मुक्तिनाथ विकास बैंकले १५ प्रतिशत लाभांश दिने

आदर्श समाज संवाददाता
पौष २५, २०७७
muktinath

पोखरा । मुक्तिनाथ विकास बैंक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शनिबार पोखरामा भएको चौधौं वार्षिक साधारण सभाले १५.५० प्रतिशत (४.२५ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष मुक्तिनाथले नेपालको बैंकिङ क्षेत्रमा भिन्न अभ्यास गर्दै यो अवस्थामा आइपुगेको बताए । बैंकको पुँजी वृद्धि गर्दै ग्राहकका लागि आधुनिक र आकर्षक सुविधा पस्कन आफूहरु तयार रहेको उनको भनाइ थियो ।

बैंकका सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले स्याङ्जाबाट सुरु भएर पोखरा हुँदै अहिले देशव्यापी रुपमा सञ्जाल फैलाउन सफल भएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराए । कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखे ।

कोरोना महामारीको विषम परिस्थितिमा बैंकले भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागी गराएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारे ।

Related News

सम्बन्धित समाचार

hero news full width