म्याग्देमा वडा कार्यालय शिलान्यास

आदर्श समाज सम्वाददाता
माघ ७, २०७७
ward office

दमौली । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको झण्डै ४ वर्ष पुग्न लाग्दा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भाडाको घरबाट जनतालाई दिँदै आएको वडा कार्यालय भवन निर्माण हुने भएको हो ।

म्याग्दे ४ थर्पुको सिंगामा नयाँ निर्माण हुन लागेको भवनको बुधबार शिलान्यास गरिएको छ । भवनको शिलान्यासपछि गाँउपालिकाकी अध्यक्ष मायादेवी रानाले गाउँपालिकाभित्र रहेका सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने उद्देश्यसहित अघि बढेको बताइन् । उनले भवन निर्माणपछि वडाबासीलाई सेवा सुविधा पाउन सहज हुने विश्वास व्यक्त गरे । चालु आर्थिक वर्ष यो वडासहित वडा नम्बर ३, ६ र ७ वडामा समेत भवन निर्माण कार्य अघि बढेको उनले बताइन् । सोही बमोजिम वडा नम्बर ४ र ६ को शिलान्यास भएको छ भने ३ र ७ को हुन बाँकी छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले वडा कार्यालयले सानो कोठाबाट सेवा दिन अप्ठेरा परेको बताए । भवन निर्माणपछि कर्मचारी, वडाबासी र जनप्रतिनिधिलाई समेत सहज हुने गाउँपालिका प्रमुख प्रशासकीय अघिकृत नारायणप्रसाद अधिकारीले बताए ।

गाउँपालिकाले प्रमुख प्रशासकीय भवन समेत निर्माण सुरु गरेको छ । भवन निर्माण गर्न १० करोड ३५ लाख ६९ हजार ८ सय ८४ रुपैयाँ लाग्नेछ । चालु आर्थिक वर्षमा ६ करोड ८५ लाख ५० हजार २५ रुपैयाँको काम हुनेछ । आगामी आर्थिक वर्षमा ३ करोड ५० लाख १९ हजार आठ सय ५८ रुपैयाँको काम हुनेछ । चालु वर्षका लागी गाउँपालिकाले भवन निर्माणमा ३ करोड रुपैयाँ छुट्याएको छ । थप रकम जिल्ला समन्वय समिति कोषमार्फत् प्राप्त हुने रकम, आन्तरिक स्रोतमार्फत व्यवस्थापन गरिनेछ । यो वर्षमा प्रोटेक्सन वक्र्स, जमीन मिलाउने, बाटो तयार गर्ने, नाली निर्माण तथा वायोइन्जिनियरिङका काम हुनेछ । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्रे र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width