मन्त्री लम्साल बोलीमा चुकेपछि विज्ञप्ति निकालेर बचावट – हेर्नुहाेस विज्ञप्ति

आदर्श समाज सम्वाददाता
पौष २८, २०७७
bikash lamsal

पोखरा । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बोल्ने क्रममा आफू संघको चुनाव लड्ने भन्दै मन्त्री खोज्न मुख्यमन्त्रीसँग आग्रह गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले साँझपख बोली फेरेका छन् ।

उनले दिउँसो भनेका थिए, ‘‘माननीय मुख्यमन्त्री ज्यू, मलाई वैशाखमा चुनाव लड्ने मन छ । अब संघमा जाने हो, हिजो पनि उतै थिएँ, उनले भने, ‘कसलाई ल्याएर राखेर मन्त्रालय चलाउने हो, मन्त्री खोज्नुस् । म चुनावमा जाने हो । तपाईं मेरो पार्टीको इन्चार्ज पनि हो । मलाई संघको टिकट दिनुस् । यो संविधान बचाउनुपर्छ ।’

सचिवालयमार्फत विज्ञप्ति जारी गरेर उनले ‘मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने हुँने हुँदा त्यसका लागि म पनि तयार छु र हजुरहरु पनि तयार हुनुहोस भन्ने मनसायका साथ प्रदेश सभा बैठकमा आफ्नो अभिव्यक्ति राखेको’ बताएका छन् । प्रदेश सरकारलाई कमजोर बनाउन आफू मन्त्रिपरिषबाट बाहिरिन नभई प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएकै समयमा हुन्छ भनी विश्वस्त पार्न उक्त अभिव्यक्ति मन्त्रीले दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरे वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । संविधान त प्रदेश र संघको चुनाव एकै पटक हुन्छ । तर दलभित्रकै खिचातानीका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा भंग गरेपछि प्रदेशस्तरमा पनि त्यसको प्रभाव देखिएको हो । बीचैमा प्रतिनिधि सभाको मध्यावधि चुनाव हुँदा अहिले प्रदेशमा रहेका सांसदहरुको राजनीतिक ‘करिअर’ मा नै प्रभाव पार्ने भएको छ । प्रदेश छाडेर संघमा उक्लनकै लागि मन्त्री लम्सालले यो घोषणा गरे पनि चौतर्फी आलोचनापछि बोली फेर्न वाध्य भएका हुन् । । उनी तत्कालीन एमालेको सूर्य चिह्न लिएर पर्वतबाट विजयी भएका हुन् । लम्साल संविधान सभा सदस्य हुन् । प्रतिनिधि सभाको १ क्षेत्र रहेको पर्वतबाट गएको निर्वाचनमा एमालेकै पदम गिरीले जितेका हुन् ।

‘अब म फेरि यो संसदमा आउँछु कि आउँदिन । वैशाखमा चुनाव जितें भने माथि जाउँला,’ उनले सदनमा भनेका छन्, ‘म गइनँ भने पनि केपी ओलीले समर्थन गरेको मान्छे त्यहाँ जान्छ । उसलाई जिताउनुपर्छ । पहिले १२ हजार भोटले जितेको हो, अब १५ हजार भोटले जित्नुपर्छ ।’

मुख्यमन्त्री र नेकपाका नेता तथा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गर्दै मन्त्री लम्सालले आफूले कुनै गल्ती नगरेको दाबी गरे । ‘प्रदेश प्रमुख, सोमनाथ प्यासी प्रेरणाको स्रोत हो । उहाँले फोन गरेर काम गर्दा कसैले प्रश्न उठाएको सुन्न नपरोस भन्नुभएको छ,’ सांसदहरुलाई उनले भने, ‘१ रुपैयाँ तलमाथि भएको भए ल्याउनुस् । समयमा काम नभएको भए भन्नुस् ।’

महंगी नियन्त्रणबारे जवाफ दिन रोस्टम पुगेका उनले केपी समूहको नेकपाले बहुमत ल्याउने भाषण गरेर फर्किए । ‘फेरि केपी ओलीले बहुमत ल्याउँछन् । पहिले ९० सिट आएको हो, अब १ सय २० सिट आउँछ । पहिले ३३ लाख थियो, अब ५० लाख आउँछ,’ उनले भने ।

याे पनि

मध्यावधि चुनाव लड्न प्रदेशसभाबाट राजीनामा दिने मन्त्री विकास लम्सालको घोषणा

Related News

सम्बन्धित समाचार

hero news full width