हरेक स्थानीय तहमा दोभाषे आवश्यक

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
Dobhase Photo 1

पोखरा । पोखरामा आइतबारदेखि नेपाली सांकेतिक भाषा र क्षमता (दोभाषे) तालिम सुरु भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सञ्चालित तालिम ४५ दिनसम्म चल्नेछ । तालिममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

प्रदेशमा दोभाषेलाई दक्ष बनाएर बहिराको हकहितमा उपयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवरले प्रदेश सरकार बहिराहरुको लागि सांकेतिक शब्दकोष निर्माणमा लागेको जानकारी दिए । दोभाषे तालिम लिएपछि प्रशिक्षार्थीलाई क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सहभागी गराउन सकिने उनले बताए ।

गण्डकी बहिरा संघका उपाध्यक्ष प्रमिला थकालीले बहिराहरुलाई सञ्चारसँग जोड्न दोभाषे तालिमको आयोजना गरिएको बताइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी अध्यक्ष खोमराज सुवेदीले बहिराको लागि सञ्चार दोभाषेबिना असम्भव रहेको बताए । बहिरालाई सञ्चारको निम्ती बजेट विनियोजन गर्दै दोभाषेको संख्या वृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रदेशका ८५ वटै स्थानीय तहमा दोभाषे राखेर बहिरालाई सहज बनाउनुपर्ने उनको धारणा थियो ।

पोखरा १७, मुस्ताङचोकमा रहेको साइनिङ स्टार होममा आवासीय रुपमा हुने तालिममा सबै श्रवण क्षमता भएका व्यक्ति सहभागी छन् । तालिमको सहयोगी गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय हो ।

Related News

सम्बन्धित समाचार

hero news full width