मुद्दा छाडेर भाषण नगर्न न्यायाधीशलाई निर्देशन

आदर्श समाज सम्वाददाता
माघ ७, २०७७
chief judge

पोखरा । अदालती प्रक्रियाबारे नागरिक त्यति जानकार हुँदैनन् । सकेसम्म उनीहरुलाई अदालत धाउन नपरे हुन्थ्यो जस्तो लाग्छ । दर्ता भएका मुद्दा कागजात नपुगेका कारण पेसी चढ्न गाह्रो । पेसी चढिहाले पनि कहिले स्थगित हुने, कहिले हेर्दाहेदैमा अड्किने । यसैकारण सर्वसाधारणले अदालतलाई गाली गर्छन् कि न्यायालय नागरिकमैत्री हुन सकेन भनेर ।

यही गुनासो बढिरहेका बेला उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले कार्यालय समयमा मुद्दा हेर्न छाडेर सार्वजनिक कार्यक्रममा नजान उच्च र जिल्लाका न्यायाधीशहरुलाई निर्देशन दिएका छन् ।

पोखरा उच्च अदालत बार एसोसिएसन, कास्की जिल्ला अदालतल बार एसोसिएसनले गरेको स्वागत कार्यक्रममा बुधबार उनले भने, ‘आज पहिलोपटक भएर मुद्दा छाडेर यहाँ आएँ, अब तपाईंहरुले पनि नबोलाउनु होला । नागरिकलाई कुराएर भाषण गर्दै हिँड्नु राम्रो होइन ।’

न्यायाधीश आफ्नो कार्यसम्पादनमा दत्तचित्त हुनुपर्ने भन्दै उनले इन्साफमा तलमाथि गर्ने छुट कसैलाई नभएको भनाइ राखे । उनले भने, ‘तपाईं आफूलाई सम्झेर काम गर्नुस्, परिवार हेर्नुस्, समाज हेर्नुस्, गलत काम गर्दा आफूलाई कति असर पर्छ ख्याल गर्नुस्, यति भए पुग्छ ।’ उनले एउटा अदालतबाट हुने कार्यसम्पादनमा एकरुपता ल्याउने प्रतिबद्धता समेत जनाए ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश किशोर सिलवाल अख्तियार आयुक्तमा नियुक्त भएर राजीनामा दिएपछि पोखरेल यहाँ आएका हुन् । उनी यसअघि उच्च अदालत तुलसीपुरमा थिए ।

कार्यक्रममा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले आफूले अदालतभित्र प्रशासनिक र भौतिक सुधारमा जोड दिएको बताए । अदालत परिसर नागरिकमैत्री बनाउने क्रममा जिल्ला बारसँग सुरुमा केही समस्या देखिएजस्तो भए पनि त्यसलाई सुल्झाएर अगाडि बढेको उनले सुनाए । अदालतले करारका ४ कर्मचारीको करार नवीकरण नगरेको विषयलाई आर्थिक लेनदेनसँग जोडेर मिडियामा खबर आएको भन्दै उनले समाचार सम्प्रेषण गर्दा विश्वसनीयतालाई ख्याल गर्न आग्रह गरे ।

नेपाल बार एसोसिएसन उपाध्यक्ष सुरेन्द्र थापामगरले प्रदेशमा न्याय सम्पादनमा नमुना काम गर्न नवागन्तुक न्यायाधीशहरुलाई शुभकामना दिए ।

न्यायपालिकाको स्वतन्त्रता जोगाउने जिम्मेवारी वकिल र न्यायाधीशमा आएको भन्दै उनले विधिको शासन कार्यान्वयन जिम्मा न्यायमूर्तिमा रहेको बतए । उनले भने, ‘न्यायमूर्तिहरु आग्रह र पूर्वाग्रहबाट जोगिनुपर्छ, स्वतन्त्र निर्भीक र निश्पक्ष भएर काम गरिदिए पुग्छ ।’ न्यायपालिकाभित्रको भ्रष्टाचार अन्त्यका लागि बार र बेञ्च दुवै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । उच्च बारका अध्यक्ष नारायणप्रसाद पौडेलले न्याय सम्पादनका लागि बार र बेञ्चको सहकार्य जरुरी रहेको भन्दै आफू यसका लागि तयार रहेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, कानुन व्यवसायी परिषद पार्षद मुकुन्दराज अर्याल, उच्च बार पोखराका पूर्व अध्यक्ष जगन्नाथ ढकाल, बार केन्द्रीय सदस्य कल्पना भण्डारी, जिल्ला बार अध्यक्ष मुक्तिनाथ सापकोटा, उच्च बारका सचिव सन्तोष अधिकारीले नवागन्तुक न्यायाधीशलाई स्वागत गरे ।

उक्त अवसरमा मुख्य न्यायाधीश पोखरेल, न्यायाधीश नारायण श्रेष्ठ, रमेशप्रसाद राजभण्डारी, जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराई, देवप्रसाद योगी, आनन्दप्रसाद श्रेष्ठलाई स्वागत गरिएको उच्च बारका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width