गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने

२०५२ सालमा ‘पाते’ नामक चलचित्रबाट गुरुङ चलचित्र निर्माण भएको थियो

आदर्श समाज सम्वाददाता
माघ ११, २०७७
gfan-kaski2

पोखरा । गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एसोसिएसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी गराए ।

गुरुङ चलचित्र निर्माण भएको २५ वर्ष पुग्दाको खुसियालीमा आफूहरु अब गुरुङ समुदायमा मात्रै सिमित नरही सिनेमा हल मार्फत आम समुदायमा फैलिने सोचका साथ अगाडि बढेको उनले बताए । भोजबहादुर गुरुङले भने, ‘२५ वर्षको लामो यात्रा तय गर्दा पनि गुरुङ चलचित्रको विकास र विस्तार हुन सकेको छैन । हामीलाई लाग्यो गुरुङ चलचित्र अब समुदायमा मात्रै सिमित रहनुहुँदैन । त्यसैले माघ २३ गतेदेखि नियमित रुपमा शुक्रबार र शनिबार पोखराको मिडटाउन ग्यालरीयामा चलचित्र प्रदर्शन गरिनेछ ।’

उनले सिमित अवधिका लागि मात्र नभई निरन्तर रुपमा प्रदर्शन गर्ने गरी मिडटाउनसँग सम्झौता भएको जानकारी गराएका छन् । गुरुङले पछि देशका सबै हलहरुमा गुरुङ फिल्म प्रदर्शन गर्ने योजनामा जिफान रहेको समेत उल्लेख गरेका छन् ।

उनले नियमित चलचित्र प्रदर्शनले चलचित्र निर्माताले चलचित्रको टिकट बिक्री वितरण गर्दै दर्शकहरुको घर दैलोमा हिँड्नुपर्ने बाध्यता, दर्शकलाई महंगो टिकटमा चलचित्र हेर्नुपर्ने, टिकटमा लागु गरिने भिआइपी र भिभिआइपी प्रणालीका कारण चलचित्रकर्मीहरु र दर्शकहरु बिचको दुरी बढ्दै जानु, चलचित्रहरु व्यवस्थितरुपमा प्रदर्शन नहुनु र चलचित्र प्रदर्शन गर्दा आ—आफ्नो समुदायमा सिमित रहनुपर्ने समस्याको समाधान हुनेमा विश्वास लिएका छन् ।
यसैबीच जिफानले ‘घर दैलोमा टिकट किनेर होइन, चलचित्रहलमा गएर सहयोग गरौं ।’ भन्ने अवधारणालाई अघि सारेको छ ।

जिफानका महासचिव लप्सन गुरुङले माघ २३ गतेबाट २०७८ असारसम्म नियमित रुपमा प्रदर्शन हुने गुरुङ चलचित्रको तालिका सार्वजनिक गरेका छन् । उनका अनुसार माघ २३ र २४ गते तमु फिल्मस् प्रालिको ब्यानरमा जसु गुरुङ निर्देशित चलचित्र ‘कर्म क्याँ’ प्रदर्शन हुनेछ ।

माघ ३० र फागुन १ गते पाईला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित ‘म्हि न्होर्बै ट’ प्रदर्शन हुनेभएको छ । फागुन ७ र ८ गते बेब्स क्रियसन प्रालि ब्यानरमा निर्मित प्रितम गुरुङ निर्देशित ‘रिजे नाशा’ प्रदर्शन गरिने लप्सनले बताए ।

उनले फागुन १४ र १५ गते शुभेच्छा फिल्म प्रालि ब्यानरमा बनेको खुुसबहादुर गुरुङद्वारा निर्देशित ‘सम्बन्धको डोरी’ प्रदर्शन गरिने जानकारी गराए । उनका अनुसार फागनु २१ र २२ गते तमु फिल्मस् प्रालिको ब्यानरमा निर्मित गोरा गुरुङद्वारा निर्देशित ‘सिमि नाशा’ प्रदर्शन गरिनेछ ।

चलचित्र ‘युके सुइटर’ फागुन २८ र २९ गते सार्वजनिक हुनेभएको छ । जसलाई लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्जबहादुर गुरुङले निर्देशन गरेका हुन् । चैतको ६ र ७ गते शुभेच्छा फिल्म प्रालिको ब्यानरमा खुश बहादुर गुरुङ निर्देशित चलचित्र ‘प्रें सोना’ प्रदर्शन हुनेभएको छ ।

चलचित्र ‘स्यु रु’ चैत १३ र १४ गते प्रदर्शन हुनेछ । स्वस्तिक फिल्म प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक सोम गुरुङ हुन् । पाइला फिल्मस् प्रालिको ब्यानरमा माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘तमुस्यो’ चैत २० र २१ गते प्रदर्शन गरिनेछ ।

नृत्य निर्देशक सँगै कोरियोग्राफर समेत रहेका लप्सन गुरुङले चलचित्र ‘सबन मु’ चैत २७ र २८ गते प्रदर्शन गरिने जानकारी गराए । उक्त चलचित्र भकारी इभेन्ट्स प्रालिको ब्यानरमा निर्माण भएको हो । जसका निर्देशक कृष्ण कुमार गुरुङ रहेका छन् ।

२०७८ साल वैशाख ३ र ४ गते माओत्से गुरुङद्वारा निर्देशित ब्रेजमेश्रों फिल्मस् प्रालिबाट निर्मित ‘शिरसुबा’ प्रदर्शन गरिने भएको छ । यस्तै, चलचित्र ‘म्ले क्यु’ वैशाख १० र ११ गते प्रदर्शन हुनेछ । स्टार्स स्टुडियोले निर्माण गरेको चलचित्रमा जसु गुरुङ निर्देशक हुन् ।

लेकाली फिल्म प्रालिको ब्यानरमा गुञ्जबहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘समीङ्ही’ वैशाखको १७ र १८ गते प्रदर्शनमा आउने भएको छ । पाइला फिल्मस् प्रालिको प्रस्तुति माओत्सेतुङ गुरुङद्वारा निर्देशित चलचित्र ‘टुकी’ वैशाख २४ र २५ गते प्रदर्शन हुने जनाइएको छ ।

चलचित्र ‘साली भेना’ शुभेच्छा फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो । राजु गुरुङले निर्देशन गरेको उक्त चलचित्र वैशाख ३१ र जेठ १ गते प्रदर्शनमा आउनेछ ।

माओत्से फिल्मस् प्रालि ब्यानरमा माओत्से गुरुङले निर्देशन गरेको चलचित्र ‘मनको बाबरी’ जेठ ७ र ८ गते प्रदर्शन गरिने भएको छ । जिफानले दिएको समय तालिका अनुसार चलचित्र ‘फुङ’ जेठ १४ र १५ गते प्रदर्शन गरिनेछ । जसलाई बेब्स क्रियसन प्रालिको ब्यानरमा प्रितम गुरुङले निर्देशन गरेका हुन् । चलचित्र ‘ङोल्स्यो माया’ जेठ २१ र २२ गते प्रदर्शनमा आउने भएको छ । शुभेच्छा फिल्म प्रालिको ब्यानरमा बनेको चलचित्रलाई खुश बहादुर गुरुङले निर्देशन गरेका हुन् ।

मुनाल फिल्मस् प्रालिले निर्माण गरेको चलचित्र ‘मैरीमु’ जेठ २८ र २९ गते प्रदर्शन हुनेछ । जसलाई भोजबहादुर गुरुङले निर्देशन गरेका हुन् । हंग्री आई फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको र नौजंग गुरुङद्वारा निर्देशित चलचित्र ‘तिमी नभए’ असार ४ र ५ गते प्रदर्शन गरिने भएको छ । प्रदर्शन गरिने सबै चलचित्रको समय मध्यान्ह १२ बजेदेखि २ बजेसम्मलाई तोकिएको छ । टिकटदर भने मिडटाउनले यसअघि अन्य चलचित्र प्रदर्शनमा लिँदै आएको कायम रहने जानकारी गराइएको छ ।

विसं २०५२ सालमा ‘पाते’ नामक चलचित्रबाट गुरुङ चलचित्र निर्माण भएको थियो । आजसम्म आइपुग्दा १ सय ४४ वटा गुरुङ चलचित्र निर्माण भइसकेको जिफानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । २०६५ सालमा स्थापना गरिएको गुरुङ फिल्म एसोसिएसन नेपालले स्थापनाकालदेखि नै गुरुङ चलचित्र निर्माण र बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width