बारपाक सुलिकोटमा कर्मफ्लाइटस्को एक घर, एक धारा

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
karma flight (2)

पोखरा । कर्मफ्लाइटस् फाउन्डेसन नेपालले गोरखाको बारपाक सुलिकोट ३, स्तुलफाँट नयाँ वस्तीमा १८ घरधुरी र १ विद्यालयलाई लक्षित गरि ‘एक घर, एक धारा’ परियोजना सम्पन्न गरेको छ ।

गाउँपालिका अधयक्ष, उपाध्यक्ष सहितको उपस्थितिमा परियोजना हस्तान्तरण गरिएको स्तुतफाँट नयाँवस्ती खानेपानी उपभोक्ता समिति सचिव अर्जुनकुमार गुरुङले बताए ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले गाउँपालिकाले लिएको सवृद्धिको सपनालाई कर्मफ्लाइटस्ले शिक्षा र स्वाथ्यको क्षेत्रमा सहकार्य गरी सहयोग गरेकोमा सो कार्यको प्रशंसा गरे ।

गाउँपालिका, स्थानीय उपभोक्ता समिति र कर्मफ्लाइटस् संस्थाबीच त्रिपक्षीय सम्झौता भई गत आवभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोभिड–१९ का कारण सो परियोजना गत कात्तिकमा सुरु भई निर्धाारित समय अगावै पुस १६ मा सम्पन्न भएको हो ।

सो परियोजनाबाट विद्यालयसहित १८ घरधुरीका करिब २३ जनाले एक घर एक धारा खानेपानी तथा सरसफाइको सुविधा लिएका छन् ।
कलेक्सन तथा फिल्टेरेसन टंकी र ६ घनमिटरको आरभिटीबाट २ वटा खोलामाथि सरपेन्सन क्रसिङ र एक नहरमाथि जिआइक्रसिङ गरी घरघरमा धारा निर्माण गरिएको आयोजनाका वरिष्ठ प्राविधिक राधाकृष्ण कोइरालाले जानकारी दिए ।

फाउन्डेसन र जर्मनीस्थित टुएइड संस्थाको आर्थिक सहकार्य तथा स्थानीय उपभोक्ता समितिको सक्रिय सहभागिता एवं जनश्रमदानमा सम्पन्न परियोजना सहकार्यको राम्रो नमुना भएको र यस परियोजनाले दक्ष जनशक्तिको लागि सीप हस्तान्तरण गर्नुको साथै स्थानीय उपभोक्तामार्फत ३ लाख ५० हजार रुपैयाँ बरावरको रकम समुदायमा भित्रिएको परियोजना सल्लाहकार दुर्गामान गुरुङले बताए ।

परियोजनाको कुल लागत २० लाख १७ हजार रहेकोमा स्थानीय उपभोक्ताबाट ४ लाख ५३ हजार र बाँकी आर्थिक तथा प्राविधिक रुपमा १५ लाख ६४ हजार संस्थाबाट योगदान भएको फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए ।

फाउन्डेसनले स्तूल आधारभूत विद्यालयमा नयाँ कक्षा सञ्चालनको लागि १ लाख ८० हजार रुपैयाँ लागतमा २० थान डेस्क वेञ्च हस्तान्तरण गरेको छ । सो सहयोगप्रति विद्यालय प्रअ लोकराज भण्डारीले आभार प्रकट गरे ।

यस्तै, संस्थाले उलाजुङ आवि ठोट्नेरीमा घेरावारको लागि बाँकी काम सम्पन्न गर्न ५० हजार रुपैयाँ दिएको प्रअ नीलकुमारी सेन्चुरीले बताइन् ।
विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक आइतमान गुरुङले सञ्चालन र शिक्षक विश्राम गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

२०७२ सालको भूकम्पको केन्द्रविन्दु रहेको सो क्षेत्रको पुनर्निमाणमा कर्मफ्लाइटस्ले २ विद्यालयको भवन निर्माण, दुवै विद्यालयमा दिवा खाजा कार्यक्रम सहयोग र वडा ३ का ८ विद्यालयमा एक विद्यालय एक पुस्तकालय व्यवस्थापन तथा विद्यालयका बालबालिकालाई ज्याकेट वितरण गर्नुका साथै वडाको एकमात्र मावि माझथर माविमा आइसिटी कम्प्युटर ल्याबको स्थापनालगायत शैक्षिक सुधारका कार्यक्रममार्फत गाउँपालिकासँग साझेदारी गरेको जनाएको छ ।
कर्मफ्लाइटस् फाउन्डेसन पोखरा तथा विश्वव्यापी प्याराग्लाइडिङ पाइलटहरुको सामाजिक संस्था हो ।

Related News

सम्बन्धित समाचार

hero news full width