कारागारमै सीप सिकेर उद्यमी

आदर्श समाज सम्वाददाता
माघ १०, २०७७
kaski jail karagar

पोखरा । कसैका हातमा सियो त कोहीका हातमा धागो । कसैले कँैचीले धागो काटिरहेका हुन्छन् । कोही सामानको अन्तिम रुप व्यस्त देखिन्छन् भने कोही सहकर्मीलाई सिकाउँदै । जिल्ला कारागार कास्कीमा कैदी महिलाहरू उत्साहित मुद्रामा केही न केही गरिरहेका भेटिन्छन् ।

कारागारमा सजाय भुक्तान गर्दै गरेकी सरिता (नाम परिर्वन) कैद भुक्तानसँगै सीप सिकेर उद्यमी बन्दैछिन् । उनी भन्छिन्, ‘म आउँदा कारागार खोर जस्तै लागेको, अहिले कारखाना जस्तै लाग्छ ।’ उनी अहिले श्रृंगारका सामान बनाउन खप्पिस छिन् । चुरापोते, टप, जन्तर, रानीहार, मंगलसूत्र, औंठी लगायत महिलाले लगाउने श्रृंगारका सामान बनाउँछिन् । आफूले मात्र बनाउने होइन, अरुलाई सिकाउँछिन् पनि । भन्छिन्, ‘पहिला हल्काफुल्का सिकेकी थिएँ ।आजभोलि राम्रैसँग आउँछ अरुलाई पनि सिकाउन सक्छु ।’

कास्की कारागारमा महिला मात्र होइन, पुरुष पनि सीप सिकेर उद्यमी भएका छन्

सरितामात्रै होइन सविता (नाम परिवर्तन) को पनि कैद भोगाइसँगै जीवन सुधार्ने राम्रो माध्यम बनेको छ–कारागारमा सिकेको सीप । ‘पहिले समय बिताउन मुस्किल हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले दिन काट्न सजिलो भएको छ ।’ उनीहरूको योजना छ–कैद मुक्त भएपछि उद्योग खोल्ने र जीविकोपार्जन गर्ने ।
सविता र सरिताजस्तै कारागारमा सीप सिकेर उद्यमी भएका महिलाले धेरथोर आम्दानी गर्छन् । कमाएको पैसाले खान मन लागेको र लाउन मन लागेको सामान किन्न पुगेको सविता बताउँछिन्् । ‘सुरुमा आउँदा नयाँ लुगा किन्न परे पनि कसरी होला भन्ने हुन्थ्यो । अचेल खल्तीबाट पैसा झिक्यो–किन्यो । साह्रै सजिलो भएको छ,’ उनी भन्छिन् ‘यहाँ पुरुषहरुले घरमा पनि पैसा पठाउँछ भन्छन् तर हामीलाई खर्च गर्न पुगेको छ ।’

कास्की कारागारमा महिलामात्र होइन पुरुष पनि सीप सिकेर उद्यमी भएका छन् । कैदलाई मिहिनेतसँग साटेका उनीहरूको निम्ति भेट्न आएका आफन्तलाई दिने समय पनि हुँदैन । विभिन्न सामाजिक संघसंस्था र सामाजिक व्यक्तित्वको सहयोगमा श्रृंगारको सामान बनाउन सुरु गरेको सरिताले बताइन् । समाजसेवी विष्णु गुरुङले विभिन्न माध्यमबाट आफूहरुलाई सीप सिकाएको र निर्मित सामग्री पनि उनले नै बिक्री गरिदिने गरेको सविताले जानकारी दिइन् । ‘विष्णु दिदीले बाहिरबाट सामान पठाइदिनुहुन्छ,’ उनले भनिन्, ‘सामानसँगै कसरी बनाउने भन्ने सिकाउन भिडियोसहितको पेनड्राइभ पनि सँगै हुन्छ ।’

कैदी महिलाले बनाउने सामानको लागि कच्चापदार्थ उपलब्ध गराउने र निर्मित सामग्री बजारीकरणमा सामाजिक अभियन्ता विष्णु गुरुङ ‘एकता’ ले गर्दै आएकी छिन् । महिलाले जेलजीवन मुक्त भएपछि पनि आत्मनिर्भर भई समाजमा बाच्न सकोस भनेर उनीहरुलाई सहयोग गरेको गुरुङ बताउँछिन् ।
‘मैले उनीहरुलाई आवश्यक सामान बाहिरबाट पठाइदिन्छु । उनीहरु राम्रा–राम्रा सामान बनाएर पठाउँछन्,’ उनी भन्छिन्, ‘बजारीकरणमा सहयोग गरेकी छु । अरु दिदीबहिनीहरुलाई पनि किन्न भन्छु ।’

ती सामान अमेरिका, युके लगायत देशमा निर्यात गर्ने उनको योजना छ । यसको लागि प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिइन् । कारागारका महिलाले १० हजारको कच्चापदार्थबाट २० हजारसम्म कमाउने गरेको उनले सुनाइन् ।

सीप भए कारागारबाट कैदमुक्त भइसकेपछि पनि जीवन निर्वाह गर्न सघाउ पुग्ने कास्की कारागारका प्रमुख जेलर केशव लामिछानेले बताए । ‘कारागार भनेको जेल नभइ सुधारकेन्द्र हो,’ उनी भन्छन् । कास्की कारागारमा हाल ९ सय १८ जना कैदीबन्दी छन् । जसमध्ये ७२ महिला छन् । उनीहरुमध्ये अधिकांशले केही न केही सीप सिकेको लामिछानेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width