गण्डकी प्रदेश सभा : संकल्प साझा, मत फरक

प्रकाश ढकाल
माघ ५, २०७७
krishna chandra nepali

कृष्णचन्द्र नेपाली

पाेखरा । गण्डकी प्रदेशसभामा आइतबारदेखि संकल्प प्रश्तावमाथि छलफल सुरु भएको छ । कोरोना भाइरस जोखिम आँकलन र त्यसको न्युनिकरणका लागि थप बल पुर्‍याउन संकल्प प्रश्ताव दर्ता गरिएको हो ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड रोकथाम सहित ४ बुँदे माग राखेर विशेष अधिवेसन बोलाउन आग्रह गरेपछि पुस २१ देखि विशेष अधिवेसन चलाईएको हो । बेरोजगारी समस्या, महंगी र विकास निर्माणको विषयमा दुई पार्टीले जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेर छलफल चलाईयो । तर कोभिड सम्बन्धि संकल्प प्रश्तावलाई भने सत्तारुढ र प्रतिपक्षीको साझा बनाईएको छ ।

यद्यपि छलफलका क्रममा दुवै पक्षले आफ्नै जिकिर सुनाईरहेका छन् । सत्तारुढ सांसदहरुले सरकारको गुनगान गाए भने प्रतिपक्षीले सरकारलाई खुईल्याउने गरी तर्क अघि सारे ।

विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले १३ बुँदे संकल्प प्रश्ताव आइतबार संसदमा प्रश्तुत गरेका छन् । आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएपनि विपन्न र असहाय नागरिकले परीक्षण र उपचार नपाएर मृत्युवरण गर्न बाध्य भएको उनले बताए । निजी अस्पतालमा बाध्यतावस उपचार गराएकाहरुले तिर्नुपरेको अस्वभाविक शुल्कले रोगले भन्दा बढी आहात थपेको भन्दै उनले संकटको घडीमा नागरिकले सरकारको अनुभुति गर्न नपाएको बताए ।

‘महंगी र वेरोजगारी बढेको छ । जनसरोकारको मुद्धालाई सम्बोधन गर्न सरकार असफल भैसकेको छ । बजेट कार्यान्वयन अत्यन्त निराशाजनक छ,’ उनले भने, ‘कोभिडको कहरपछि गण्डकी सरकारको भुमिका गैरजिम्मेवार पूर्ण मात्र होईन, चरम असंवेदनशील छ । नागरिकलाई राज्यविहिनताको अनुभुति बढाएको छ ।’

मन्त्री नरदेवी पुनले सरकारले हालसम्म गरेका कामको फेहरिस्थ सुनाईन् । विभिन्न अस्पताललाई कोभिड अस्पताल बनाउने र उपचारका लागि नियमित आवश्यक उपकरण थप गर्दै गएको उनको भनाई छ । क्वारेन्टाइनको व्यवस्थापन स्थानीय तहले गरेको र खर्च प्रदेश सरकारले व्यहोरेको मन्त्री पुनको भनाई छ । उनका अनुसार अहिलेसम्म १ हजार ४ सय १३ बेडको ४० आइसोलेसन केन्द्र स्थापना गरिएको र थप १ सय ६७ एचडियू बनाउन उपकरण खरिद भैसकेको छ । कोरोना उपचार र व्यवस्थापनका लागि प्रदेश सरकारले छुट्टै कोष खडा गरेको थियो । कोषमा हालसम्म ३४ करोड ७८ लाख जम्मा भएको र त्यसबाट हालसम्म २७ करोड ८ लाख खर्च भएको छ । यसबाहेक सरकारले आफ्नै बजेटबाट पनि खर्च गरेको छ ।

प्रदेशभित्रका १ लाख २४ हजार ५० जनाको स्वाब परीक्षण भैसकेको छ । ‘संक्रमण दर घट्दै गएको छ । लक्षण नदेखिँदासम्म स्वाब नलिने सरकारको नीति छ । सोही कारण पीसीआर कम भएको हो,’ मन्त्री पुनले भनिन्, ‘तर हाम्रो तयारी घटेको छैन । आवश्यक्ता अनुसार उपकरण थपिरहेका छौं । पाईपलाईन विस्तार भैरहेको छ ।’ उनले सरकार थप काममा निरन्तर जुटिरहेको बताईन् ।

सांसद मायानाथ अधिकारीले महत्वपूर्ण विषयहरुमा सबै एकठाउँमा भएको सन्देश गएको बताए । ‘बाहिर मत मतान्तर छ । त्यसैले फरक दल छौं । तर महत्वपूर्ण विषयमा सहमतिबाट अघि बढ्ने परम्परा छ,’ उनले भने, ‘कोभिडजस्तो सबैको दुष्मनका विरुद्ध एकजुट भएका छौं । सरकारलाई थप प्रभावकारी काम गर्न सहयोग पुग्छ । संकल्प प्रश्तावमा नेकपाको समर्थन छ ।’

सांसद दीपा रोका संघ सरकारको व्यवस्थापकीय दक्षता नहुँदा कोभिड नियन्त्रणमा आउन नसकेको बताउँछिन् । ‘कोभिड नियन्त्रण संघ सरकारको मुख्य दायित्व हो । संघले ढिलासुस्ती ग¥यो । त्यसको असर प्रदेशमा देखिएको हो,’ उनले भनिन् । उनले संसद समाजको दर्पण भएकोले संकटका बेला बोल्नुपर्ने बताईन् । ‘नागरिकलाई सहानुभुति चाहिएको छ । यो सदन समाजको दर्पण हो र राजनीतिज्ञ भनेको भरोसा निर्माण गर्ने पात्र हो,’ उनले थपिन्, ‘संकटको बेलामा यो सदन बोल्नुपर्छ । आवश्यक्ताको पहिचान र समस्याको निकासका लागि सरकारले उपलब्ध श्रोत र साधनको व्यवस्थापन गर्‍यो । यो भैपरी विरुद्ध जुध्न आफैमा पूर्ण थिएन । जे भयो राम्रो काम भयो । तर हिजोको प्रशासनिक संरचनाका कारण सोचेजति हुन सकेन ।’ सांसद रोकाले सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरु जिम्मेवार नहुँदा थप समस्या देखिएको सुनाईन् । ‘गुनासो आउँछ, सरकारी अस्पतालमा विरामीको उपचार राम्रो भएन । डाक्टरहरु विरामीलाई छुन डराउँछन् । तर निजी अस्पतालमा विरामी नजिक पुगेर डाक्टरले उपचार गर्छन्,’ उनले प्रश्न गर्दै भनिन्, ‘किन यस्तो हुन्छ ? सरकारी जागिर भन्दा मान्छे हुरुक्कै हुन्छन् । पावर र पहुँच लगाएर जागिर खान्छन् तर सेवा दिन नसक्ने ? यसको अन्त्य कहिले हुन्छ ?’

नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले कोरोनाको फेरिएको स्वरुप नेपालमा आउन सक्ने भन्दै अहिले नै सचेत रहन सरकारको ध्यानाकर्षण गराए । ‘पूरानो जस्तै नयाँ कोरोना भित्रिने अवस्था छ । नयाँ योजना र नीति सरकारसँग के छ ?,’ उनले भने, ‘मन्त्री ज्यूको बक्तब्यमा त्यसको प्रष्ट योजना आएको छैन । अहिले नै भविष्यको समस्या आँकलन गरेर व्यवस्थापनमा लागौं ।’ पहिले कांग्रेसले यही अवस्था रोक्नका लागि संकल्प प्रश्ताव ल्याएकोमा सरकार पक्षले त्यसलाई अस्विकृत गर्नु राजनीतिक पक्षपात भएको तर्क गरे । ‘पहिले संकल्प प्रश्ताव दर्ता गर्दा सरकारले सबैतिर परीक्षण बढाउछौं भनेको थियो । संकल्प प्रश्ताव फेल भयो,’ उनले भने, ‘अहिले परीक्षण खै ? परीक्षण नगर्ने अनि संक्रमित छैन भनेर बस्न मिल्छ ? परीक्षण नभएर कोरोना नदेखिएको हो । जनतालाई झुक्याउने काम नगरौं, जनता बाठो भैसके ।’

सत्तारुढ सांसद चन्द्रमोहन गौचन विशेष अधिवेसनमा राजनीतिक आरोपप्रत्यारोप प्रति सन्तुष्ट छैनन् । ‘विशेष अधिवेसनमा राष्ट्रिय राजनीति माथी तुस पोख्न लाग्यौं । जनताको उपचार कसरी गर्ने भनेर छलफल हुनुपर्ने ठाउँमा आरोप प्रत्यारोप चलिरहेको छ,’ उनले भने, ‘जे भैरहेको छ, यो गलत भैरहेको छ ।’ तर उनले पनि राजनीतिक छलफल भने छोडेनन् र भने, ‘निर्वाचनका लागि बाटो खुला गर्नु अप्रजातान्त्रिक हो ? अलोकतान्त्रिक हो ? असंबैधानिक हो ?’ उनले श्रोत र जनशक्तिको अभावकै बीचबाट सरकारले संयमताका साथ सरकारले व्यवस्थित गरेको जिकिर सुनाए ।

राजीव पहारीले नेपाल सरकार र गण्डकी सरकारले श्रोत र साधन पूर्ण परिचालन गरेर क्षमता अनुसार काम गरेको भन्दै प्रशंसा सुनाए ।

‘८ महिनामा सेतीमा धेरै पानी वगिसक्यो । कोरोना भाइरसका कारण विश्वकै नविन आविष्कार फेल खाईरहेको छ । विश्व नै हायलकायल भयो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा र गण्डकी सरकारमा मुख्यमन्त्रीले आफ्नै जीवन हत्केलामा राखेर जनताको रक्षाका लागि काम गर्नुभयो । रोग र भोकले मर्न नपरोस् भनेर श्रोत परिचालन गर्नुभयो ।’ उनले कोरोना संक्रमणको दर तीब्र गतिमा घटेको बताए ।

‘एकजना महिलामा कोरोना लाग्दा डाँडामा बसेर कोरोना आयो भने । प्रदेशमा खत्तम हुने भयो । कोरोना लागे अस्पतालको मुख नै नदेखि जनता मर्ने भए, मरेपछि लाश गाड्ने ठाउँ नपाईने भयो भनेर विस्कुन छर्ने र गीत गाउने, बाजा बजाउने र शंक फुक्ने काम गरे,’ उनले भने, ‘त्यस्तो बेलामा अत्यन्तै धैर्यता र संयमताका साथ कोभिड १९ विरुद्धको लडाईमा मुख्यमन्त्रीले सीमा नाकालाई संघभन्दा पहिले कडाई गर्ने । संक्रमितलाई भेट्न आफै पुग्नुभयो । अहिले संक्रमणको दर दिन दुईगुना र रात चौगुना घट्दै गैरहेको छ ।’

सांसद सरिता गुरुङले संकल्प प्रश्तावबाट गण्डकीका २४ लाख जनताले राहत पाउने विश्वास व्यक्त गरिन् । ‘कांग्रेसले जिम्मेवार प्रतिपक्षको हिसावले पटक पटक कोरोना उपचार र नियन्त्रणका लागि सदनमा उठाएको थियो । जनताको समस्या समाधान गर्ने थलो सदन हो,’ उनले भनिन्, ‘लकडाउनका बेला पनि सरकारलाई सल्लाह र सुझाव दियो । तर सकारले ढिलासुस्ती गर्‍यो ।’ उनले केन्द्र सरकारको तुलनामा गण्डकी सरकारको सकारात्मक सूचक बढी थियो । ‘सरकारले जति गर्छु भनेर घोषणा गर्‍यो, कार्यान्वयन भएन । त्यसैका कारण हाम्रा नागरिकले अकालमा ज्यान गुमाउनुपर्‍यो,’ उनले थपिन् ।

विनोद केसीले सरकारले श्रोत साधन अनुसार तयारी गर्न नसकेको बताए । उनले विदेशमा जस्तो भयानक अवस्था नेपालमा नभएको तर्क गरे । ‘कोरोनाको सन्दर्भमा डोरीलाई सर्पजस्तो देख्यौं । धेरै डराएर कोठामै थुनियौं । कोठामा थुनिँदा बरु बढी संकट थपियो,’ उनले भने । महामारी विरुद्ध प्रदेशका सबै शक्तिले साझा रुपमा छलफल थाल्नु सकारात्मक सन्देश भएको उनको भनाई छ ।

डोवाटे विश्वकर्मा सरकार प्रचारमा मात्रै रमाएको बताउँछन् । ‘सरकारी अस्पताल खोलेको भनेको छ । तर उपकरण र उपचार भएन,’ उनले भने, ‘उपचार नहुने अस्पताल खोलेर त्यसले जनतालाई सुविधा हुँदैन । सरकार गम्भिर हुनुपर्छ ।’ उनले कोरोनाको परीक्षण र उपचारमा चासो झन् घट्दै गएको बताए ।

पुष्पा केसी भण्डारी लकडाउन गरेर सन्चित सामग्री, श्रोत र साधनबाट जनजीवन सुचारु राख्नु सरकारको लागि निकै पीडादायी भएको भन्दै सरकारले स्मरणीय काम गरेको सुनाईन् ।

मोहन रेग्मीले संकल्प प्रश्तावमा पेश भएका बुँदाहरु कार्यान्वयनका लागि संसदमा भएको छलफलले सरकारलाई सहज बनाउने बताए । पहिलेको संकल्प प्रश्ताव एउटा राजनीतिक दलले सर्वदलीय छलफल नगरी ल्याएको कारण असफल भएको भन्दै अहिले सबैको मतबाट पारित गर्ने र कार्यान्वयनमा जुट्ने बताए । मेखलाल श्रेष्ठले कांग्रेसले सँधै जनतालाई पृष्ठभूमीमा राखेर आवाज उठाएको भन्दै संकल्प प्रश्ताव जनपक्षीय भएको दावी पेश गरे ।

दीपक चर्ति मगर सरकारको दक्षता अनुसार भाइरस नियन्त्रणमा सफल भएको बताए । विष्णु लामिछानेले जनताको पक्षमा संयुक्त प्रश्ताव ल्याएको बताए । पियारी थापाले कोरोना नियन्त्रणमा सरकारको कार्यशैली अत्यन्तै कमजोर रहेको तर्क गरिन् । सांसद मीना गुरुङ समिति गठन देखि कोष खडा गर्ने काम सकारात्मक रुपमा लिनुपर्ने बताउँछिन् । रोग अचानक आएकोले गर्दै सिक्ने अवस्थामा सरकार रहेको उनले बताईन् ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width