छतमै तरकारी फलाएर वर्षमा ८० हजारसम्म बचत

धनबहादुर गुरुङ धनबहादुर गुरुङ
माघ ९, २०७७
Kausi Kheti Photo

पोखरा १, बगरकी ओमकुमारी गुरुङ छतमा तरकारी स्याहार्दै । तस्बिर : आदर्श समाज

पोखरा । मौसम अनुसारका तरकारी । कुनै बेला त बेमौसमी पनि । साँझ/बिहान जुन तरकारी पकाउन मन लाग्यो टिपेर पकाउन पाइने, त्यो पनि आफ्नै छतमा । साग, काउली, बन्दा, गोलभेंडा, लसुन, प्याज, धनियाँ भन्टाका बोटबिरुवाले भरिएको छ पोखरा १७, बिरौटाकी गीता लामिछानेको छत ।

६ जनाको परिवारलाई महिनामा ६ हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ, तरकारीका लागि । लामिछानेले बजारबाट तरकारी किन्न छाडेकै २ वर्ष भयो । बरु घरमा आएका पाहुनाका झोलामा तरकारकीकै कोसेली राखिदिन्छिन् उनी । भन्छिन्, ‘पहिला सानो घर हुँदा पनि छतमा लगाउँथे, अहिले अलि ठूलो घर बनाएपछि त झन् धेरै लगाएकी छु ।’ दिन बिराएर २ बाँटाभन्दा बढी तरकारी टिप्छिन्, उनी । ‘छतको तरकारीले परिवारलाई बिहान बेलुकाका लागि त पुगेकै छ, छरछिमेकी र पाहुनालाई कोसेली दिन पाइएको छ,’ उनले थपिन्

सानैदेखि खेती किसानीमा रमाएकी लामिछानेलाई अहिले पनि बोटबिरुवासँग खेल्न खुब रमाइलो लाग्छ । त्यही रहर मेटाइदिएको छ, कौसीखेतीले । उनी नियमित योग गर्छिन् । हरियाली छाएको छतमा निस्केर योग गर्दा झनै आनन्द आउँछ । छतमा तरकारी मात्र हैन, कागती, आँप, सुन्तलाका बोट पनि छन् । त्यसले झनै आकर्षक बनाएको छ उनको छतलाई ।

पोखरा १, बगरकी ओमकुमारी गुरुङले पनि कौसीमा मौसम अनुसार तरकारी लगाउँछिन् । कौसीमै लगाएको तरकारीले वर्षभरि खान पुगेको बताउने गुरुङले आफूलाई हरतवरबाट फाइदा पुगेको सुनाउँछिन् । ‘मैले छतमा सिजन अनुसार तरकारी लगाउने गरेको छु,’ उनी भन्छिन्, ‘छतमै तरकारी फलेपछि, अर्गानिक तरकारी खान पाएको छु, समय पनि बचेको छ ।’

कोरोना कहरबीच घरबाट बाहिर निस्कन डर भयो । त्यतिबेला छतमा फलेको तरकारीले धेरै सजिलो भएको उनको भनाइ छ । छतमा तरकारी फलाउन धेरैले भान्साबाट निस्कने फोहोर प्रयोग गर्छन् । पुराना बाँटा, बाल्टिन, डब्बा, बोरा तथा प्लास्टिकका सामानमा माटो भरेर फोहरबाट बनेको मल राख्दा राम्रो उत्पादन हुन्छ । बिरौटाकी लामिछाने भन्छिन्, ‘घर निस्केका कुहिने फोहोरलाई एउटा ड्रममा जम्मा गर्छु, कुहिएपछि त्यही मल हुन्छ, यति भएपछि मल किन्न नि जान परेन ।’

कौसीखेती गर्नेहरुलाई पोखरा महानगरले प्रोत्साहन पनि गर्दै आएको छ । तर महानगरको योजनाबारे उनीहरुले भेउसम्म पाएका छैनन् । ‘आफूले गरेर खाने हो, कहाँबाट के सहयोग आउँछ मलाई थाहा छैन,’ बगरकी गुरुङले भनिन् । लामिछानेलाई भने नगरपालिकाले सहयोग गर्छ भन्ने थाहा भए पनि कहाँ गएर कसलाई भन्ने पत्तो छैन ।

पोखरा महानगरले भने कौसीखेती कार्यक्रममा सबैलाई समेट्दै जाने जनाएको छ । महानगर कृषि शाखा प्रमुख मनहर कडरियाले ३ वर्षदेखि यो कार्यक्रम चल्दै आएको बताउँछन् । यो वर्ष पनि ५० प्रतिशत अनुदानमा कौसीखेतीका लागि आवश्यक सामग्री उपलब्ध गराउने उनले जानकारी दिए । ‘महानगरले कौसीखेतीको लागि मात्र ४ लाख बजेट विनियोजन गरेर वडामा पठाइसकेको छ,’ उनले भने, ‘वडा आफैले पनि कौसीखेतीको लागि बजेट छुट्याउने प्रावधान छ, सबै गरेर यो वर्ष १० लाख हाराहारीको काम हुन्छ ।’

महानगरले अहिले सबै वडामा कृषि सञ्जाल गठन गरेको छ । कौसीखेतीका लागि वडाको कृषि सञ्जालमा जानकारी लिन सकिने उनले बताए । कडरियाका अनुसार महानगरको सहरी क्षेत्रका १२ वटा वडामा कौसीखेतीको लागि बजेट छुट्याइएको छ । महानगरको १ देखि ४ सम्म र ६ देखि १० सम्मका वडा १२, १४ र १७ मा यो कार्यक्रम सञ्चालन भएको छ । ‘यीबाहेक अन्य वडाका छतमा पनि कौसीखेती भएका छन्,’ उनले भने, ‘अरु वडालाई पनि बिस्तारै समेट्दै जाने योजनामा छौं ।’
कडरियाका अनुसार महानगरमा दैनिक १ सय टन तरकारी खपत हुन्छ । महानगरमा दैनिक २० टन उत्पादन हुन्छ । बाँकी सबै बाहिरी जिल्ला र भारतमा उत्पादित तरकारीको भर पर्नुपर्ने बाध्यता छ । कौसीखेतीले बाहिरी जिल्लाबाट तरकारी आयातमा कम गराएको कडरियाको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads