पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कामदार नहुँदा निर्माण प्रभावित

prakash dhakal प्रकाश ढकाल
माघ २, २०७७
Pokhara intl Airport

फाइल तस्बिर : टाेपबहादुर विक

पोखरा । तोकिएकै समयमा काम हुने हो भने अबको ६ महिनाभित्रै पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । विमानस्थल निर्माणको हालसम्म ७० प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ ।

यो प्रगति तोकिएको भन्दा २ प्रतिशत कम हो । तैपनि जुन महिनाभित्रै काम सक्ने आयोजनाको दाबी छ । विमानस्थलको मुख्य काम चिनियाँ कामदारले गरिरहेका छन् । कोरोना त्रासका कारण घर गएका सबैजसो कामदार चीनमै रोकिएका छन् । चिनियाँ कामदार र विमानस्थलका लागि आवश्यक सामान नआउँदा समयमा काम सकिन समस्या हुने नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए । ‘चिनियाँ कामदार केहि साताभित्रै आइपुगे भने खासै असर नगर्ला । नत्र अवधि थपिन सक्छ,’ उनले भने, ‘हाम्रो काम चीनसँग मात्रै डिपेन्ड छैन । युरोप र अमेरिकाबाट पनि सामान आउनुपर्छ ।’ उनका अनुसार बढीमा ६ महिना म्याद थप हुन सक्छ ।

विमानस्थलमा चीनका १ सय ५० र थप १ सय ८० नेपाली कामदारले काम गरिरहेका छन् । रनवे, ट्याक्सी वे, एप्रोन, पार्किङ, ह्यांगर, भित्री पेरिफेरि सडक लगायत काम पूरा भइसकेका छन् । विमानस्थलमा टर्मिनल, टावर, ह्यांगर लगायत १४ वटा भवन बनाइएको छ । सरकारी केही काम रोकिएका कारण विमानस्थलसँग सम्बन्धित निर्माणमा असर परेको बताउँछन्, आयोजना प्रमुख विनेश मुनकर्मी । तेल डिपो निर्माणका लागि आयल निगमबाट ठोस निर्णय नभएको उनको भनाइ छ । रिठ्ठेपानीमा रहेको डाँडा ४० मिटर कटान नगरेसम्म विमान उड्न सक्दैन । डाँडा काट्नका लागि पटक पटक भन्दा समेत सुनुवाई नभएको उनले सुनाए ।

ल्यान्डफिलको विकल्प खोज्न आयोजनाले ३ पटकसम्म पत्र पठाउँदा समेत महानगरले चासो दिएको छैन

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन पहिलो शर्त, ल्यान्डफिल साइट हटाउने हो । ल्यान्डफिलको विकल्प खोज्न आयोजनाले ३ पटकसम्म पत्र पठाउँदा समेत महानगरले त्यसमा चासो दिएको छैन । ‘धेरै पटक पत्र पठाइसक्यौं । भेटेको बेलामा भनिरहेका छौं,’ उनले भने, ‘सुनुवाई भएन । अहिले जग्गा खोजेको भन्ने सुनेको छु । तर ठोस काम देखिएको छैन ।’ उनका अनुसार जग्गा अधिग्रहणको २ प्रतिशत अझै बाँकी छ । ३ हजार ८ सय ९९ रोपनीमध्ये ३ हजार ८ सय २० रोपनीको मुआब्जा दिएर आयोजनाको नाममा आइसकेको छ भने ७९ रोपनीको मुआब्जा वितरण भइसकेको छैन । आयोजनाले जग्गा अधिग्रहणमा ४ अर्ब ५ करोड वितरण गरिसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले आयोजनाको निरीक्षण गरेका छन् । उनले राज्यका कारण काममा कुनै विलम्ब नहुने बताए । ‘सरकारका तर्फबाट कुनै अवरोध हुँदैन । काम समयमा सक्न सबैखाले सहयोग सरकारले गर्छ,’ उनले भने, ‘मलाई विश्वास छ, पोखरा विमानस्थल समयमै सकिन्छ ।’ उनले निर्माणसँगसँगै सबै आन्तरिक तयारी पूरा गरिसक्ने बताए । उनले अन्तर्राष्ट्रिय रुटका लागि सरकारी तबरबाट काम अघि बढिसकेको बताए ।

भैरहवा र पोखरा एयरपोर्ट एकैपटक सञ्चालनमा ल्याउने उनको भनाइ छ । ‘भैरहवा र यहाँ छिटो सञ्चालन गर्न सकिएला भनेर केन्द्रीकृत भएर लागेका छौं । बनोटका हिसावले भैरहवाभन्दा पोखराको एयरपोर्ट राम्रो छ,’ उनले भने ।
विमानस्थल निर्माण कम्पनीलाई हालसम्म १२ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गइसकेको आयोजना प्रमुख मुनकर्मीले बताए । पोखरामा विमास्थल बनाउन २०३२ सालदेखि जग्गा अधिग्रहण भएको हो । सुरुमा नेपालगन्ज र विराटनगरको जस्तो विमानस्थल बनाउने तयारी थियो । पछि नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेर थप जग्गा अधिग्रहण गरिएको हो । २०७२ सालमा ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरियो । त्यसपछि पनि थप ६० रोपनी र १ सय ४ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल बनाइएको हो । ऋणमध्ये २५ प्रतिशत रकमको १ प्रतिशत ब्याज लाग्छ भने बाँकी ७५ प्रतिशत रकम नेपाल सरकारलाई २ प्रतिशत लोनमा दिएको हो । तर विमानस्थलले नेपाल सरकारलाई ५ प्रतिशतका दरले व्याज तिर्नुपर्छ । २० वर्षभित्रमा सावा र ब्याजसहित भुक्तानी तिरिसक्ने गरी सम्झौता भएको थियो । यसको अर्थ अबको १३ वर्षभित्र सबै ऋण तिरिसक्नुपर्छ । २०७३ वैशाख १ गते विमानस्थल शिलान्यास भएको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads