हिउँ नपर्दा चिन्तामा किसान

रासस
माघ ११, २०७७
manang himal

manang

मनाङ।  यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् ।

हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भन्नुभयो । विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् ।

अन्य ससाना चुचुरा छन् । हिमाली जिल्ला मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । यस वर्ष खास याममा समेत हिमपात भएको छैन । हिमपातमा कमी आउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउनुहुन्छ ।

उहाँका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् । पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउनुहुन्छ । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम बढेको छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा गत पुस २१ मा केही मात्रामा हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म भएको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२ कोतोका किसान विनोद लामाले बताउनुभयो  । उहाँका अनुसार गत वर्ष मङ्सिर २८ देखि नै माथिल्लो र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । “हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ ।

किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन”, उहाँले भन्नुभयो  । हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width