पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले माघे संक्रान्तिका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले माघे/माघी/मकर संक्रान्ति पर्वले सबै नेपालीबच वन्धुत्व, प्रेम र एकताको भावना वढाई सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नको लागि भावनात्मक एकताका साथ आ–आफ्नो ठाउँमा जुट्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
उनले मगर, थारु र छन्त्याल समुदाय लगायत नेपालीहरुको महत्वपूर्ण सांस्कृतिक पर्व माघे/ माघी/मकर संक्रान्ति पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलव्धि रहेको उनले बताएका छन् ।
वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं मौलिक साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएको मुख्यमन्त्री गुरुङले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस पर्वले पनि विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।’
सूर्य धनु राशीलाई छोडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर आ–आफ्नो मौलिकतामा, घिउ, चाकु, तरुल लगायतका विविध परिकारहरु खाई धुमधामका साथ यस पर्वलाई मनाउने गरेको पाइन्छ ।