पोउवा संघ निर्वाचन : अघिल्लो हार बिर्साउँदै नारायण कोइराला बने अध्यक्ष- सबैकाे मतसहित

आदर्श समाज सम्वाददाता
पौष २७, २०७७
pcc

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनमा नारायण कोइराला प्यानलले वर्चश्व कायम गरेको छ । अध्यक्षका प्रत्यासीलाई ४ सय १० मतअन्तरले पराजित गरेका नारायण कोइरालाले अघिल्लो पालि अध्यक्षको हार बिर्साउँदै २ वर्षका लागि उद्योगी व्यवसायीको नेतृत्व लिन सफल बने ।

विजयी उनले १ हजार ३ सय ७५ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी बिन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरिन् । शनिबार भएको मतदानमा कुल ३ हजार ५४ मतदातामध्ये करिब ७५ प्रतिशत अर्थात २ हजार ३ सय ६५ मत खसेको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोध हुँदा उपाध्यक्ष (वाणिज्य) तर्फ अर्जुन पोखरेल विजयी बने । उपाध्यक्ष (उद्योग) तर्फ स्वतन्त्र उम्मेदवारी दिएका गोकर्ण कार्की निर्वाचित भए । उनले नारायण प्यानलकी चिनुकुमारी गुरुङलाई पराजित गरेका हुन् ।

यस्तै, महासचिवमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भए । विजयी बिजुक्छेले महासचिवका प्रत्यासी धनीराम बराललाई भारी मतान्तरले पछि पारेका हुन् । उपमहासचिवमा केशवबहादुर खत्री चुनावी मतपरिणाममा निर्वाचित भए । उनले प्रत्यासी धर्मराज बर्तौलाले हराएका हुन् ।

कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित हुँदा तारानाथ ढुंगानाले हार स्वीकारे ।

१० जना साधारण सदस्यको लागि १६ जनाको उम्मेदवारी परेकोमा शोभा गौतम, देवेन्द्र केसी, कुमारी मुना बास्तोला, उत्तममान बुद्धाचार्य, सुदीप प्रधानांग, हरिराज पन्त, भरत केसी, दिनेशचन्द्र बास्तोला, सुदनबहादुर कोइराला र पवित्रादेवी गुरुङ निर्वाचित भएको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । उत्तममान र सुदीप दुवैले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । यस्तै विजयीमध्ये पत्रिवादेवी बिन्दु कोइराला प्यानलकी हुन् ।

२ वस्तुगत सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) र १ औद्योगिक सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध भएका छन् । हरिहर र हर्कबहादुर दुवै नारायण प्यालनबाट चुनावमा होमिएका थिए ।

४ जना वस्तुगत सदस्यतर्फ बालाकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल निर्वाचित भए । चुनावमा ८ जनाको उम्मेदवारी परेकोमा उदयबहादुर केसीसहित बलराम तिमिल्सिना र रुपनारायण भुजेलको समान १५ मत परेपछि गोलाप्रथामा तिमिल्सिना र भुजेल भाग्यमानी बनेका हुन् ।

नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले चुनावमा जिताउन सहयोग गर्ने मतदातासहित सम्पूर्णमा आभार व्यक्त गरे । व्यवसायमा दुखसुख बुझेको भन्दै उनले कोरोना भाइरसको संकटबाट व्यवसायको पुनरुत्थान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व अध्यक्षका सल्लाहसुझावअनुसार अघि बढ्ने भन्दै उनले नेतृत्वको जिम्मेवारी पूरा गर्ने आफ्नो दायित्व रहेको बताए । २०७३ सालको चुनावमा अध्यक्षमा पराजित उनी अघिल्लो चुनावबाट वरिष्ठ उपाध्यक्ष बनेका थिए ।

अध्यक्षका प्रत्यासी बिन्दु कोइराला सुवेदीले चुनावमा हारजित निश्चित भएको उल्लेख गर्दै चुनावमा सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरिन् । उनले यो चुनावले महिला नेतृत्वको लागि हाम्रो समाज कति तयार छ भन्ने पनि देखाएको उल्लेख गरिन् । १५ वर्षसम्म संघको विभिन्न पदमा रहेर भूमिका निर्वाह गरेकी उनी यसअघि २ कार्यकाल उपाध्यक्ष थिइन् ।

शनिबार भएको मतदानको आइतबार बिहानदेखि संघको कार्यालय गैह्रापाटनमा मतगणना भएको हो । जसको अन्तिम परिणाम राति ७ बजेमात्र आएको हो ।

संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनीयताको शपथ खुवाए । यस्तै निर्वाचित अध्यक्षले निर्वाचित अन्य पदाधिकारी तथा सदस्यलाई शपथ खुवाए ।

Related News

सम्बन्धित समाचार

hero news full width