पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको काममा विपक्षीभन्दा बढी आफ्नै पार्टीबाट आलोचना भएको बताएका छन् । प्रदेश सभाको विशेष अधिवेशनको अन्तिम दिन मंगलबार सदनमा उनले शून्यबाट अघि बढेर धेरै उपलब्धि हासिल गरे पनि केही काम नगरे झैं तर्क आउँदा दुख लागेको सुनाए । ‘स्वास्थ्य क्षेत्रका कर्मचारी आतंकित थिए ।
बिरामीको उपचार गर्नै नपरोस् भन्ने ठान्थे । संघ मातहत चल्ने अस्पतालले हाम्रो निर्देशन पालना गरेन । वहानाबाजी गरेर असहयोग ग¥यो,’ उनले भने, ‘तर मेरो आफ्नै पार्टीबाट विरोध भयो । दुख लागेको छ । हामीले कस्तो पार्टी चलाउँदै छौं ?’ स्वास्थ्यकर्मी र पहिलो लाईनमा खटिएर काम गर्नेहरुले ज्यान हत्केलामा राखेर काम गर्दा समेत आलोचना गर्दा निरुत्साहित बनाएको उनको भनाइ छ ।
धेरै उपलब्धि हासिल गरे पनि केही काम नगरे झैं तर्क आउँदा दुख लागेको मुख्यमन्त्रीको गुनासो
‘ज्यान हत्केलामा राखेर तल्ला तहका कर्मचारीले काम गरे तर आलोचना सँधै भइरह्यो । सरकार गठन भएदेखि केही काम नगरेको जस्तो गरी छलफल आयो,’ उनी भन्छन्, ‘एउटा एम्बुलेन्स पनि नभएको अस्पताल लिएर यहाँसम्म ल्याइपु¥याएका छौं । यो उपलब्धि होइन ? धेरै दुख गर्दा पनि जनताले चाहेजस्तो हुन सकेको छैन । त्यो कमजोरीभन्दा गर्न नसकेको हो ।’ उनले संक्रामक रोग अस्पताल क्षेत्रभित्रै थप १ सय शड्ढयाको अस्पताल भवन निर्माणको काम अघि बढेको बताए । ‘अहिले ५० बेडको अस्पताल बनाउन २६ करोड विनियोजन भइसकेको छ । यो शिलान्यासको क्रममा छ,’ उनले भने, ‘त्यही ठाउँमा प्रदेशस्तरीय ल्याब बनाउछौं । यसका लागि पनि ५ करोड छुट्याइएको छ ।’ गुरुङले भ्याक्सिन भण्डारणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जग्गा उपलब्ध गराउन संघ सरकारसँग स्वीकृति मागेको जानकारी दिए ।
साझा संकल्पबाट कोरोना पराजीत गर्ने उनको विश्वास छ । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारका कार्यक्रम र योजनाबाट हाल वार्षिक रुपमा करिब २६ हजार जनाले १ सय दिनभन्दा बढीको रोजगारी पाएको तथ्यांक सुनाएका छन् । उनका अनुसार स्वास्थ्य, शिक्षा, सहकारी, खेलकुद लगायत कार्यक्रमबाट ६ हजार ८ सय जनाले रोजगारी पाएका छन् भने सडक, पुल, विद्युत, सिँचाइ, भवन लगायत नयाँ निर्माण र मर्मतमा १० हजारले काम पाएका छन् । यस्तै, पर्यटन, उद्योग, वनतर्फ प्रत्यक्ष १ हजार र अप्रत्यक्ष ८ हजार गरी ९ हजार रोजगारी सिर्जना भएको गुरुङको दाबी छ ।
बेरोजगारी अन्त्य गर्नका लागि यही वर्षदेखि व्यवसाय जीवन रक्षा कोष कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । ‘जीवन रक्षा कोषबाट १ अर्ब परिचलान गर्न सकियो भने थप १० अर्ब लगानी बढ्छ,’ उनले भने, ‘रोजगारी त्यही अनुसार थपिन्छ । विकास निर्माणका कामबाट पनि रोजगारी सिर्जना हुन्छ ।’ सरकारको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षसम्म १५ वर्ष वा त्योभन्दा ममाथिका सक्रिय श्रमशक्ति १८ लाख रहेको र त्यसमध्ये ६ लाखभन्दा बढीले प्रदेशमै नियमित आम्दानी रोजगारी पाएका छन् । ४ लाख ५१ हजार वैदेशिक रोजगारीमा रहेको अनुमान छ भने ६ लाख ६४ हजार निर्वाहमुखी कृषि र अन्य व्यवसायमा लागेका छन् । ६० हजार पूर्ण बेरोजगार छन् । हरेक वर्ष ५० हजार नयाँ श्रमशक्ति प्रदेशमा थपिने आँकलन छ ।
‘नयाँ रोजगार सिर्जना गर्न तीनवटै सरकार र निजी क्षेत्रलाई चुनौती छ । बन्दाबन्दीको समयमा पर्यटनवाहेक अन्य क्षेत्र पुरानो लयमा फर्केको छ । पर्यटन क्षेत्र अझै पुरानो लयमा फर्किन सकेको छैन,’ उनले भने, ‘सरकारले बजेटबाट अधिकतम रोजगारी सिर्जना हुने कार्यक्रमलाई जोड दिएको छ ।’ गण्डकी प्रदेशले यो वर्ष ८ हजार २ सय जनालाई व्यावसायिक सीप सिकाउन तालिम सञ्चालन गर्दै छ । उत्पादित जनशक्तिमध्ये ३ हजार विदेश जानेछन्, बाँकी ५ हजारले प्रदेशभित्रै रोजगारी गर्ने विश्वास छ ।
मुख्यमन्त्री गुरुङले मुख्यवृिद्धको नियन्त्रण प्रदेश सरकारले मात्रै गर्न नसक्ने बताए । ‘विदेशी बजारबाट निर्धारित हुने मुल्य बृद्धी रोक्न आफ्नो पहुँच बाहिर छ । हाम्रो बजारमा विदेशी बजारको समेत प्रभाव छ । त्यो रोक्न सकिँदैन,’ उनले थपे । प्रदेश सरकारले यो वर्षभित्र ३७ हजारलाई गरिवीको रेखामुनिबाट उकास्ने घोषणा गरेको थियो । तर कोभिडले काम गर्न नदिएको भन्दै लक्ष्य अर्को वर्षका लागि सारिएको छ ।
अरु देशको ग्राहस्थ उत्पादन नकारात्मक भएको बेला नेपालमा सकारात्मक रहेको गुरुङको भनाइ छ । उनका अनुसार पुस मसान्तसम्म गण्डकी प्रदेशको ५ अर्ब २७ करोड अर्थात १५ प्रतिशत बजेट खर्च भएको छ । अहिले कार्यालय खडा भइसकेको हुनाले बजेट खर्च बढ्ने दाबी गरे । ‘जिल्ला तहमा कार्यान्वयन इकाई बनाएका छौं । यो वर्ष खर्चदर राम्रो हुनेछ,’ गुरुङले भने ।
यसअघि संकल्प प्रस्तावमाथि छलफल गर्दै कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले कोरोना बाजा बजाएरै आउँदा पनि सरकारले त्यसलाई बुझ्न नसकेको बताए । ‘कोरोना बाजा बजाएरै आएको थियो । सरकारले बुझेन । सरकारले केहि पनि गरेको हैन भन्न सक्दैनौं । तर जति ग¥यौं भनेर सरकारले गफ हाँकेको छ, त्यो भएको छैन, उनी भन्छन्, ‘१ सय ९९ जना मृत्यु भएछ । मनदेखि काम गरेको भए यति क्षति व्यहोर्नुपर्ने थिएन ।’ उनले कोभिड नियन्त्रणमा दृढ संकल्पित हुन आग्रह गरे । ‘मृत्यु भएपछि पिसिआर रिपोर्टको के काम ? अव नतिजा आउने गरि काम गरौं । होसियारी हिजोअस्तिको भन्दा राम्रो होस्,’ उनले भने ।
सत्तारुढ सांसद धनन्जय दवाडीले संकल्प प्रस्तावप्रति संकल्पित हुन र त्यसतर्फ दृढ भएर लाग्न सरकारको ध्यानाकर्षण गराए । ‘महाव्याधिका विरुद्ध लड्न, स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न सहमतिका साथ संकल्प प्रस्ताव दर्ता गरेर छलफल भयो । यसलाई जनताको जीवनस्तरमा पु¥याउन सहकार्य र एकता आवश्यक छ,’ उनले भने, ‘संविधानले दिएको मौलिक हक कार्यान्वयन गर्न संसद जिम्मेवार हुनुपर्छ ।’
प्रभा कोइरालाले विगतका महामारीका फेहरिस्त सुनाइन् । सरकारले बजेट विनियोजन गरेर निशुल्क उपचारको व्यवस्था गरेको भन्दै प्रशंसा गरिन् । चन्द्र बुढाले सरकारले केही काम गरिरहेको भन्दै अझै प्रभावकारी व्यवस्थापनको लागि आग्रह गरे ।
मीनप्रसाद गुरुङले विश्वमै कोभिडको नकारात्मक प्रभाव परेका बेला गण्डकी प्रदेशमा राम्रो खोज्नु सान्दर्भिक नहुने टिप्पणी गरे । ‘रोजगारी र विकास निर्माण तथा बजेट कार्यान्वनय, महंगी उत्पादन प्रणालीमा असर गरेको छ । त्यसैले साझा ऐक्यवद्धताका रुपमा यो छलफल गरिरहेका छौं,’ उनले भने, ‘संकल्प प्रस्तावमा कुनै एउटा पक्षको विजय र अर्को पक्षको हार हुँदैन । पास र फेल भन्दा अपनत्व ग्रहण गर्ने कुरा हो ।’ उनले कोभिड साझा समस्या भएकोले साझा रुपमा सामना गर्न सबैलाई सुझाव दिए ।
सांसद गायत्री गुरुङले कोभिडको महसुस आफूलाई लागेपछि मात्रै हुने बताइन् । ‘म बिरामी थिएँ, मलाई कोभिडबारे थाहा भयो । आफूलाई लागेपछि मात्रै कोभिडबारे थाहा हुने रहेछ,’ उनले भनिन्, ‘कोभिड लागेको सामान्य जनताले बेड पाउँदैन थे । राज्यले खर्च गरेको छ, नागरिकले उपचार पाएको छैन । प्रणालीको समस्या भयो । गम्भीर कहिले हुने ?’ उनले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साललाई व्यंग्य गर्दै प्रतिनिधिसभा चुनावमा विजयी हुन शुभकामना दिइन् । लम्सालले आफ्नो ठाउँमा अर्को मन्त्री खोज्न र आफूलाई प्रतिनिधिसभाको टिकट दिन मुख्यमन्त्रीसँग आग्रह गरेका थिए । ‘मन्त्री ज्यूले प्रतिनिधिसभा चुनावमा जान्छु भन्नुभएको छ । ३ वर्ष सहकार्य ग¥यौं,’ उनले भनिन्, ‘यो बेला विदाइ गर्नुपर्दा खल्लो लागेको छ । उहाँलाई अग्रिम बधाई दिन चाहान्छु ।’ गुरुङले संसद विघटनले जनताममाथि कुठराघात गरेको तर्क गरिन् । रोशन गाहाले कोरोनाबाट सबै आतंकित बनेको भन्दै सरकार आफ्नो कामबाट पछि नभागेको स्मरण गराए ।
राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सरकार जनस्वास्थ्यममाथि जिम्मेवार नभएको टिप्पणी गर्छन् । ‘२४ घण्टामा अस्पताल बनाएर नागरिकको उपचार गर्ने देश पनि छन् । स्वास्थ्य उपचारको प्रश्न गम्भीर छ । तर सत्तामा बस्नेहरुले किन कार्यदिशा बनाउन सकेनन् ?,’ उनले भने, ‘सरकारी अस्पताललाई धरासायी बनाएका छौं, मापदण्ड नभएका निजी अस्पताललाई प्रश्रय दिएका छौं । त्यहाँ व्यापारीकरण भएको छ । हिजोका दिनमा केही भएन भनेर उम्किन मिल्दैन । साझा रुपमा जुधौं ।’ थापाले सबै नागरिकको निशुल्क उपचार गराउन सरकार सतर्क रहने विश्वास ब्यक्त गरे । संकल्प प्रस्ताव पास भएसँगै विशेष अधिवेशन पनि अन्त्य भएको छ । यही अधिवेसनमा बेरोजगारी, विकास निर्माण र महंगीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएर छलफल चलाइएको थियो ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
hero news full width
मुख्य समाचार
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७