न्यायालयलाई दबाब नदिउँ : कांग्रेस सभापति देउवा

Avatar आदर्श समाज सम्वाददाता
माघ १, २०७७

Sher_Bahadur_Deuba_in_a_meeting.2e16d0ba.fill-650×500

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयलाई दबाब दिन नहुने बताएका छन् । ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हुँदैन,’ उनले भने, ‘अदालतले विवेक प्रयोग गर्ने नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन ।’

न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्दामा कांग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट पारे । सभापति देउवाले प्रतिनिधिसभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा आफूलाई विश्वास नलागेको उल्लेख गरे ।

पर्वतको शंकरपोखरीमा सहिद हरिदत्त तिवारी स्मृति भवन बिहीबार उद्घाटन गर्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक नै भएकोले पार्टीले आन्दोलन घोषणा गरेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले जनअपेक्षा अनुसार ओली सरकारले काम नगरेको आरोप लगाए ।

उनले आफूलाई भेट्न बुधबार साँझ विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव नेपाल आएको पनि बताए । उनीहरुले प्रधानमन्त्रीको अफर गरे पनि अहिले स्वीकार गर्न सक्ने अवस्था रहेको भन्दै फर्काइदिएका थिए । सभापति देउवाले नेकपा २ भागमा विभाजित जस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गरे ।

उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका कांग्रेस कार्यकर्तालाई दुख दिने गरेको भन्दै आलोचना गरे । पार्टीलाई बलियो बनाउँदै देश विकासमा लाग्नुपर्नेमा सभापति देउवाको जोड थियो । कांग्रेस नेता गोपालमान श्रेष्ठले सहिद तिवारीको योगदानबाट सिक्नुपर्ने उल्लेख गरे । केन्द्रीय सदस्य अर्जुन जोशीले आफूलाई पदको लोभ नभएको भन्दै पार्टीलाई सशक्त बनाउन लागीपरेको भनाइ राखे ।

तिवारीको स्मृतिमा सहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको प्रतिष्ठानका मुख्य संरक्षक, कांग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए । २०६० साल माघ १ गते सशस्त्र माओवादी समूहले नेपाली कांग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।