सिद्धि–सेतुली, सानिमा स्मृति पुरस्कार हीरा र प्रमिलालाई

आदर्श समाज सम्वाददाता
माघ ४, २०७७
hira pramila

पोखरा  । ‘सिद्धि¬–सेतुली स्मृति पुरस्कार–२०७७’ बाट हस्तकला उद्यमी तथा महिला सशक्तीकरणकी अभियन्ता हीरा भट्टराई सम्मानित हुने भएकी छन् । साथै ‘सानिमा स्मृति पुरस्कार’ बाट सिर्जना बहिरा आवासीय माविकी शिक्षक प्रमिला थकालीलाई सम्मान गरिने भएको छ ।

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराद्वारा सञ्चालित दुवै पुरस्कारको राशि १५÷१५ हजार रुपैयाँ र सम्मानपत्र छ । पुरस्कार राशि यस वर्ष ५ हजार बढाइएको हो । प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको छ । संस्थाको सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले उक्त पुरस्कारद्वारा यस वर्ष हीरा भट्टराई र प्रमिला थकालीलाई सम्मान गर्न सिफारिस गरेको थियो ।

आमा सेतुलीमाया शाक्यको २०६३ माघ ७ गते निधन भएको थियो । उनको वार्षिक पुण्यतिथिमा २०६४ माघ ७ मा उनको परिवारले आमाको स्मृतिमा अक्षयकोष राखी पुरस्कार स्थापना गरेको थियो ।

सानिमाको २०७४ माघ ४ गते निधन भएको थियो । ‘सानिमा स्मृति पुरस्कार तथा सम्मान’ का लागि संस्थाका संस्थापक विश्वरत्न शाक्यको परिवारजनले ५ लाखको अक्षयकोष स्थापना गरेको थियो । आमा सेतुलीमाया शाक्यको १४ औं पुण्यतिथि तथा ‘सानिमा’ को पुण्य स्मृतिमा माघ ७ गते पुरस्कार वितरण कार्यक्रम रहेको संस्थाका सचिव इन्द्रकमल मानन्धरले जानकारी दिइन् ।

सिद्धि–सेतुली स्मृति पुरस्कार प्राप्त हीरा भट्टराई हस्तकला उद्यमी तथा महिला सशक्तीकरणकी अभियन्ता हुन् । उनी विभिन्न संघसंस्थामा आवद्ध छन् । सानिमा स्मृति पुरस्कार प्राप्त प्रमिला थकाली शिक्षिका हुन् । अपांगता भएकी थकाली अपांगताको हकहितका लागि विभिन्न संघसंस्थामा आवद्ध छन् ।

सिद्धि–सेतुली स्मृति पुरस्कारबाट यसअघि क्रमशः यशोदा राजभण्डारी, लक्की क्षत्री, जैनव खातुन, मीना गुरुङ, रामकली खड्का सम्मानित भइसकेका छन् । सानिमा स्मृति पुरस्कारबाट हेम गुरुङ सम्मानित भएका हुन् । अपांगता भएकी सानिमाको स्मृतिमा स्थापित कोषबाट लेखनाथ अर्घाै स्मृति सिर्जना बहिरा माविका २५ जना छात्रछात्रालाई बर्सेनि शैक्षिक सामग्री प्रदान गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width