कसको नियन्त्रणमा छ बजार ? जताततै विकृति

आदर्श समाज संवाददाता
पौष २८, २०७७
gokul ghee

पोखरा ।

– उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीको टोलीले तिहारका बेला बजार अनुगमन गर्दा बिना लेबलका घिउ भेटियो । डब्बाको बाहिर गोकुल ब्रान्ड लेखेको घिउ कहाँ उत्पादन भएको हो अनुगमन टोलीले पत्ता लगाउन सकेन । कुनैमा रामेछाप त कुनैमा टोखा नगरपालिका ठेगाना राखिएको छ । यस्ता घिउ अहिले पनि बजारमा जताजतै पाइन्छ ।

– निर्देशनालयले पोहोर नै प्रदेशका जिल्लाहरुमा सञ्चालित पिउने पानी उद्योगका सञ्चालक राखेर पानीको मूल्य निर्धारण ग¥यो । प्रति बोतल खुद्रा मूल्य १६ र प्रति जार ५० रुपैयाँ तोकियो । तर दोकानदारले त्यो भन्दा बढी मूल्य लिइरहेका छन् ।

– लकडाउनका बेला बिहान २ हजार ७ सय ५० मा किनेको १ बोरा चामलको मूल्य त्यहि दोकानमा बेलुका ३ हजारमा बिक्री गरियो । उपभोक्ता सचेत भएर वडाका प्रतिनिधिको रोहबरमा दोकानेलाई माफी मगाइयो ।

उपभोक्ताको हकका लागि ३ वटै तहका सरकार, नागरिक समाज र गैरसरकारी संस्था क्रियाशील छन् । तर पनि बजारको विकृति रोकिएको छैन । बरु उल्टै बढेर गएको छ । यसको दोषी को त ? आखिर कसको नियन्त्रणमा छ बजार ? हो बजारको विकृति रोक्न भन्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीले सचेतनामूलक जागरण कार्यक्रम थालेको छ ।

पहिलो चरणमा पोखरा महानगरका वडामा कार्यक्रम गरेर ११ वटै जिल्लामा पुगिने निर्देशक नारायण आचार्यले बताए । वस्तु तथा सेवा उपभोग गर्नुअघि उपभोक्ता सचेत हुन सके ठगिनु नपर्ने उनको भनाइ थियो । कानुनमा उपभोक्ता हितसम्बन्धी धेरै विषय उल्लेख भए पनि उपभोक्तानै अनभिज्ञ हुँदा व्यवसायीले कालोबजारी गरी फाइदा उठाइरहेको निर्देशक आचार्यको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख शिवजी बरालले उपभोक्ताले विद्यमान कानुनका बारेमा जानकारी लिएर सचेत हुन आग्रह गरे । गुणस्तर तथा नापतौल कार्यलय पोखराका प्रमुख तीलक केसीले नापतौल र उपभोक्ता हितका सम्बन्धमा प्रस्तुति राखेका थिए । केसीले उद्योगबाट उत्पादित वस्तु गुणस्तर हुन सकेमात्रै बजारमा गुणस्तरीय सामान पाइने भएकाले उद्योगबाटै उत्पादित सामानको गुणस्तरमा विशेष निगरानी राख्नुपर्नेमा जोड दिए ।

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिल कोइरालाले उपभोक्ता हित संरक्षणका सम्बन्धमा उपभोक्ता अधिकार संरक्षण ऐन २०७५ लागु भइसके पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेको बताए । उनले बजार अनुगमनको समयमा नापतौलदेखि म्याद सकिएका खाद्य सामग्री, अधिक मूल्य, कम तौलका प्याकेजिङ लगायतबाट उपभोक्ता ठगिने गरेको बताए । उनले भने, ‘बजारबाट गुणस्तरहीन उपभोग्य वस्तु ग्रामीण भेगमा जाने गरेको पनि अनुगमनमा भेटिएको छ, उपभोक्ताले विल माग्ने र ठगिएको थाहा हुँदाबित्तिकै उजुरी गर्ने बानीको विकास गरेर कालोबजारी गर्ने बिक्रेतालाई निरुत्साहित गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी उपभोक्ता रोजी पराजुलीले प्रभावकारी अनुगमनको अभावले हरेक दिन बिक्रेताबाट उपभोक्ता ठगिनु परेको अनुभव सुनाइन् । उनले वडा तहबाटै संयन्त्र बनाएर उपभोक्तालाई सचेतना र बजार अनुगमनलाई प्रभाावकारी बनाउन ध्यानकर्षण समेत गराइन् ।

अर्का सहभागी सन्दिप साईले उपभोक्ताका गुनासो सुन्ने प्रभावकारी निकाय नहुँदा उपभोक्ता ठगिन बाध्य भएको बताए । निर्देशनालयका अधिकृत प्रदीपकुमार रेग्मीका अनुसार जागरुक कार्यक्रममा पहिलो चरणमा वडा १ देखि ५ सम्मका प्रतिनिधिलाई सहभागी गराइएको छ । कार्यक्रमलाई चरणबद्ध रुपमा ३३ वटै वडामा पु¥याइने छ । महानगरपछि ११ वटै जिल्लामा अभियानकै रुपमा कार्यक्रम गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width