कामकै आधारमा इतिहास बनाउँछु : विन्दु कोइराला सुवेदी

प्रकाश ढकाल
पौष २४, २०७७
Bindu Koirala Subedi

२०६३ सालको निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघमा कार्यसमिति सदस्य बनेकी विन्दु कोइराला त्यसपछिका सबैजसो कार्यकालमा संघभित्रै रहेर काम गरिन् । २०७१ सालमा उनी कार्यसमिति सदस्यमा मनोनित हुँदै महिला उद्यम विकास समितिको संयोजक बनिन् भने २०७३ को निर्वाचनमा वाणिज्य उपाध्यक्ष बनेकी थिइन् । २०७५ सालको ३२ औं महाधिवेशनबाट विन्दु उद्योग उपाध्यक्षमा निर्वाचित भइन् । अहिलेसम्म उनी त्यही पदमा कार्यरत छन् । संघको ३३ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी बिन्दु कोइराला सुवेदीसँगको अन्तर्वार्ता :

यति लामो समय टीममा रहेर काम गर्नुभयो । के गर्न सक्नु भएन र अध्यक्ष नै बन्नुपर्‍यो ?
आआफ्नो पदीय दायित्व हुन्छ । त्यो पूरा गरेको छु । अध्यक्ष प्रणाली नै छ । कहिलेकाहिँ अध्यक्ष एउटा आउने र टीम अर्को आउने । म स्वतन्त्र रुपमा लडेर आएपछि राम्रा विचार ल्याउँदा पनि सहयोग नपाउने भयो । महिला नै भएको कारणले पनि दुख कष्ट भयो । अहिले महिलालाई नै सहयोग गर्नुपर्छ भनेर हस्तीहरुले साथ दिनुभएको छ । त्यसैले म ढुक्क छु । भूमिका कुशलतापूर्वक पूरा गर्छु भन्ने विश्वास छ ।

उद्योग वाणिज्य संघको भित्र र बाहिरका समस्या के हुन् ?
गुट उपगुट छ । धेरै कुरा चिरिएको छ । अबबाट त्यो समस्या हुँदैन भन्ने विश्वास छ । मैले नै चालेको कदमबाट गुट उपगुट अन्त्य हुनेछ । बाहिरका धेरै समस्या छन् । उद्योगी व्यवसायी थला परेका छन् । सरकारसँग दबाब सिर्जना गर्न सकिएको छैन । अध्यक्षले मात्रै गर्दा आवाज बुलन्द हुन सकेन । मेरो साथमा ग्रुप छ । ग्रुपबाट नै आवाज बुलन्द गर्छौं । हर तह तप्कामा एउटै मुख लिएर जान्छौं । त्यो साझा एजेन्डा हुन्छ ।

महिलाहरु पहिलेदेखि नै क्याम्प फेरेर नेतृत्वमा दाबी गर्ने चलन छ । तपाईं पनि असन्तुष्ट समूहको नेतृत्व गर्नुभयो भन्ने आरोप छ नि !
मलाई राजनीति मनै पर्दैन । अघिल्ला दिनहरुमा पनि स्वतन्त्र बनेर चुनाव लडेको उदाहरण छ । त्यहिँ बसिरहनुपर्छ भन्ने आवश्यकता पनि होइन । म एक्लै पनि चुनावमा होमिन्छु भनेर लागेको थिएँ । उद्योगी व्यवसायीहरु मेरो साथमा हुनुहुन्छ भन्ने विश्वास थियो । अहिले हस्तीहरुको साथ पाउँदा छ अझै हौसला मिलेको छ । मलाई क्याम्पभित्रको भन्दा पनि कसैसँग डग्दिन र आँटिली छ भनेर भोट दिनुहोला । कुनै क्याम्पको सहयोग होइन, उद्योगी र व्यवसायीको सहयोग चाहिएको छ । उद्योग वाणिज्य संघलाई साझा बनाउन प्रयास गर्छु ।

अर्को समूहले पनि त्यही भनेर भोट मागिरहेको छ । साझा बनाउने कुरा अमुर्त भयो, मुर्त एजेन्डा भन्दिनु न ।
उद्योगी व्यवसायीहरु निराश हुनुहुन्छ । सरकारले मौद्रिक नीति मार्फत व्यवसाय उत्थान कोष खडा गरेर पनि हाम्रो लबिङ नपुगेर कार्यान्वयन भएन । त्यो ल्याउन पहल गर्छु । कार्यान्वयन गराएरै छाड्छु । पोखरा उद्योग वाणिज्य संघ घाटामा चलिरहेको छ । यसलाई सबलीकरण गर्न पार्टनर अर्गनाइजेसन खोजिरहेको छु । महिलाहरुका छुट्टै एजेन्डा छन् । मलाई अध्यक्ष बनायो भने महिलाका लागि रिफर्म गर्नुपर्छ । हरेक घरमा महिला छन्, सबैको समृद्धि आओस् । महिलाका पक्षमा काम गर्दा पुरुषहरु पनि खुसी हुनुहुन्छ । सरकारी निकायसँग लबिङ गर्ने जोड हुन्छ । लबिङ नपुगेका कारण छबी घट्दै गएकोछ । छबी उकास्नका लागि सरकारी निकायसँग आवाज राख्ने छु । सरकारी निकायसँग समन्वय गर्ने कुरामा र खवरदारी गर्नेछु ।

विन्दु कोइराला सुवेदीले चुनाव जित्ने हो कि सबैले जित्नुहुन्छ ?
टिमका सबैले चुनाव जित्नुहुन्छ । मलाई सफल पार्न मेरा साथीहरुलाई पनि जिताउनु हुनेछ भन्ने विश्वास छ । त्यसका लागि आग्रह समेत गर्दछु । उहाँहरु आफै सफल हुनुहुन्छ । उद्योग वाणिज्य संघ एउटा उचाइमा पुग्नेछ । एकएक गरेर हेर्नुस्, सबै योग्य उम्मेदवार हुनुहुन्छ ।

अरु योग्य मान्छे नभेटेर हो कि किन उम्मेदवार खाली छोड्नुभएको ?
होइन, कति साथीहरु उता पनि राम्रो र योग्य हुनुहुन्छ । हामी भनेको एउटा स्वतन्त्र हो । स्वतन्त्रले प्यानल पूरै उठाउने हो भने त सिन्डिकेट भइहाल्यो नि । अरु नयाँ मान्छे अटाउन पाएनन् । उद्योगी व्यवसायीलाई पनि सहज होस् मतदान गर्न । कति साथीहरुलाई त सर्वसम्मत पनि बनाइसकेका छौं । कठोर भएर लोभलालच वा हामी मात्रै सर्बेसर्बा हौं भनेको छैन ।

जित्ने आत्मविश्वास कत्तिको छ ?
पूर्णरुपमा आत्मविश्वास बढेर आएको छ । किनभने अघिल्ला वर्षहरुमा सोचेजति गर्न सकिएन । अहिले मेरो साथमा हिड्नुभएका साथीहरु हस्तीहरु हुनुहुन्छ । साना कुराहरुमा खिचातानी गर्ने हुनुहुन्न । वहाँहरु समय दिएर उद्योग वाणिज्य संघमा आउनुभएको छ । म पनि वास्तविक उद्योगी व्यवसायीको साथमा छु । म आफैसँग पनि लोभ लालच छैन । कार्यव्यस्तता छैन । समय निकाल्न सक्छु । मेरो टिमको साथले चुनाव जित्ने विश्वास छ ।
लामो समयसम्म संघमा लागें । चाहेर पनि कत्ति कुरा गर्न सकिएन । आँफै नेतृत्वमा पुग्दा त काम गर्न कसैले रोक्ने कुरा हुँदैन । ऐतिहासिक कार्यकाल बनाउछु भन्ने सपना बोकेर हिडेकी छु । हरबखत उद्योगी व्यवसायीको हितका लागि काम गर्नेछु । केहि परिवर्तन देखाएरै छाड्ने छु ।

इतिहास रच्ने कुरा गर्नुभयो । महिला भएर इतिहास रच्ने कि काम गरेर इतिहास रच्ने ?
होइन, म पुरुषभन्दा माथि उठेर काम गरेर देखाउँछु । म फिमेल हो तर काममा पुरुषभन्दा कमी हुँदैन । शिक्षा पनि कम छैन । अनुभव पनि धेरै छ । समूह राम्रो छ । खासगरी मेरो आत्मबल बढेको छ । माकुराको जालोबाट उम्केर आएको छु, त्यसले मलाई बलियो बनाएको छ । पूर्णरुपमा संघलाई समय दिएर काम गर्छु । पहिलो महिला भनेर होइन, कामकै आधारमा सफलताको इतिहास बनाउने छु ।

जीतका लागि शुभकामना छ । तर हार्नका लागि चाहिँ तयार हुनुहुन्छ कि हुनुहुन्न ?
त्यस्तो त सोचेको छैन । तर प्रजातान्त्रिक अभ्यास हो । यो अभ्यासमा सबै नतिजा स्वीकार्नुपर्छ । बाँकी उद्योगी व्यवसायीको हातमा जिम्मा दिन्छु ।

यदि हार्नुभयो भने ? संघसँगको सम्बन्ध कसरी कायम राख्नुहुन्छ ?
म साधारण सदस्य रहन्छु । १४ वर्षसम्म निरन्तर काम गरेको छु । १२ वर्ष निरन्तर काम गर्नेलाई मानार्थ सदस्य दिने विधान छ । त्यसका लागि मेरो योग्यता पुगिसकेको छ । हर बखत संघलाई मन्दिर मानेर पुजा गर्नेछु । कहिले कोही आउँछ । केही समयपछि उ जान्छ । तर मन्दिर त रहिरहन्छ । त्यसको भक्त भएर काम गरिरहने छु ।

अन्तमा केहि भन्नु छ ?
उद्योगी व्यवसायीले विवेक पुर्‍याउनुहुन्छ । उहाँसँग विवेक प्रयोग गर्ने हैसियत छ । त्यसैले सबै जिम्मा उहाँहरुलाई नै दिन्छु ।

Related News

सम्बन्धित समाचार

hero news full width