पर्यटनसमबन्धी सूचना अब एकै ठाउँमा

आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
tourism-final

पोखरा । नेपाल आउने पर्यटकको सम्पूर्ण विवरण सहितको तथ्यांक तथा सूचना राख्ने गरी ‘एकीकृत पर्यटन तथ्यांक प्रणाली’ को विकास गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त प्रणालीको विकास गर्न लागिएको हो ।

उक्त प्रणालीको बारेमा पहिलोपटक पोखरा पर्यटन व्यवसायी एवम् संघसंस्थासँग राय सुझाव संकलन गरिएको बोर्डका निर्देशक एवं सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म नेपाल आउने पर्यटकको एकीकृत तथ्यांक राख्न सकिएको थिएन, अब उक्त प्रणालीको विकास पश्चात नेपाल आउने पर्यटकको सम्पूर्ण विवरण सहितको तथ्यांक राख्न सकिनेछ, यसलाई प्रभावकारी रुपमा तयार गर्नका लागि पहिलो पटक पोखरामा सरोकारवाला संघसंस्था र पर्यटन व्यवसायीसँग छलफल गरेका छौं ।’

उनले यस प्रणालीबाट नेपाल आउने पर्यटकको बसाइ अवधिदेखि आवश्यक सम्पूर्ण विवरण राख्न सकिने बताए । ‘अहिलेसम्म पर्यटनको एकीकृत तथ्यांक संकलन केन्द्र नहुँदा पर्यटनसँग सम्बन्धी कुनै पनि घटना एवं गतिविधिको तथ्यसहितको विवरण पाउन सकेका छैनौं । यसले धेरैलाई अन्योल समेत बनाएको छ । कहाँ कति पर्यटक आए, कति बसे, को कहाँ घुम्दैछन् भन्ने पनि थाहा छैन, अब डिजिटल प्रणालीको विकाससँगै सहज हुने लामिछानेले बताए ।

उनका अनुसार तथ्यांक प्रणालीको विकाससँगै अहिले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्रले भोग्नु परेको समस्या, लगानी, नोक्सान र वास्तविक श्रमिकहरुको तथ्यांक समेत सोही प्राणालीबाट निकाल्न सकिने छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपाल सरकारले ढिलै भएपनि डिजिटल प्रविधिको प्रयोग गर्दै तयार गर्न लागेको एकीकृत सूचना प्रणाली पर्यटन क्षेत्रको लागि निकै स्वागत योग्य भएको बताए ।

‘सरकारले ढिलै भएपनि राम्रो कुराको विकासमा पहल गरेको छ । यो पर्यटन क्षेत्रको लागि खुसीको कुरा हो,’ उनले भने । ‘एकीकृत तथ्यांकको अभावमा यस क्षेत्रको सही सूचना र तथ्यांक आउन सकेको छैन, यस प्रणालीको विकाससँग अब आउने दिनमा एकीकृत रुपमा सहि तथ्यांक आउने छ ।’ उनले यस प्रणालीबाट कुन देशको कति पर्यटक आए, कहाँ कहाँ गए भन्ने विवरणसहित पर्यटन क्षेत्रका रोजगारदाता, श्रमिक र यस क्षेत्रको लगानीको बारेमा समेत एकीकृत सूचना आउने बताए । ‘सूचना प्रणाली निर्माण पूर्व पर्यटन सम्बद्ध संघ संस्था र व्यवसायीसँग राय सुझाव मागिएको छ, हामीले आफ्नो क्षेत्रबाट सुझाव दिएका छौ । विशेष गरी पर्यटकले विवरण होटलको फ्रन्ट डेस्कमै बुझाउनु पर्ने भएकाले फ्रन्ट डेस्कका म्यानेजर, सिइओलाई पनि यस विषयमा विशेष प्रशिक्षण दिन जरुरी छ ।’ भट्टराईले यस प्रणालीमार्फत् नेपालको विभिन्न क्षेत्रमा पुगेका पर्यटकको अवस्थादेखि कुनै पनि समस्या परेको बेला उद्धार गर्न समेत सहज हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटक बोर्डका कार्यकारी समिति सदस्य विप्लव पौडेलले एकीकृत पर्यटन तथ्यांक प्रणाली मार्फत् आधिकारिक र सही तथ्यांक प्रेसित हुने बताए । ‘यस प्रणालीको निर्माण पश्चात् यस क्षेत्रको सम्पूर्ण कुरा आधिकारी अभिलेख हुनेछन् कोही कसैले अनुमानको भरमा बोल्नु पर्दैन,’ पौडलले भने ।

उनले पर्यटन मन्त्रालय र बोर्डले एकीकृत तथ्यांक प्रणालीको गृहकार्यका लागि पहिलो पटक पोखरामा सरोकारवालासँग संघसंस्था र व्यवसायी बीच राय सुझावसहित प्रशिक्षण समेत दिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width