क्यासल फुटसल कप हुने

आदर्श समाज सम्वाददाता
माघ ६, २०७७
Sports castle newss

पोखरा, ६ माघ ।

उदीयमान खेलाडीलाई लक्षित गरी स्पोर्टस् क्यासल प्रालि, पोखराले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ ।
फाइभ ए साइड सो प्रतियोगिता माघ २४ मा गणेशटोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा हुने पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका प्रतियोगिता संयोजक ईश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनले उदीयमान खेलाडीलाई स्थान दिने उद्देश्यले कोभिड–१९ बीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रतियोगिता आयोजना गर्न लागेको बताए । प्रतियोगितामा व्यावसायिक रुपमा फुटबल खेल्दै आएका खेलाडीले भाग लिन पाउने छैनन् ।

विजेतालाई २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र र उपविजेताले १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ । सान्त्वना टिमलाई जिएच हेयर एण्ड ट्याटु न्यूरोडद्वारा ८ जनाको निशुल्क कपाल काट्ने र बुलडग बार खहरेबाट खानामा २० प्रतिशत छुट व्यवस्था गरिएको छ । सर्वाेत्कृष्ट खेलाडीलाई केल्मीको आधिकारिक बिक्रेता डिलाइट स्पोर्टस्ले केल्मी फुटसल जुत्ता दिनेछ । प्रतियोगितामा करिब ३० टिमले भाग लिने अनुमान छ ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । स्वास्थ्य उपसमिति पद्म फार्मेसीका सञ्चालक बाबुराम पौडेल, क्यासल सञ्चालक विजया गुरुङ संयोजक चुनिएका छन् ।

यस्तै, मैदान तथा खेलाडी व्यवस्थापनमा अनमोल पालिखे छन् भने फुटबल प्रशिक्षकमा विष्णु गुरुङ, अञ्जन देवकोटा, रन्दीप पौडेल, सुमित श्रेष्ठ र सुदीप सुनार, स्वयंसेवकमा देव गुरुङ, आकाश वामे, अर्जुन थकाली लगायतलाई जिम्मा दिइएको छ ।

खाजा तथा पानी व्यवस्थापनमा विकास गुरुङ, शिवप्रसाद गुरुङ, रेम्बो परियार तथा प्रचारमा निकोलस गुरुङ, सुमन गुरुङ र सुशान्त गाहामगर छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width