महामारी पूर्वतयारी रणनीति

आदर्श समाज सम्वाददाता
माघ ६, २०७७
health

पोखरा । पोखरामा स्वास्थ्य आपतकालीन महामारीको पूर्वतयारी तथा प्रतिकार्यको लागि जनचेतनामूलक कार्यक्रम सुरु भएको छ ।

कोभिड–१९ जस्ता महामारी आइलाग्दा नियन्त्रण गर्न भविष्यमा आइपर्ने जोखिमको पूर्वआँकलन गर्न र त्यसबाट सुरक्षित हुन रणनीति तयार गर्न लागिएको हो । कार्यक्रमका सहभागीले जोखिम न्यूनीकरणमा स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी छन् । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण र नेपालजस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सीमित पूर्वाधार भएको मुलुकमा सम्भावित स्वास्थ्य क्षेत्रको जोखिम घटाउनु आवश्यक रहेको उनीहरुले बताए ।

कार्यक्रमका लागि चौधरी फाउन्डेसन, नबिल बैंक र सरकारी निकायका विज्ञहरुले सहजीकरण गरेका थिए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा महामारी रोग नियन्त्रणका लागि चौधरी फाउन्डेसनले सरकार र निजी क्षेत्रसँग हातेमालो गरेर काम गरिरहेको सुनाए । पिपिई, मास्क, भेन्टिलेटर उपकरण उपलब्ध गराएको उनको भनाइ छ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले निजी क्षेत्रसँग साझेदारी गर्न आफूहरु तयार रहेको बताए । ‘सरकार एक्लैले गरेर केही हुँदैन, निजी क्षेत्रले दुख पर्दा साथ दिएकै छ,’ उनले भने, ‘आगामी दिनमा पनि दीर्घकालीन साथ खोजेका छौं । साझेदारीमा विपदविरुद्ध लडौं ।’

महामारी स्वास्थ्य जटिलता न्यूनीकरण गर्ने सरकारी र निजी क्षेत्रको प्रयासलाई एउटै छातामुनि राखेर दीर्घकालीन रणनीति तय गर्ने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गरिएको चौधरी फाउण्डेसन प्रमुख मेरिना रन्जितकारले जानकारी दिइन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पूर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त साझेदारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width