लगानीमैत्री वातावरण बनाउँछु : नारायण कोइराला

प्रकाश ढकाल
पौष २४, २०७७
Narayan Koirala

२०५२ सालमा उद्योग वाणिज्य संघमा साधारण सदस्य भएर छिरेका नारायण कोइराला २०६३ को चुनावमा कार्यसमिति सदस्य बने । त्यसपछिका विभिन्न कार्यकालमा उनी राजश्व उपसमिति संयोजक, वस्तुगत उपसमिति संयोजक लगायत विभिन्न भूमिकामा रहेर काम गरे । २०६९ सालमा उनी महासचिव बने भने २०७१ सालमा कार्यसमिति सदस्य थिए । २०७३ सालको निर्वाचनमा उनी अध्यक्ष पदमा पराजित भएका हुन् भने पछिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षको पमा निर्वाचित भए । हालसम्म उनी यही पदमा कार्यरत छन् । संघको ३३ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका नारायण कोइरालासँगको अन्तर्वार्ता ः

तपाईंंको चुनाव जित्ने आधार के के छ ?
म २०६३ सालदेखि निरन्तर रुपमा उद्योग वाणिज्य संघको कार्यसमितिभित्र रहेर काम गरेको अनुभव छ । उद्योगी व्यवसायीको मन जितेको छ । कोभिडको बेलामा पनि धेरै काम गरें । व्यवसायीलाई परेका हरेक समस्यामा अगाडि रहेर बोलेको छु । खारिएका र अनुभवी साथीहरु मेरो टिममा हुनुहुन्छ । मुख्य जीतको आधार यही हो । म टिममा विश्वास गर्छु । भोलिका दिनमा पनि यो टिमले जित्यो भने व्यवसायीलाई पर्ने समस्या समाधानका लागि पहल हुन्छ ।

राजनीतीकरण धेरै भयो र संघको विरासत गुम्दै गयो भन्ने सुनिन्छ । सरकारी र अन्य संघ संस्थासँगको सम्बन्ध पनि कमजोर भएको देखिन्छ । त्यसलाई फर्काउन के पहल गर्नुहुन्छ ?
यसमा अफवाह बढी हो । पछिल्लो चुनावमा केहि देखिएको त हो । अहिले व्यवसायी साथीहरु मिलेर बनेको टिम हो । पार्टीसँग समन्वय गरेर बनाएको टिम होइन । वरिष्ठ उपाध्यक्ष नै अध्यक्षमा जाने भएकोले सिस्टमबाट बनेको टिम हो । विगतमा भएका कमजोरी सुधार्नकै लागि यो बनेको हो । विगतको विरासत खस्केको आभास भइहेको छ । त्यसलाई पनि हाम्रो टिमले सम्बोधन गर्नेछ । संघ मेरो अभिभावक हो भन्ने बनाउछौं ।
हिजो निर्वाचित स्थानीय तह थिएन । त्यतिबेला संघको भूमिका महत्वपूर्ण थियो । यद्यपि आजका दिनमा पनि त्यो भूमिका घटेको छैन । संस्थाले समन्वय गरेर जानुपर्छ । भोलि पोखरा पर्यटकीय राजधानी हो । प्रदेशकै राजधानी समेत यो भएकोले व्यवस्थित गर्ने योजनामा संघले नेतृत्व गर्नुपर्छ । त्यो वातावरण मेरो टिमले बनाउँछ ।

उद्योग वाणिज्य संघभित्र र बाहिरका समस्या के के देख्नुहुन्छ ?
व्यवस्थित बजार नहुनु मुख्य समस्या हो । फुटपाथ व्यापारीहरुले कर नतिरी ल्याएर सामान बेच्ने गर्दा महंगो भाडा तिरेर व्यवसायमा लागेकाहरु कंगाल बनेका छन् । पार्किङ समस्या छ । नेपालीहरु विदेशमा छन् । एनआरएनएहरुले पोखरामा लगानी गर्छुभन्दा समस्या परेको छ । लगानीमैत्री वातावरण छैन । उद्योगमा हेर्दा मजदुरको समस्या छ । मजदुरको दक्षता बढाउने काममा हामी लाग्नु छ । कर्जामा समस्या देखियो । बर्सेनि ब्याजको दर बढिरहेको छ । मौद्रिक नीति कार्यान्वयनमा आएको छैन । यो सबै समस्या समाधानका लागि मेरो टिमको पहल मूख्य हुन्छ । पोखरामा पार्किङको समस्या छ, घर भाडाको समस्या पनि उत्तिकै टड्कारो छ । विभिन्न फ्याक्टरहरुले यहाँको उद्योग व्यवसाय धरासायी बनेको छ । उहाँहरुको हकहिता लागि आवाज बुलन्द गर्नु छ ।

पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउनुपर्छ भनेर धेरैतिर बोलिराखेको सुनिन्छ । यसका लागि उद्योग वाणिज्य संघको के भूमिका हुन्छ ?
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उद्योग वाणिज्य संघको ठूलो योगदान छ । यो विमानस्थल बनेपछि सिधै अन्तर्राष्ट्रिय सहरसँग पोखराको सम्पर्क बढ्छ । कालिगण्डकी करिडोर बनिरहेको छ । त्रिवेणीदेखि पोखरा हुँदै कोरला नाकासम्मको सडक निर्माण भइरहेको छ । यो सडक जोडिएपछि पोखरा, भारत र चीनको व्यापारिक हब बन्ने छ । विमानस्थल तयार हुनुभन्दा पहिलेको तयारी पोखराले गर्न सकेको छैन । ट्राफिक चाप बढ्दो छ । सडक र चोकहरुको प्राविधिक हिसाबले व्यवस्थापन गर्नु छ । रिङरोड बनाउनुप¥यो । सार्वजनिक जग्गालाई लिएर भएपनि पाकिङ स्थल बनाउनप¥यो । आवादी बढिरहेको छ । इतिहासदेखि नै संघले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि पर्यटनमा नेतृत्व गरेको छ । व्यवस्थित सहर बनाउनका लागि संघले स्पष्ट खाका सहित दवाव सिर्जना गर्ने छ । हामी त्यसका लागि तयार छौं ।

संघको चुनाव हारेपछि हराउने चलन छ । चुनाव हार्नका लागि चाहिँ तयार हुनुहुन्छ कि हुनुहुन्न ? अर्थात चुनाव हारिहाले पनि संघप्रतिको सम्बन्ध कस्तो रहन्छ ?
मलाई म हार्छु भन्ने लाग्दै लाग्दैन । धेरै चुनावको अनुभव गरिसकें । २९ जनाको कार्यसमिति हुन्छ । अहिलेकै २८ जनाले मलाई नेतृत्वका लागि छोडिदिनुभएको हो । एकजनाका कारण चुनाव भइरहेको छ । सशक्त टिम बनाएर अगाडि बढेका छौं । चारैतिरबाट राम्रो प्रतिक्रिया आएको छ । चुनाव हार्ने जित्ने भन्दा पनि अनुमोदन हुने कि नहुने भन्ने हो । मलाई लाग्छ म पास हुन्छु । हारिहाले पनि संघसँगको सम्बन्ध टुट्दैन । म उद्योगी व्यवसायीको हकहितका लागि निरन्तर अग्रणी भएर लाग्ने नै छु । सबैको नेता बन्नका लागि चुनावमा उम्मेदवार बन्ने हो । चुनाव टेक्निकल कुरा पनि हो । तसर्थ भोलिका दिनमा मेरो र संघको सम्बन्ध अहिलेभन्दा प्रगाढ बनेर जाने छ ।

२ वर्षभित्र उद्योग वाणिज्य संघलाई कुन रुपमा देख्न पाइन्छ ?
मेरो टिम आयो भने, २ वर्षभित्र व्यवसायीमैत्री बन्छ । व्यवसायीले जुन समस्या भोग्नुपरेको छ, त्यो समस्या समाधान गर्छौं । कृषि, पर्यटन, स्वास्थ्यलाई समेटेर अगाडि बढ्ने छ । २०११ सालमा स्थापना भएको संस्था हो, यो । व्यवसायीको हक हितसँगै समग्र अभियानको नेतृत्व ग¥यो । त्यो विश्वास जोगाउनु छ । लगानीमैत्री वातावरण बनाउनु छ । हाम्रा धेरै दाजुभाइ दिदी बहिनी नेपाल बाहिर हुनुहुन्छ । उहाँहरुसँग समन्वय गरेर लगानी भिœयाउन आग्रह गर्छौं । उहाँहरु पोखरा र कास्की जिल्लामा लगानी गर्न इच्छुक हुनुहुन्छ । तर वातावरण बनिरहेको छैन । कृषि, हाइड्रो, पर्यटन उद्योग फस्टाउन सक्छ भनेर उहाँहरुलाई उत्साह थपेका छौं । होटल व्यवसायको सम्भावना राम्रो छ । उहाँहरुलाई त्यो भनेका छौं । मलाई लाग्छ, अबको २ वर्षमा धेरै लगानी पोखरा र आसपासमा भित्रिने छ ।

उद्योग वाणिज्य संघ उद्योगी, व्यवसायीको छाता संस्था किन बन्न सकिरहेको छैन ? गुनासो किन बढेको होला ?
जतिवेला व्यवसायीहरुलाई समस्या पर्छ त्यतिबेला लबिङ गर्ने संस्था उद्योग वाणिज्य संघ हो । दुख परेका बेला काम नलाग्ने संस्थाप्रति कसैको पनि अपनत्व हुँदैन । केहि त्यस्ता समस्या देखिए अघिल्ला दिनहरुमा । त्यहि भएर त हामीले विगतको विरासत जोगाउने कुरा गरेका छौं । पूरानो चमक फर्काउने प्रतिबद्धता जनाएका छौं ।
कोभिडका कारण अर्थतन्त्र डामाडोल छ । प्रविधिमैत्रि रुपमा व्यवसायी र उद्योगीका घरघरमै पुगेर सेवा दिन्छौं । संघमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व छ । त्यहिकारण २ वर्षको कार्यकाल सफल हुन्छ भन्नेमा पूर्ण विश्वास छ । निजी क्षेत्रले गर्ने नै अर्थतन्त्र चलायमान बनाउनु हो । तर राज्यको साथ चाहिन्छ । उद्योगी व्यवसायीले यसलाई छाता संस्था मान्नुभएकै छ । तैपनि केहि सम्बन्ध कमजोर भएको हो कि भन्ने महसुस पनि गर्नु भएको छ । हामी पक्कै त्यसलाई रोक्न सक्छौं ।

जित्नुहुन्छ ?
सबै जिम्मेवारी मतदाताहरुमा छ । उद्योगी व्यवसायीहरुको विश्वास कति रहेछ म प्रति भन्ने परीक्षण हो यो । अबको २ वर्ष मेरै नेतृत्वमा संघ अघि बढ्ने विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width