Worldlink ads

सम्पादक कोइरालासहित ८ पत्रकारलाई पुरस्कार

Avatar आदर्श समाज सम्वाददाता
माघ १, २०७७
Prize

पोखरा । आदर्श समाज दैनिक र इआदर्श डटकमका सम्पादक भरत कोइरालासहित ८ जना पत्रकार शुक्रबार पुरस्कृत हुनेभएका छन् । पत्रकार महासंघ कास्कीस्को शुक्रबार हुने १५ औं साधारणसभा एवं पुरस्कार/ सम्मान अर्पण समारोहमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासंघ शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

सम्पादक कोइरालालाई यस वर्षको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । दिवंगत पत्रकार गजेन्द्र भण्डारीको परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

वरिष्ठ पत्रकार कुसुमकेशव पराजुलीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले सम्पादक कोइरालाको नाम सिफारिस गरेकोमा पत्रकार महासंघको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । २०५८ सालदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर हुन् । उनी पत्रकारिता विषय प्राध्यापनमा पनि संलग्न छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार दयाशंकर पालिखे पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार महासंघ केन्द्रीय सदस्य एवं शाखाका पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली पुरस्कृत हुने छन् ।

जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार, २०७६ र २०७७ बाट क्रमशः पत्रकार अर्जुन गिरी र भीम थापा, मीना सिर्जनशील पत्रकारिता पुरस्कार, २०७६ रोशनी गुरुङ, टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार, २०७६ र ०७७ बाट क्रमशः कमल पौडेल र मोतिसागर अधिकारी तथा आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित हुने भएका छन् । कोभिड–१९ का कारण वितरण गर्न रोकिएका ती पुरस्कारहरु एकै समारोहबीच वितरण तयारी थालिएको हो । साधारणसभा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads