई कुशल सर्जकको रुपमा गायकलाई आफूले चिन्ने गरको बानियाले बताए । ‘उहाँले कहिल्यै आफ्नो कलामा घमण्ड गर्नुभएन,’ उनले भने,‘ व्याक्तिगत रुपमा पनि कोहीसँग रिसाउनु भएन, जस्ले जहाँ बोलाए पनि सहजै गइदिने उहाँको स्वभाव थियो ।’ चर्चित गीतहरुमा शब्द लेख्ने सर्जकको नाम उच्चारण नगर्ने प्रवृति प्रति भने उनको गुनासो थियो । ‘उहाँले कति राम्रा राम्रा गीत सिर्जना गर्नुभएको छ,’ उनले भने, ‘गायक गायिकाको नाम आउँछ तर सर्जकको नाम आउँदैन, यो कुरामा मलाई दुख लाग्छ ।’ धनबहादुरले सिर्जना गरेको गीतमा सर्जगको नाम उच्चारण भए मात्र पनि गायकको सम्मान हुने बानियाको धारणा छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads