मध्यावधि चुनाव लड्न प्रदेशसभाबाट राजीनामा दिने मन्त्री विकास लम्सालको घोषणा

प्रकाश ढकाल
पौष २८, २०७७
bikash-lamsal

पोखरा । प्रतिनिधि सभा भंग भएर मध्यावधि निर्वाचन घोषणा भइसकेका बेला गण्डकी प्रदेशका एक मन्त्रीले प्रदेश सभाबाट राजीनामा दिएर चुनावमा होमिने घोषणा गरेका छन् ।

मूल्य बृद्धिको समस्या उठाएर संसदमा पेस भएको जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफलकै क्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आफू संघको चुनाव लड्ने भन्दै मन्त्री खोज्न मुख्यमन्त्रीसँग आग्रह गरे । मन्त्रीमण्डल हेरफेर भएमा फेरिनेमध्यको १ नम्बरमै पर्छन् मन्त्री लम्साल ।

गण्डकी प्रदेशसभामा सम्बोधन गर्दै उनले आफू प्रदेशमा भन्दा संघमा जाने चाहना भएको बताएका हुन् ।

‘माननीय मुख्यमन्त्री ज्यू, मलाई बैशाखमा चुनाव लड्ने मन छ । अव संघमा जाने हो, हिजो पनि उतै थिएँ, उनले भने, ‘कसलाई ल्याएर राखेर मन्त्रालय चलाउने हो, मन्त्री खोज्नुस् । म चुनावमा जाने हो । तपाईं मेरो पार्टीको इन्चार्ज पनि हो । मलाई संघको टिकट दिनुस् । यो संविधान बचाउनुपर्छ ।’

उनले आफू यो संसदमा नआउने सम्भावना देखाउँदै घुमाएर सदनबाट राजीनामा दिएको घोषणा गरे । ‘अब म फेरि यो संसदमा आउछु कि आउँदिन । वैशाखमा चुनाव जितें भने माथि जाउँला,’ उनी भन्छन्, ‘म गइनँ भने पनि केपी ओलीले समर्थन गरेको मान्छे त्यहाँ जान्छ । उसलाई जिताउनुपर्छ । पहिले १२ हजार भोटले जितेको हो, अब १५ हजार भोटले जित्नुपर्छ ।’

महंगी नियन्त्रण आफ्नो मात्रै हातमा नरहेको उनको भनाइ थियो । ‘महंगी नियन्त्रण हाम्रो हातमा मात्रै छैन । भारतबाट सामान ल्याउछौं । खुला बजार छ । भन्सार तिरेर ल्याएर बेच्दा महंगो पर्न जान्छ,’ उनले भने, ‘तर सांसदहरुले भनेजस्तो मूल्य बढेको छैन । मुल्यबृद्धि नियन्त्रण गर्न सरकारले धेरै काम गरेको छ । हामीले गरेका कामको प्रचार गर्न सकेका छैनौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width