जनआदर्श विद्यालयका विद्यार्थीलाई मिलन फाउन्डेसनको न्यानो पोसाक

आदर्श समाज संवाददाता
पौष २४, २०७७
milan

पोखरा । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित जनआदर्श आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीलाई मिलन फाउण्डेशन नेपालले जाडो यामको पोसाक वितरण गरेको छ ।

बिहीबार आयोजित पोसाक वितरण कार्यक्रममा मिलन ट्रष्टकी संरक्षक, समाजसेवी सावित्रीकुमारी गुरुङ र फाउन्डेसनका संरक्षक दुर्गा गुरुङ “मिलन”को प्रायोजनमा मिलन फाउन्डेसन नेपालमार्फत् विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाकसँग मिल्ने एक÷एक सेट न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा समाजसेवी सावित्री गुरुङले पोसाक वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै फाउन्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले फाउनडेसनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताए । फाउन्डेसनका संरक्षक दुर्गा गुरुङ “मिलन”को आर्थिक सहयोगमा फाउन्डेसनले देशका विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको भन्दै भविष्यका कर्णधार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीले अहिले समाजमा समाजसेवाको भावना ह्रास हुँदै गएको बेलामा मिलन फाउन्डेसन नेपालले गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताइन् । आफूले विदेशमा रगत, पसिना बगाएर कमाएको पैसा समाजसेवामा लगाउनु उदाहरणीय कार्य भएको बताउँदै क्षत्रीले समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्नो जन्मभूमिका लागि गरेको सहयोग अतुलनीय रहेको उल्लेख गरे ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनका प्रेस संयोजक रूद्रबहादुर श्रीसले समाजसेवा र दुर्गा गुरुङ ‘मिलन’ एउटा पर्यायवाची जस्तो बनिसकेको उल्लेख गरे । समाजसेवालाई आफ्नो अभिन्न पाटोका रुपमा गुरुङले निरन्तरता दिएको भन्दै प्रेस संयोजक श्रीसले फाउण्डेशनमार्फत् शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको उत्थानसँगै गीतसंगीत र चलचित्रमार्फत् स्थानीय कला, संस्कृति एवं जन्मभूमिको उजागर गर्न समाजसेवी गुरुङले उदाहरणीय भूमिका खेलेको बताइन् ।

सो अवसरमा मोदी गाउँपालिका वडा नं. ५ का जनप्रतिनिधि इन्द्रप्रसाद उपाध्यायले समाजमा केही गर्नुपर्छ भन्ने सोंच राख्ने समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ मनकारी व्यक्तित्व भएको बताए । फाउन्डेसनका सचिव खड्कबहादुर गुरुङ ‘मदन’ले फाउन्डेसनको उद्देश्य र कार्यक्रममाथि प्रकाश पारेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मदत्त शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मण शर्मा र प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गरे । यसैबीच, कार्यक्रममा बाजुङका भलिबल खेलाडीहरूका लागि समेत आर्थिक सहयोग गरिएको थियो ।

फाउण्डेशनले यसअघि, पनि मोदी गाउँपालिकाको पातीचौरस्थित पशुपति आधारभूत विद्यालयमा न्यानो पोसाक वितरण गरेको थियो । त्यस्तै, फाउण्डेशनले कुश्मा नगरपालिका–१२, ठूलीपोखरीस्थित कालिका भगवती मन्दिरलाई फलामे कुर्ची समेत सहयोग गरेको थियो । २०७१ सालमा स्थापना भएको यस फाउण्डेशनले संरक्षक दुर्गा गुरुङ “मिलन”को आफ्नै व्यक्तिगत र परिवारका सदस्यहरूको कमाइबाट हरेक वर्ष विभिन्न सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width