चर्काे आलोचनापछि  मन्त्री निस्के बजार  अनुगमनमा

श्रीभद्र पौडेल
माघ ५, २०७७
bajar anugaman

हेमजा । जनता समाजवादी पार्टीका सांसद हशिरण आचार्यले गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा पुस २८ गते मूल्यबृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे । कोभिडपछिका दिनहरुमा १ सय २५ प्रतिशतसम्म मूल्य बृद्धि भएको तथ्यांक पेस गरिरहँदा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले भने प्रतिपक्षी दलका सांसदले मिथ्या आरोप लगाएको भन्दै टारे । उनले भने, ‘तर सांसदहरुले भनेजस्तो मूल्य बढेको छैन । मूल्यबृद्धि नियन्त्रण गर्न सरकारले धेरै काम गरेको छ । हामीले गरेका कामको प्रचार गर्न सकेका छैनौं ।’

तर बजारको अवस्था उनले भनेजस्तो छैन । बजार भाउ आकासिएको छ । उपभोक्ता मारमा परेकै छन् । मन्त्रीले वर्षदिन पुरानो तथ्यांकमा टेकेर संसदमै झुटो बोलेपछि उनको आलोचना उस्तै चुलिएको छ । यहि आलोचना चिर्न मन्त्री लम्साल आइतबार बजार अनुगमनमा निस्केका छन् । खाने तेल, अन्डा, निर्माण सामग्रीका पसलहरुमा उनी पुगे र बजार भाउ बुझे ।

मन्त्री लम्सालसहितको टोलीले केएल दुगड ग्रुप र नारायणी आयल रिफाइनरी उद्योगको पोखरास्थित बिक्री केन्द्रमा पुगेर जानकारी बटुल्यो । आदर्श स्टोर्स मालेपाटन र नमस्ते हाडवेयर जिरो किलोमिटरमा अनुगमन गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यले बताए ।

मन्त्री लम्सालले मूल्यवृद्धिबारे प्रदेश सभाको बैठक र सञ्चार माध्यममा कुरा उठेपछि आफै अनुगमनमा निस्केको बताए । ‘मन्त्री ज्यू बजार भाउ बुझ्न जानुप¥यो, जनता महंगीकोे मारमा परे भन्ने धेरै नै गुनासो आयो, त्यसैले म आफै अनुगमनमा निस्केको हो,’ उनले भने । सडक र सदनमा आवाज उठेजस्तो बजार असन्तुलित नरहेको उनले दाबी गरे । ‘नियमित बजार अनुगमन भइरहेकै छ, कोभिडको बहाना बनाइ व्यवसायीले मूल्य बढाइएको भन्ने गुनासो पनि राम्रै थियो, तर अनुगमनका क्रममा त्यस्तो पाइएन,’ उनले भने ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले खाने तेल, अन्डा र निर्माणजन्य सामग्रीको मूल्य बृद्घि भएको भेटिएको बताए । उनका अनुसार अनुगमनका क्रममा व्यवसायीहरुलाई आफू खुसी मूल्य निर्धारण नगर्न, दैनिक सार्वजनिक रुपमा मूल्यसूची टाँस गर्न, नापतौलका सामग्री चुस्तदुरुस्त राख्न निर्देशन पनि दिइएको छ ।
अनुगनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको प्रदेश वजार अनुगमन टोली संयोजक नारायण आचार्य, गुणस्तर तथा नापतौल कार्यालय गण्डकी÷धौलागिरीका प्रमुख तीलक केसी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा प्रमुख शिवजी बरालसमेत सहभागी थिए ।
यसअघि गरिएको अनुगमनका क्रममा प्रशोधित पिउने पानीमा कोलिफर्म भेटिएपछि पोखरा–१८, भकुन्डेस्थित नेपा मिनरल वाटर प्रालि र न्यून गुणस्तरीय चाउचाउ उत्पादन गरेको भन्दै पोखरा नुडल्स प्रालिविरुद्घ जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको निर्देशक आचार्यले बताए । बजार अनुगमनलाई तीब्र पारी अस्वभाविक मूल्य बृद्घि रोकेरै छाड्ने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width