दक्ष जनशक्तिको अभावमा चलेन आइसियु

आदर्श समाज सम्वाददाता
माघ २, २०७७
Lamjung-district-community-hospital

लमजुङ । गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ ।

गत मंसिरमा स्थापना गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो ।

गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शड्ढयाको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको दुई महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पतालका हेमन्त श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनशक्तिको अभावले सघन उपचार कक्ष सञ्चालनमा आउन नसक्दा कोभिडका बिरामी मर्कामा परेका छन् ।” प्रदेश सरकारको रु एक करोड ६९ लाख आर्थिक सहयोगमा आवश्यक मेशिन खरिद गरे पनि भेन्टिलेटरसहितको सघन उपचार कक्ष दक्ष जनशक्ति तथा आवश्यक चिकित्सकको अभावमा सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “दुई वटा भेन्टिलेटर बल्बल्ल जोड्याँै तर सघन उपचार कक्ष जोड्ने र सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न ढिलाइ भइरहेको छ ।” हामीले प्रदेश सरकारलाई समेत जानकारी गराउँदै आवश्यक जनशक्ति माग गरिए पनि प्रदेशबाट केही सुनुवाइ हुन नसक्दा सघन उपचार कक्ष सञ्चालन अन्योलमा रहेको उहाँको भनाइ छ । अस्पताल प्रमुख श्रेष्ठका अनुसार भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनका लागि फिजिसियन चिकित्सक, एनेस्थोसियोलोजिस्ट, तालिम प्राप्त आठ÷नौ जना नर्सको आवश्यकता पर्छ । ती जनशक्ति अस्पतालमा छैनन् ।

सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या छ । अस्पतालमा कार्यरत डा र नर्सले सघन उपचार कक्ष सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । त्यति मात्र नभई अस्पतालमा रहेका चिकित्सक तथा नर्ससमेत सघन उपचार कक्षका लागि खटाउनुपरेमा अन्य बिरामीका लागि डाक्टरको कमी हुने अस्पताल प्रमुख श्रेष्ठले भन्नुभयो । सघन उपचार कक्ष सञ्चालनमा नआउँदा जटिल खालका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । जिल्लाका कोभिड संक्रमित बिरामी सघन उपचार कक्षको अभावमा बाहिर गएर उपचार गर्न बाध्य भइरहेका छन् । बाहिर गएर उपचार गर्नुपर्दा आर्थिकरुपमा समेत निकै भार ब्योहोरेको उनीहरुको भनाइ छ ।

यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अस्पतालमा जतिसक्दो चाँडो सघन उपचार कक्ष सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताउनुभयो । सघन उपचार कक्षका लागि आवश्यक पर्ने जनशक्तिदेखि स्वास्थ्य क्षेत्रकै विषयमा गम्भीर रहेकाले केही समयमै आइसियु कक्ष सञ्चालनमा आउने उहाँको विश्वास छ ।

नेपाल सरकारको स्वामित्वमा विसं २०५८ मा १५ श्ययाबाट शुरु भएको यस जिल्ला अस्पताल हाल ६० शय्याको छ । त्यस्तै सङ्घीय सरकार आएपछि गत वर्षदेखि प्रदेश सरकारको मातहतमा रहेको यस अस्पतालको आकस्मिक भवनमा १५ शय्याको आइसोलेशन निर्माण गरिएको छ । हालसम्म यस आइसोलेशनमा ४५० जना कोरोना संक्रमित बिरामीले उपचार गरिसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जना वृद्धको भने यहाँ मृत्यु भएको थियो । हाल यहाँको आइसोलेशनमा दुई जना कोरोना संक्रमित पुरुषले उपचार गराइरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

जिल्लामा हालसम्म ८५० जना कोरोना संक्रमितको सङ्ख्या पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । कोरोना संक्रमणबाट हालसम्म एक महिला र छ पुरुष गरी सात जनाको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यतिबेला चिसोका बिरामी बढेको अस्पतालले जनाएको छ । निमोनिय, रुघाखोकी, पेटसम्बन्धी, लडेर आउने बिरामी दैनिक १०० देखि १५० सम्म आउने गरेका छन् । यस आर्थिक वर्षको चौमासिकसम्म १० हजार बिरामीले अस्पतालबाट सेवा लिइसकेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

गत वर्ष ५५ हजारलाई सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरामीले यस अस्पतालमा सेवा लिन आउने गरेका छन् । जनक श्रेष्ठ/रासस

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width